धनगढीमा बसोबास गर्ने थारु समुदायले गुरही पर्व ३१ गते मनाउने

Wednesday, 8 August 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

कैलाली:= प्रदेश नम्बर ७ को राजधानी धनगढीमा बसोबास गर्ने थारु समुदायले साउन ३१ गते धनगढीमा सामूहिक गुरही पर्व मनाउने भएका छन्। गुरही पर्व तयारीबारे जानकारी दिन बुधबार धनगढीमा आयोजित एक कार्यक्रममा सखी सञ्जालकी अध्यक्ष इन्दु थारुले धनगढीको गुरहीचोकमा सामूहिकरुपमा गुरही पर्व मनाउने निर्णय भएको जानकारी दिइन्। 

थारु कल्याणकारिणी सभा कैलालीका सचिव माधव चौधरी पश्चिम नेपालका थारु समुदायले सदियौंदेखि मनाउँदै आएको पर्व भएपनि यसको कुनै लिखित इतिहास नभएको बताए। परापूर्वकालदेखि यो पर्व नागपञ्चमीको दिनमा थारुहरुले मनाउँदै आएको उनले बताए।थारु कल्याणकारिणी सभाकी केन्द्रीय सदस्य इन्दिरा चौधरीले खेतीपाती सकिएपछि धानबालीमा किरा नलागुन् भनेर गाँउका युवतीहरु गाँउभन्दा टाढाको चोकमा गई कपडाले बनाइएका स–साना गुरही (गाइने किराको प्रतिक) त्यस चोकमा असराउने (सेलाउने) चलन रहिआएको र सेलाइएका गुरहीलाई गाउँका युवाहरुले सजाएर ल्याएका सोटाले पिट्दै गुहरी पर्व मनाउने गरेको बताइन्।

थारु महिला सभाका अध्यक्ष दुर्गा कुश्मीले गुरही गाँउबाट पर गएर सेलाउँदा धानबालीमा किरा नलाग्ने विश्वास रहिआएको बताइन्। यो पर्वलाई बालबालिकासँग सम्बन्धित पर्वको रुपमा पनि लिने गरेको उनको भनाई छ। उनले गुरही सेलाउँदा साना बालबालिकाहरुमा आँखा पाक्ने, ज्वरो आउने, खटिरा आउने, बान्ता हुने जस्ता रोग निको हुने गरेको विश्वास रहेको बताइन्।थारु नेता तथा राजपाका केन्द्रीय फोनीराम चौधरीले गुरही पर्वले सामाजिक सद्भाव, आपसी मित्रता बढाउनुको साथै गाँउमा भएको दुख, संकट, विपत्ति भाग्ने बताए। थारु नेता गया प्रसाद कुश्मीले पहिल्यैदेखि थारु समुदायमा गुरही पर्व गाँउ–गाँउमा मनाउँदै आएको र गुरही पर्वलाई संस्थागत गर्न धनगढीमा पनि छरिएर बसेका थारुहरुले एकैसाथ रमाइलो गरी गुरही मनाउने गरेको बताए ।

थारु विद्यार्थी समाजका केन्द्रीय उपाध्यक्ष ठाकुरप्रसाद करियाप्रधानले धनगढीको गुरहीचोकमा विगत केही वर्षदेखि विभिन्न संघसंस्थाहरुको संयुक्त आयोजनामा गुरही मनाउन सुरुवात गरेपछि यो पर्व संस्थागत हुँदै गएको बताए ।अधिबक्ता जोहरीलाल चौधरी थारु समुदाय चाडपर्वमा धनी समुदाय भएकाले चाडपर्व आफ्नै रीतिसंस्कृति अनुसार मनाउनु पर्नेमा जोड दिए। त्यसैगरी अर्का अधिबक्ता नाथुराम महतो पश्चिम थारुहरुले आफूहरुले मनाउने पर्वलाई संस्थागत गर्दै लागेको बताए। उनले थारु समुदायको गुरही पर्व यस वर्षको नागपञ्चमीको दिन साउन ३१ गते परेको जानकारी गराउँदै बिना कुनै अन्यौल गुरही धुमधामका साथ मनाउन अनुरोध गरे।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu