लखन चौधरी,,
कैलाली:=थारु कल्याणकारिणी सभा (थाकस) कैलालीले ७ नम्बर प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टलाई टीकापुर घटनालाई राजनीतिक घटनाको रुपमा सम्बोधन गर्नुपर्ने पहिलो माग अघि सारेको छ ।
शुक्रवार धनगढीमा आयोजित थाकस कैलालीको आठौं अधिवेशनको प्रमुख अतिथि समेत रहेका मुख्यमन्त्री भट्टलाई २०७२ भदौ ७ र ८ गते घटेको टीकापुर घटनालाई राजनीतिक घटनाको रुपमा सम्बोधन गरी समस्या समाधान गर्नुपर्नेसहित ११ बुँदे मागपत्र बुझाइएको हो । राज्यको हरेक अंग तथा निकायमा जनसंख्याको आधारमा समानुपातिक समावेशीकरण तथा प्रतिनिधित्वको सुनिश्चितता हुनुपर्ने पनि राखिएको छ ।संविधानको मर्म अनुसार थारु बाहुल क्षेत्रलाई स्वायत्त क्षेत्र घोषणा गर्नुपर्ने र आदिवासी समुदायका बड्घर, भल्मन्सा लगायत प्रथाजन्य कानूनलाई कानूनी मान्यता दिई आवश्यक संरक्षण तथा प्रवद्र्धन गर्नुपर्ने माग राखिएको छ भने थारु भाषालाई प्रदेश तथा स्थानीय तहको सरकारी कामकाजी भाषाको रुपमा सुनिश्चित गर्नुको साथै आधारभूत तहमा मातृभाषाको पठनपाठन तथा पाठ्यपुस्तक प्रबन्ध व्यवस्था गर्नुपर्ने सो मागपत्रमा उल्लेख छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले ७ नम्बर प्रदेश संस्कृतिमा धनी प्रदेश रहेको बताए । सबै जातजाति र समुदायको संस्कृति संरक्षण तथा प्रवद्र्धन गर्नु सरकारको दायित्व रहेको मुख्यमन्त्री भट्टले उल्लेख गरे । उनले भदौ ३१ गते थारु जाति मनाउन गइरहेको अट्वारी पर्वमा प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय समेत गरेको जनाए ।
कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिनिता चौधरी, प्रदेशसभा सदस्य चुनकुमारी चौधरी, मालामति रानाथारु लगायतले पनि सम्बोधन गरेका थिए ।थाकस कैलालीको कार्यवाहक सभापति बाँधुराम चौधरीको अध्यक्षता भएको अधिवेसनले नयाँ नेतृत्व चयन गर्दै समापन हुनेछ ।
