हमार सनेश सहकर्मी,,
इटहरी:=इटहरी ८ टेङ्ग्राटोलमा अवस्थित थारु ग्रामथान (देवथान) माथि स्थानीय प्रशासनले डोजर चलाएको छ । प्रशासनबाटै थारु देवीदेवता थानलाई भत्काइनु थारु पहिचानलाई मेट्ने प्रयास गरिएको बुझाई थारु अगुवाहरुको छ ।
पीढिऔंदेखि चलनभोग गरी सरकारी जग्गामा निर्माण गरिएको थारु देवी देवता बस्ने ग्रामथानलाई भूमाफियाको कुरा सुनेर भत्काइनु थारु अस्तित्वमाथिको प्रहार भएको बताउँदै थारु अगुवाहरुले त्यसविरुद्ध संघर्ष गर्ने बताएका छन् । देवीदेवता बस्ने पवित्र थलोमा डोजर चलाएर भत्काइनु कुनै पनि अर्थमा सही नभएको भन्दै इटहरीका थारु समुदायले आइतबार स्थानीय प्रशासन तथा नगरपालिका कार्यालय घेराउ गर्ने तयारी गरेका छन्।स्थानीय प्रशासनले सशस्त्र प्रहरीको बलमा शनिबार थारु ग्रामथान भत्काएको थियो । सो अवसरमा ग्रामथान संरक्षण समितिकी अध्यक्ष जानकी चौधरीमाथि सुरक्षाकर्मीले कुटपिट गरेको छ । त्यस्तै रोक्न खोज्ने स्थानीय थारुलाई समेत कुटपिट गरिएको समितिकी सचिव सावित्री चौधरीले बताउनुभयो । अध्यक्ष चौधरी कुटपिटपछि बेहोस भएपछि उहाँको उपचार गोल्डेन अस्पताल विराटनगरमा भइरहेको छ ।
ग्रामथानको संरक्षण गर्न खोज्ने चारजना थारुलाई सुरक्षाकर्मीले पक्राउ गरी थुनामा राखेको थियो । स्थानीयको आक्रोसपछि पक्राउ परेकाहरुलाई शनिबार साँझ नै रिहा गरिएको सचिव चौधरीले जानकारी दिनुभयो । स्थानीय जनप्रतिनिधिहरुको प्रयासमा पक्राउ परेकालाई रिहा गरिएको छ । ग्रामथान भत्काउनेक्रममा थारु समुदायमाथि गालीगलौज गरिएकोमा सचिव चौधरीले आपत्ति जनाउनुभयो ।
सुरक्षाकर्मीले स्थानीय सावित्री चौधरी, निर्मला चौधरी, रज्य मुसहर र पुरुषोत्तम तामाङलाई पक्राउ गरी कुटपिट गरेको पीडितहरुको गुनासो छ । सो ठाउँमा थारु र मुसहरको ठूलो वस्ती छ । स्थानीय दामोदर पोखरेलको घरको अगाडि ऐलानी जग्गामा थारु ग्रामथान निर्माण गरिएको छ । पोखरेलले घरमा आवत जावतमा असुविधा भएको र थारु ग्रामथान हटाउन स्थानीय प्रशासनसँग माग गर्दैआएका थिए ।
स्थानीय दामोदर पोखरेलको घरको अगाडि ऐलानी जग्गामा थारु ग्रामथान निर्माण गरिएको छ । पोखरेलले घरमा आवत जावतमा असुविधा भएको र थारु ग्रामथान हटाउन स्थानीय प्रशासनसँग माग गर्दैआएका थिए ।
वडा —८ का अध्यक्ष रोहित चौधरीले जनप्रतिनिधिलाई खवर नगरी प्रशासनले एकतर्फीरुपमा डोजर चलाएर ग्रामथान भत्काउनु आपत्तिजनक भएको बताउनुभयो । सरकारी जग्गामा बनेको ग्रामथानलाई स्थानीयसँग छलफल गरेर समस्या समाधान नगरी एकतर्फी गरिनु थारु धर्म संस्कृतिमाथिको प्रहार भएको उहाँले बताउनुभयो ।
शनिबार स्थानीय प्रशासनको रोहवरमा भत्काइएको ग्रामथान सँगै भूमिघर पनि भत्कीएको छ । ग्रामथानकै छेउमै भूमिअधिकार मञ्चको घर पनि रहेको वडा अध्यक्ष रोहीत चौधरीले बताउनुभयो । ग्रामथान भएको जग्गालाई दर्ता गर्नुपर्ने पहल गाउँलेले लामो समयदेखि गर्दैआएका थिए । सो विषयमा इटहरी नगरपालिकाका मेयर द्वारिकलाल चौधरीसँग पनि स्थानीयले पटक पटक छलफल गरेका थिए ।
तर जग्गा नम्बरी हुन नसक्दा स्थानीय दामोदर पोखरेलले अदालतमा मुद्दा दर्ता गराएका थिए । सरकारी जग्गाबाट थारु ग्रामथान हटाई पाउँ भनी दिएको रिटमा जिल्ला अदालतले फैसला सुनाएपछि ग्रामथान भत्काइएको अधिवक्ता रामराज चौधरीले बताउनुभयो । सो विषयमा मेयर चौधरीसँग कुरा गर्न खोज्दा कार्यक्रममा व्यस्त भएकोभन्दै कुरा हुन सकेन ।
ग्रामथान संकटमा पर्दा समेत थारु कल्याणकारिणीसभा सुनसरी नबोलेकोमा स्थानीयहरु आक्रोश व्यक्त गरेका छन् । जिल्ला सभाका पदाधिकारीहरुलाई पटक पटक फोन गरेर जानकारी गराउँदासमेत कुनै वास्ता नगरेको सचिव सावित्री चौधरीले बताउनुभयो ।
यसरी विस्थापित गरियो
सुनसरीको इटहरी ८, टेङ्ग्रा टोलमा निर्मित विच्छु ग्रामथानको जग्गामा शिव मन्दिर बनाएर गैरथारुले ग्रामथान नै विस्थापित गरिदए । सदियौंदेखि चर्चेको सो जग्गाको एक छेउँमा धार्मिक कार्यकालागि भन्दै स्थानीय गैरथारुले शिव मन्दिर निर्माण गरे ।
सुनसरीको इटहरी ८, टेङ्ग्रा टोलमा निर्मित विच्छु ग्रामथानको जग्गामा शिव मन्दिर बनाएर गैरथारुले ग्रामथान नै विस्थापित गरिदए । सदियौंदेखि चर्चेको सो जग्गाको एक छेउँमा धार्मिक कार्यकालागि भन्दै स्थानीय गैरथारुले शिव मन्दिर निर्माण गरे ।
मन्दिर निर्माण भएपछि सो ठाउँमा कुखुरा, बोका, हाँसको वलि दिन नमिल्ने भन्दै उनीहरुले नै विरोध गरे । सोही कारण देखाउँदै थारु गाउँको ग्रामथान अर्को ठाउँमा थारुले सारे । एक वर्षअघि सो सरकारी जग्गामा सारिएको ग्रामथानलाई शनिबार स्थानीय प्शासनले भत्काइदिएको छ ।