बसन्ती थरुनी बाँचेकी छे ? (तलको लिङ्क खोलि कविता पढ्नुहोस्)

Wednesday, 12 September 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

सनी लिम्बु,,

उ बाँचेकी छे
कुन्नी कसरी बाँचेकी छे ?
बाँच्नुको विकल्प पनि त छैन
सर्वस्व लुटिएर पनि बाँचेकी छे,
जोवनमा यौवन खुलाउने बेला
पालुवा निमट्ठयाइएर समेत बाँचेकी छे
जर्जरता र वर्वरताको बीचमा
असक्तिएर कुँजिएर पनि बाँचेकी छे
उ बाँचेकी छे, कुन्नी कसरी बाँचेकी छे ?

दोष उसको केही होइन
दोष त बसन्ती पछि जोडिएको थरुनीको मात्रै हो,
द्वन्द्व मच्चाए कसैले
राजनीति गरे कसैले
मजदुरीको भरमा यापन गर्नेलाई
शिकार बनाए कसैले
जसको महलमा पसिना बगाएर छाक टार्थी
जातीय आन्दोलनको द्विवेषतामा शिकार बनायो उसैले
पहिला हुर्मत लुट्यो
पछि इज्जत लुट्यो
राज्यसँग अधिकार माग्दा परिणाम बनायो उसैले

केही दिन त ऊ सहारामा बाँची
रामजनम, गच्छदार, गोपाल दहितको भरोसामा बाँची
नसम्झेकी होइन उसले
चिच्याइ, चिच्याई कमैया बस्तीमा भाषण गर्ने
शान्ता, गंगा, रुक्मिणीहरुलाई
तर जब विलिन भए भरोसाका भाषणहरु
त्यसपछि खित्का छोड्दै बहुलिएर हाँसी
सपनीको आवरणमा पहिचानको
अंगार ओकल्नेहरुको झुण्ड देखि
कुमार लिङदेन देखि
आङकाजी देखि
लिम्बुवान, खुम्बुवान, मगरात, किराँत
नेवा, तमुवान, थरुहटको सपनी देखि

तर,
तर खोइ ??
विपनीमा झुल्किएनन् कुनै सपनीका सायाहरु
न त कसैले चुक चुकाए
न त स्नेह नै पोखे
न कसैले पत्रिकामा छपे
न कसैले टि.भी. रेडियोमा समाचार वके
बलात्कृत त वसन्ती पो भइ
किन वर्षिन्थे ??
थरुनी बलात्कृत भएकोमा, मायाहरु !

अहिले पनि ऊ बाँचेकी छे
आरिषको भुमरीमा प्रतिशोधको ज्वाला लिएर
आफूजस्तै दर्जनौं संगिनी लुटिएको खबर लिएर
पहिचानवादी थरुहटका नेता
लक्ष्मण र रेशमका लागि चुकली साँचेर
ऊ जिन्दावाद भन्नका लागि आतुर छे
र, मुर्दावाद भन्न पनि तयार छे
तर उसको चिच्याहटमा थरुहट प्रदेश हुनै पर्छ
अनि मात्रै उसले जिन्दावाद भन्ने छे
यही झिनो आशाको त्यान्द्रोमा
उ बाँचेकी छे, कुन्नी कसरी बाँचेकी छे ?
तर खबर सत्य हो
जसरी तसरी भए पनि
बसन्ती थरुनी बाँचेकी छे !!

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu