सूर्यप्रसाद अधिकारी,,
चितवन:= कुनै पेशामा लामो समय निरन्तर लाग्नुको उद्धेश्य हुन्छ यसै क्षेत्रमा स्थापित हुने । सानो व्यवसाय गर्नेलाई आफ्नो व्यवसाय बढाउने मन हुन्छ भने सानो पदका लागि ठूलो पदमा पुग्ने । तर भरतपुर ११ मा टेलर व्यवसाय हाक्दै आएका मनोज चौधरीको धोको टेलरिङ पेशामा स्थापित हुने, व्यवसाय विस्तार गर्ने, बढी पैसा कमाउनेमा छैन केवल एउटै ईच्छा छ उच्च शिक्षा हासिल गरी आफ्नो गाउँमा नमुना बन्ने । बाराको विकट गाउँबाट चितवन आएका मनोज चौधरी ३३ वर्षका भए र सिलाई मेसीनसँग खेल्न थालेको पनि २३ वर्ष भैसक्यो । तर उनलाई यस पेशामा स्थापित हुने लोभ कहिल्यै लागेन ।
भन्छन् ‘मेरो एउटै चहाना हो उच्च शिक्षा हासिल गरी गाउँमा उदाहरणीय बन्ने अर्थात गाउँको पहिलो स्नातकोत्तर ।’
यही लक्ष्यका साथ उनी १५ घण्टाभन्दा बढी कारखानामानै व्यस्त हुन्छन । हुनत उनी अहिले मजदुर बाट मालिक बनेका हुन् । हाल उनको १६ वटा मेशिन सहित १३ भन्दा बढी कालिगढले यही पेशामा रमाइरहेका छन । यहांँसम्म आउन भने उनले २ दशकभन्दा बढी समय पापड झै पेलिनु परेको छ । ‘त्यसैले त म आफ्नो अध्ययन र कामलाई संँगसंँगै लैजान सफल भएको छु’ उनी गर्वसाथ भन्छन् ।
मनोजको परिवार सम्भ्रान्त होईन । अवस्था बरु अत्यन्त नाजुक अवस्था थियो । दुईछाक खान पनि ज्याला मजदुरको सहारा , सम्पतिको नाउंँमा खरले छाएको झुपरपट्टी बाहेक उनीसँग केही थिएन । ‘आमा पहिल्यैदेखि मृगौलाकी विरामी , मेरो बाबुलाई ३ छोराछोरीलाई खान लाउन शिक्षा दिनु फलामको चिउरा चपाउनु जस्तै थियो त्यतिबेला । कति दिन त हामी भोकै पनि सुत्यौं, ’ उनी सम्झन्छन् । उनलाई सानै देखि पढ्नको मोहले पच्छाएको थियो । स्थानीय सरकारी स्कुलमा भर्ना पनि भए ।
अनि शुरुभयो उनको अध्ययनको यात्रा । अध्ययनमा तीक्ष्ण उनी पढाइमा उत्तिनै सबल बन्दै गए । तर घरको अवस्था देखेर भने उनको मन भित्रभित्रै कँुडिने गथ्र्यो त्यो बालापनमा पनि । सानै उमेर देखि घरको अवस्थाा नियालिरहेका उनलाई पढाई छोड्ने अवस्था आउछ कि भन्ने ठुलो डर थियो । उनका दाईले आर्थिक अभावका कारण ८ क्लासबाटनै पढाई छोड्नु परेको स्मरण मनमा ताजै छ उनीसँग । अध्ययनकै क्रममा कक्षा ५ मा पढ्ने बेलादेखिनै उनी आफ्नो घर वरीपरी कपडा सिलाउने पसलमा गइरहन्थे । ‘मनमनै यही काम सिक्दै पढाइलाई निरन्तरता दिन सक्ने आशा थियो । ‘पढ्नपनि पाउने बाबुलाइ पनि सहयोग पुग्ने हेतुले स्कुलबाट फर्केर म त्यही सिलाइ गर्ने दाइकोमा जाने गर्थे । त्यतिबेला म भर्खर १० बर्ष उमेरमै कक्षा ५ मा पढ्दै थिएंँ ’ उनले भने । सो क्रममा काम पनि अलिअलि सिक्दै गए ।
त्यतिबेलाको समय हो ७ कक्षा पढ्दैगर्दा उनलाई चितवन आउने मेसो परेको थियो । यहाँ उनको आफ्नो साथीभाई आफन्त पनि बस्ने गर्थे । उनलाइ चितवनको वातावरण , विकास, समाज देखेर मोहनीनै लागेर होला छोड्नै मन लागेन । तर आफ्नो पढाई छोडेर आउने परिस्थिति भने उनीसंँग थिएन । पहिला अध्ययन सक्काउने र भविष्यको बाटो यही कोर्ने सपनाका साथ फर्किए आफ्नै गाउंँतिर । ‘त्यतिबेला मलाई पढ्न र घर खर्च गर्न केही पैसा गाउंँकै टेलर्समा जुर्न थालिसकेको थियो । जब मैले एसएलसी पास गरे त्यसपछि पनि उच्च शिक्षा अध्ययन गर्न चितवन आउने मेरो धोको उनको पुरा हुन सकेन ।कारण थियो आर्थिक अभाव ’ उनले भने ।
त्यसपछि सोही स्कुलमा निरन्तरता दिदै १२ कक्षासम्मको पढाई पुरा गरे । तर उनको भित्री इच्छा भने मास्टर डिग्री गरेर गाउंँको पहिललो स्नाकोत्तर बन्ने बिद्यार्थी बन्नु थियो । त्यतिबेलासम्म पनि केही पैसाको जोहो गर्न नसकेका उनी स्नातक अध्ययन गर्न रित्तो हात चितवन हानिए । किनकी उनको गाउंँमा स्नातक पढ्ने क्याम्पस थिएन ।
‘पहिलोपटक आउंँदानै मैले विरेन्द्र क्याम्पस जस्तो ठुलो क्याम्पसमा पढ्ने धोको थियो ’ उनले पढाईको यात्रा सुनाए । उनको मनको बांँधलाई पैसाले छेकेन अनि उनी गाडी भाडा मात्रै लिएर चितवन आए । चितवनको बसाइमा उनी क्याम्पस पढ्ने साथीको कोठामा बसेर बिहान क्याम्पस जाने दिउसो काम खोज्न थाले । भोलीपल्टनै उनले एउटा नारायणगढको यूनिफर्म हाउसमा काम पाईहाले । कामगर्दै गए तर केहीबर्ष काम गर्दापनि उनले त्यहांँ चित्तबुझ्दो तलब पाएनन । अनि रामनगरको टेलरमा काम गर्न पुगे उनी, त्यस टेलरमा भने उनले रु ४५०० रुपैयाँ प्रतिमहिना तलब पाए । आफू पढ्दै, घर पठाउंँदै उनले स्नातकतहपनि सरासर पास गरे ।
त्यतिबेलासम्म उनले आफूजस्तै पढाइमा दख्खले जीवनसाथी भेटाइसकेका थिए । त्यसपछित उनले चितवनमै घरजम गरे । विस्तारै उनको मनले अर्काको काम गरेर जिन्दगीमा खासै प्रगति नहुने देख्यो त्यसपछि आफूले बचाएर राखेको पैसाले जागृतिचोकमा टेलर्स खोले । २, ४ महिना त उनले यही आफैले कपडा सिलाउंँदै गए । ‘तर विस्तारै मेरो सीप, कला शैली देखेर ग्राहकको भीड बढ्दै जान थाल्यो । एकजनाले मात्र काम भ्याउन सकस भयो, अनि बोलाए मैले आफ्नै दाइलाई काम सघाउन ’ उनले थपे । विस्तारै स्कुल कलेज, सहकारी सस्थाबाट काम अर्डर आउनथालेपछि भने उनीहरुलाई अर्डर समयमै दिन गाह्रो भयो । फेरी ४ जना कालीगढ थपे उनले । त्रिएक टेलर्स नामको पसल उनको स्थापीत हुदै गएसंँगै कमाईपनि बढ्दै गयो । त्यसपछि उनलाई टेलर्स सँगै कारखानानै राख्ने सा्ेच आयो । सोच त आयो तर कारखाना खोल्ने पैसा थिएन उनीसंँग ।
उनको मिहेनत, सीप र ती उनका चिनजानका दाइको लगानीले कारखानाले दिन दुइगुना रात चौगुना फड्को मार्दै गयो ।नयाँ उत्साहका साथ कालिगढको साथ १६ घण्टा सम्म उनी खटिन थाले । उनको खटाइ देखेर होकी किन हो ती दाइले उनलाई त्यो कारखाना आफै चलाउन सुझाए । विस्तारै ती दाइको ऋण उनले तिर्न सफल भए । हाल उनको कारखाना र टेलर्समा १३ जना कालीगढलाई रोजगारी पुगेको छ । पढाइको महत्व राम्ररी बुझेका उनको स्नाकोत्तर अध्ययन पूरा गर्न दुई बिषय मात्र कटाउन बाकी छ भने आफ्ना दुई छोराछोरीलाई राम्रै स्कुल पढाएका छन । उनले आफ्नो गाउंँमा पनि पक्की घर बनाउन सफल भएका छन । हाल आफै इन्टरनेटको माध्यमबाट कपडाको डिजाइन गर्दै आएका उनले आफ्नो उत्पादन कोरिया सम्म पुरयाउनका लागि ३ पटकभन्दा बढी बजार अध्ययन गरेर फर्केका छन । ‘सरकारबाट निर्यात गर्न सहज वातावरण भयो भने यहांँभन्दा कोरीया पठाउंँदा ५ गुणाभन्दा बढी कमाइ हुन्छ ’उनी आशा गर्छन । स्नाकोत्तर सकेपछि भने उनले यही व्यवसायलाई विस्तार गर्दै कोरियामा आफ्नो उत्पादन निर्यात गर्ने योजना सुनाउंँछन । अझै पनि उनी जस्ता शिक्षीत युवाका लागि सहज नबनेको कपडा सिलाउने पेशालाई चितवन जस्तो सम्पन्न जिल्लामा स्थापित गराएर स्वरोजगार भएका मात्र होईन धेरैलाई रोजगारी दिन सफल भएका छन् मनोज । विदेशमा काम खोज्दै भांैतारिएका नेपाली यूवाले पनि मनोजबाट सिक्ने कि ?
