डा. आचार्यले ल्याए 'थारू' र 'मगर' जातिका दुई पुस्तक

Tuesday, 26 June 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
काठमाडौं :=डाक्टर गोविन्द आचार्यको दुई पुस्तक लोकार्पण गरिएको छ। नेपाल म्युजिक सेन्टर ट्रष्टको योजनामा डा.गोविन्द आचार्यद्वारा अध्ययन गरिएको थारू जातिको लोकगीत तथा लोकसङ्गीत र डा.गोविन्द आचार्य र दुर्गा रायमाझीद्वारा अध्ययन गरिएको मगर जातिको लोकगीत तथा लोकसङ्गीत पुस्तकको सोमबार संयुक्त रूपमा लोकार्पण गरिएको हो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, संस्कृतिविद् सत्यमोहन जोशी, सांसदद्वय कोमल वली, डिला पन्त संग्रौला, प्रा.डा.माधवप्रसाद पोखरेलले संयुक्त रूपमा पुस्तक लोकार्पण गरेका हुन्। पुस्तकको लोकार्पण गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी लोकगीत, लोकजीवन हाम्रा लागि नभई नहुने कुरा भएको भन्दै इतिहास, संस्कृतिका पुस्तक संकलन गरेर संग्रहालयमा संरक्षित गर्ने योजनामा मन्त्रालय रहेको बताए। संस्कृति मन्त्रालयभित्र काम गर्न धेरै बाँकी रहेको भन्दै मन्त्री अधिकारीले कला, संस्कृति कसरी नयाँ पुस्तालाई हस्तान्तरण गर्ने भन्ने चुनौती रहेको उनले बताए। 'नयाँ पुस्तालाई हाम्रो इतिहास, कला, संस्कृतिबारे कसरी हस्तान्तरण गर्ने? भन्ने हामीलाई ठूलो चुनौती छ। किन नयाँ पुस्ता संस्कृति पढ्न चाहँदैन ? किन यस्तो भयो ? यसको खोजी गरौँ', उनले भने 'छात्रवृत्तिको व्यवस्था गरेर पढ्न ल्याउने बनाउनुपर्छ कि! यसबारे विश्वविद्यालय पनि सचेत हुनुपर्छ। विश्वविद्यालयलाई के कुरा आवश्यक छ त्यसबारेमा मैले छलफल गरिसकेको छु।'


हाल तीनवटा रहेको प्रतिष्ठानलाई कसरी प्रभावकारी बनाउने भन्ने छलफल चलिरहेको भन्दै उनले संघमा कति, प्रदेशमा कति र स्थानीयमा कतिवटा प्रतिष्ठान रहने भनेर अध्ययन गर्न कार्यदल गठन गरेको जानकारी दिए। अध्ययन र पुस्तकबारेमा जानकारी दिँदै डा.गोविन्द आचार्यले प्रत्येक जातिमा रहेको लोकगीत, लोकसङ्गीतप्रतिको मोह पछिल्लो समय कम हुँदै गएको अध्ययन देखाउने बताए। लोकसङ्गीतलाई मनोरञ्जनका साधन मात्र ठान्दै आए पनि यसभित्र अनेक लोकज्ञान रहेको बताए। लोकसङ्गीत, लोकज्ञान राज्यको सम्पत्ति भए पनि यसलाई राज्यले बुझ्न नसकेको डा. आचार्यले बताए। अहिले बजेट स्थानीय तहमा गएकोले संस्कृति सम्बन्धी नीति तथा कार्यक्रम स्थानीय तहमा पुग्न नसकेकाले छिट्टै राज्यले त्यो खालको नीति ल्याउनुपर्ने उनले बताए। उनले लोकगीत लोकसङ्गीतको संरक्षण जहिल्यै पनि श्रमिक, गरिब, महिला वर्गले गर्दै आए पनि उनीहरू भने सधै अप्ठ्यारोमा पर्ने गरेको बताए। भने, 'श्रमिक, गरिब, महिला वर्गले लोकज्ञान, लोकसङ्गीत संरक्षण गर्दै आएका छन्। तर त्यो वर्ग सबैभन्दा अप्ठ्यारोमा छ। यस विषयमा राज्यले गम्भीर रूपमा सोच्न आवश्यक छ।' दाङ निवासी संस्कृतिविद्, अध्येता डा. गोविन्द आचार्य लोकगीतमा विद्यावारिधी गर्ने पहिलो नेपाली हुन्।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu