चित्रमा प्राण भर्ने मिठ्ठु

Saturday, 19 May 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
बुनु थारु,,
‘मैले बनाएको पहिलो चित्र ३५ सय रुपैयाँमा बिकेको थियो, त्यो चित्रमा नेवारी युवतीको मुहार कोरेको थिएँ’ सन्तुष्ट भावमा उनले आफ्नो कथा सुरु गरे।
कैलालीको टीकापुरको दुर्गौलीमा २८ वर्षअघि मिठ्ठु थारुको जन्म गरिब परिवारमा भएको थियो। उनका बुबा कमैया थिए भने आमा बुक्रही।
थारु समुदायमा जमिन्दारको घरमा काम गर्ने मानिसलाई कमैया भनिन्छ भने कमैया बनेका श्रीमानकी श्रीमतीलाई बुक्रही।
‘६ जनाको परिवार थियो हाम्रो, खान लाउनै धौधौ हुन्थ्यो’ मिठ्ठुले सुनाए, ‘जमिन्दारको घरबाट वर्षको २–३ बोरा चामल मिल्थ्यो, त्यस्तो आर्थिक अवस्था भएको परिवारको मान्छेले कहाँ पढ्न पाउनु?’
रुचि नै प्रेरणा
यस्तो गरिबीमा हुर्केका उनी कसरी यहाँसम्म आइपुगे त?
‘सायद मेरो धैर्यता र मेहनत नै होला यो सफलताको कारण,’ उनले निष्कर्ष एक वाक्यमा सुनाए।मिठ्ठुलाई सानैदेखि चित्र बनाउनमा रुचि थियो। उनले ६ वर्षको उमेरदेखि नै चित्र कोर्न सुरु गरे। तर उनीसँग रङ र कूची त परै जाओस्, कापी कलम किन्ने समेत पैसासमेत हुन्नथ्यो।
त्यसैले, मिठ्ठु कहिले हातको औंलाले भुइँमा चित्र कोर्थे त कहिले घरको भित्तामा। खेतमा काम गर्न जाँदासमेत उनी माटाका डल्लाहरुलाई विभिन्न आकारमा ढाल्ने कोसिस गर्थे।
कुनै न कुनै आकृति बनाउन उनका औंला जतिबेला पनि सल्बलाइरहन्थे। हात्ती, घोडा, चरा जस्ता पशुपंक्षीको चित्र र आकृति बनाउन उनलाई एकदमै मजा लाग्थ्यो।
‘चित्रहरु बनाइसकेपछि सिमीको पात पिसेर हरियो, बेसारको पहेंलो, कोइला पिसेर कालो, इँटाको धुलो घोलेर रातो रङ बनाउँथे’ उनले सुनाए, ‘तिनै रङबाट आफ्ना चित्र रङउँथे।’
रङ र चित्रप्रति कति ठूलो माया? उनको यस्तो लगाव नै उनको प्रेरणाको स्रोत बन्यो।
‘मलाई कसैले प्रेरणा दिएका होइनन्, म सानैदेखि चित्र कोर्न मन पराउँथे’ बाल्यकाल सम्झँदै उनले थपे, ‘कलाप्रतिको मेरो लगाव र झुकावले मलाई कलाकार बनायो।’
उनी चित्र त बनाउँथे, गाउँलेहरुले आहा त भनिदिन्थे तर कमैयाको बस्तीमा हुर्केकी उनलाई चित्रकारिताको पनि भविष्य छ है भनिदिने कोही हुन्नथ्यो।
‘प्रोत्साहन दिने र बाटो देखाइदिने कोही नभएपनि मैले आफ्नो रुची र इच्छालाई मार्न सकिनँ’ उनले थपे, ‘त्यसैले, सफलताका लागि संघर्ष गरें।’
काठमाडौं यात्रा
कमैयाका छोरा भएपनि गाउँकै विद्यालयमा उनले जेनतेन ४ कक्षासम्म पढे। त्यसपछि उनको परिवारले पढाउन सकेन।चित्रकलामा रुचि छँदैथियो। पढ्ने इच्छा पनि उत्तिकै थियो।आर्थिक हैसियत नभएपनि बाआमाको इच्छापनि छोरा पढाउन पाए हुन्थ्यो भन्ने थियो। काम सघाइदिने सर्तमा कसैले छोरा लगेर पढाइदिए हुन्थ्यो भन्ने उनीहरुको चाहना थियो।
काका नाता पर्ने एकजना मानिस मार्फत् त्यस्तो घर पत्ता लाग्यो, जस्तो बाआमाले चाहेका थिए। अर्थात् मिठ्ठुले त्यो घरको काम गरिदिने, त्यसबापत घरधनीले उनलाई पढाइदिने।१३ वर्षको उमेरमा उनी काठमाडौं आए। बिहान बेलुका भान्सामा सघाउने काम थियो। दिउँसो स्कुल जान पाउँथे। त्यो घर लोकन्थलीस्थित रामभरोसा वैद्यको थियो। वैद्य नेपाली सेनाबाट अवकासप्राप्त मेजर थिए।केही डर, केही उत्साहका साथ काठमाडौं आएर त्यहाँ बसेका उनले वैद्य परिवारबाट यति धेरै माया र सहयोग पाए कि ‘घरको काम गर्ने केटी’ भनेर उनले अपहेलित हुनु परेन।‘मलाई अंकल–आण्टीले जहिल्यै पनि छोरासरह व्यवहार गर्नुभयो, उहाँहरु मेरो दोश्रो अभिभावक हुनुहुन्छ’ वैद्य परिवारप्रति अनुगृहित हुँदै उनले सुनाए, ‘उहाँहरुकै साथ र सहयोगले म यहाँसम्म आइपुगेको हुँ। उहाँहरुले लगाउनु भएको गुनको म ऋणी छु।’

चित्रकला यात्रा
अरुको घरमा काम गर्ने मान्छे, चित्रकलामा उति साह्रो समय दिन भ्याउन्नथे। तर अलिकति फुर्सद पाउनासाथ चित्र बनाइछाड्थे। अरुले जसरी उनले टेलिभिजन हेरेर वा खाली बसेर समय बिताएनन्। त्यसको साटो रङ र कुची समाइहाल्थे।जब उनले एसएलसी उतीर्ण गरे, विजेश्वरी माविमा चित्रकला विषय पढ्ने गरी भर्ना भए। कलेज पढ्न थालेपछि चित्रकला प्रदर्शनी र अन्तक्र्रिया कार्यक्रममा सहभागी हुने मौका पाए।
यस्ता कार्यक्रममा सहभागी हुन थालेपछि चित्रकलामा अझ रस पस्दै गयो। उनले आफ्नो रुचीप्रति अरु गर्व गर्न थाले।अहिले उनी ललितकला क्याम्पसमा पेन्टिङ्गलाई मुख्य विषय बनाएर अध्ययनरत छन्।चित्रकला विषय लिएर पढ्न थालेपछि आफूले कोरेका पहिलेका चित्र र अहिलेका चित्रमा गुणात्मक अन्तर देख्न थालेका छन्। उनी चित्रकलाका अलावा मूर्तिकलामा पनि पोख्त भइसकेका छन्।
पहिले चित्रकलाबारे व्यवहारिक जानकारी मात्र थियो, क्याम्पसमा पढ्न थालेपछि चित्रकलाबारे प्राज्ञिक ज्ञानसमेत थपिएको छ।भन्छन्, ‘हरेक चित्रमा भाव हुनुपर्छ। नत्र त्यो प्राणबिनाको कंकाल जस्तै हुन्छ। कला भनेको सिर्जनलशीलता र कल्पनाशीलताले भरिपूर्ण हुनुपर्छ।’
सामाजिक सञ्जालले चिनायो
क्षणभरमै कसैलाई उचाइमा पु¥याइदिनसक्ने माध्यम बनेको छ आजकल सामाजिक सञ्जाल। यसैले कसैलाई उठ्नै नसक्ने गरी पछारिदिन्छ पनि।मिठ्ठुले सामाजिक सञ्जाललाई आफ्नो चित्र प्रचारप्रचारको थलो बनाए। उनी आफूले बनाएका चित्रहरु सामाजिक सञ्जालमा पोस्ट गर्छन्। उनले ‘आर्ट एन्ड आर्टिस्ट अफ नेपाल’ को फेसबुक पेजबाट ‘नेसनल अनलाइन आर्ट कम्पिटिसन–२०७२’ मा पहिलो स्थान प्राप्त गरे, त्यसपछि उनी थप चिनिए।
त्यो फेसबुक पेजमा उनले राखेका चित्रहरुका लागि अर्डर आउने गरेका छन्। उनका चित्रहरु ५ हजारदेखि १५ हजार रुपैयाँसम्ममा बिक्री हुने गरेका छन्।चित्रको तुलनामा मूर्ति कम बिक्री हुन्छन्। मूर्तिहरु ८ हजारदेखि २० हजार रुपैयाँसम्ममा बिक्री हुने गरेका छन्।मिठ्ठुले दुई वटा विद्यालयमा चित्रकला सम्बन्धी प्रशिक्षण पनि दिँदै आएका छन्।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu