परम्परागत जीवनशैलीको उपहार: - थारु दासत्व (पढेर सेयर गर्नुस् )

Friday, 3 August 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

लेखक :- मणिराज महतो,,
नवलपरासी := थारु हरु सदियौंदेखि नेपालको तराई भूभागमा बसोबास गर्दै आएको आदिवासी जनजाति हो। आदिवासी हरु को आफ्नै परम्परा रितिरिवाज, भाषा, धर्म संस्कृति, भेषभूषा र जीवनशैली हुने गर्दछ। यिनै पहिचानले गर्दा आदिवासीहरु अन्य भन्दा भिन्न देखिन्छन् तर बर्तमानको एक्काईसौं शताब्दी सम्म आईपुग्दा पनि थारुहरुमा बिगतको परम्परागत जीवनशैली, कुरिति तथा कुसंस्कारमा खासै परिवर्तन नहुनु भनेको थारु बुद्धिजीवीहरुको लागि चिन्ता र चासोको बिषय हो। थारुहरुको केही चालचलन हरुमा परिवर्तन नदेखिएको होइनन् तर पनि परिवर्तनको नाममा धेरै बिकृति र बिसंगतीलाइ थारुहरुले अंगिकार गरि रहेको देख्दा थारु संस्कृतिको आफ्नो मौलिकता गुम्नेमा प्रायः निश्चित नै छ। यसको लागि कुनै पनि सरकारी, गैरसरकारी तथा थारु संघसंस्थाहरुले भूमिका खेलेको पाईदैन।

यथास्थितिवादी: -  

थारु हरु परिवर्तनको लागि धेरै योगदान गरेतापनि यथास्थितिवादी हुन्। यिनीहरुले देशमा भएका कैयन् राजनैतिक परिवर्तनमा भूमिका खेल्दा आफ्नो नेतृत्वमा कहिल्यै अगाडी बढेनन्। आफ्नो सामुदायको नेतृत्व भन्दा पनि फरक सामुदायको नेतृत्वलाई बढी बिश्वास गर्ने परिवृती थारुहरुमा हुने गर्दछ। यही मनोबिज्ञानलाई बुझेर फरक सामुदायको नेतृत्वले थारु समुदायमाथि धेरै पटक नेतृत्व गरेको पाइन्छ तर फरक सामुदायको नेतृत्वले आफ्नो स्वार्थ पुर्ति गर्ने अनि थारु समुदायमा भएका कुरिति, कुसंस्कार, अन्धविश्वास, बिसंगती र परम्परागत जीवनशैली परिवर्तनको लागि कुनै पहल नगर्ने कार्यले थारु समुदाय यथास्थितिवादमा रुमल्लिन बाध्य छ।

जमिनदारी  प्रथाको अवशेषः -     

थारु समुदायमा जमिनदारहरुले आफ्नो गाँउ ठाउँ सञ्चालन गर्न चलाएको नियमहरु अझै सम्म पनि बिद्यमान रहेको पाइन्छ। हाल देशमा स्थानीय, प्रदेश र प्रतिनिधि सभा गठन भएर तत् अनुसारको सरकार गठन भईसकेको छ। अब नेपाली जनताले स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रीय सरकारलाई समेत कर तिर्नुपर्ने नियमको सामना गर्नु पर्ने छ।तर थारु समुदायले यी करहरुको अतिरिक्त बिगत को जमिनदारी प्रथा देखि चल्दै आएको परम्परागत नियम अनुसार बिगहटी कर, सार्वजनिक स्थल निर्माण गर्न उठाइने कर तथा बिभिन्न संघसंस्थाका लागि भनेर जनश्रमदान जस्ता करहरु तिर्नुपर्ने देखिन्छ। यस प्रकार थारुहरुले स्थानीय, प्रदेश र केन्द्रीय सरकारको कर तथा गैरसरकारी कर गरी ४ प्रकारले कर तिर्नु पर्दा थारु सामुदाय चाडै नै आर्थिक रुपमा बिपन्न हुदै जाने देखिन्छ। बर्तमान समयमा जमिनदारी प्रथा नभएतापनि बिभिन्न संघसंस्था हरुले जमिनदारी प्रथाले चलाएको नियमलाई उपयोग गर्दै थारु सामुदाय माथि शारीरिक, मानसिक, आर्थिक शोषण र शाशन गरिरहेका छन्।
              थारु सामुदायमा ब्याप्त अशिक्षा, अन्धविश्वास, कुरिति र कुसंस्कारले गर्दा बिपन्न हुनु भनेको स्वभाविक कुरा हो। यिनै कुराहरुलाई बुझेर राजनैतिक दल हरुले बिभिन्न प्रकारका प्रलोभनहरु देखाएर भोट आफ्नो पक्षमा पार्ने, बिभिन्न धर्म प्रचारकहरुले धर्म परिवर्तन गराएर आफ्नो धर्म मान्न लगाउने तथा बिभिन्न संघ संस्थाले पछिको फाइदाका कुराहरु गरेर जनश्रमदान गराई फाईदा लिने र केहीमात्र उपभोक्ताहरु लाई फाईदा दिने तथा नाम मात्रको तालिमहरु संचालन गरेर थारु सामुदायलाई भुलभुलैयामा राख्ने कार्य गरिरहेका छन्। त्यस्तै बैंक तथा वित्तीय संस्था तथा सहकारी संस्थाहरुले बचत र आम्दानी कसरी गर्ने भन्ने कुराको तरिका र तालिम नै नदिई लगानीलाई मात्र ध्यान दिने भएकोले केही थारुहरुले ऋण भुक्तानी गर्न सक्दैनन् र थारुहरु लाई ऋण लगानी गरियो भने तिर्दैनन् भन्ने हल्ला फिजाएर थारु ब्यवसायीहरु माथि आर्थिक नाकाबन्दी गर्ने कार्यहरु भईरहेका छन्। यी सबै प्रकारका क्रियाकलापहरु लाई हेर्दा थारुहरु हिजो थारु जमिनदारहरु बाट शोषित थिए भने हाल गैर थारु जमिनदारहरु तथा संस्थागत जमिनदारहरु बाट शोषित देखिन्छन्।

दासत्वः -

थारु सामुदाय सदियौंदेखि गुलामी गर्दै आएको जाती हो। थारुहरुको जीवनशैली साझा रहने गरेको छ र आज सम्म पनि साझा जीवनशैली देख्न सकिन्छ। यसले गर्दा थारुहरु आपसी प्रतिस्पर्धामा कहिल्यै उत्रन चाहदैनन्, सबैलाई समान ठान्दछन्। थारु सामुदायमा कुनै प्रकारको नियम लगाइँदा लोकतान्त्रिक पद्धतिको खासै प्रयोग हुने गर्दैन किनभने जमिनदारी प्रथाको नियमको प्रभाव अझै सम्म ब्याप्त छ। थारु सामुदायमा दफा ( समुह) बनाएर सार्वजनिक कामहरू गर्ने परम्परा जमिनदारहरु को शासनकाल देखि चल्दै आएको हो र बर्तमान समयमा पनि सोही परम्परा अनुसार सार्वजनिक कामहरू हुने गरेका छन् र सो परम्पराको बिरोध गर्ने केही शिक्षित ब्यक्तिहरु लाई बिकास बिरोधी र बुद्धिहिन भनेर आफ्नै सामुदायले बहिष्कृत गर्ने तथा जरिवाना गर्ने जस्ता नियमहरू लगाउने गरेको पाइन्छ। यसरी जरिवाना गरेर र आफ्नै रकम उठाएर अनि जनश्रमदान बाट सार्वजनिक कामहरू गर्दा पनि थारु सामुदायमा बिकास किन हुन सकेन? यस बिषयमा गहन छलफल र बहस आम थारु सामुदायले गर्न जरुरी छ। थारु सामुदायमा बिगतको पुरानै प्रथाको पक्षपोषण गर्ने हरु रमिते भएर हेर्ने र जनताहरु लाई जबर्जस्ती डाण सिस्टम ( व्हिप) लगाएर श्रमदान गर्न बाध्य पारीरहेका छन् जसले गर्दा कतिपय गरिब परिवार भोको पेट श्रमदान गरिरहेको पाईन्छ भने कतिपयका छोराछोरी पढ्न समेत नगई जरिवाना जोगाउन लाई मात्र श्रमदान गरिरहेको पाईन्छ। पढ्न नगईकन श्रमदानमा सहभागी हुने किशोर बिद्यार्थीहरुको पढाईमा प्रत्यक्ष असर पर्न गइ भबिस्य पनि बिग्री रहेको छ भने किशोर बिद्यार्थी हरु दफामा श्रमदान गर्दा बाट धुम्रपान र मद्यपान जस्ता कुलतमा फस्न पुग्दछन् र ति किशोर बिद्यार्थी हरुमा सबै प्रकारका नैतिक आचरण हरु गुम्दछन्। यस्ता प्रकारका ब्यवस्था र प्रणालीमा परिवर्तनको लागि खासै कसैबाट पहल भएको पाईदैन बरु केही पढेलेखेका र शिक्षित थारुहरु शहरतिर बसाई सरेको पाइन्छ। यस प्रकारको ब्यवस्था सदियौंदेखि बुवाआमा बाट सन्तानहरुमा हस्तान्तरण हुँदै जाने परम्परागत शैलीमा क्रमभङ्गता नहुने हो  भने भोलिको दिनमा थारु सामुदाय दासत्वको जीवन ब्यतित गर्नु पर्ने देखिन्छ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu