रमेशकुमार पौडेल/कान्तिपुर,,
गाउँमा यमोसा,,
चितवन:= सोह्र श्राद्धको अन्तिम दिन । औंसी । चितवनका आदिवासी समुदायले यो दिन आफ्ना दिवंगत पितृहरुको विशेष तरिकाले सम्झना गर्छन् । यो दिनलाई उनीहरु यमोसा भन्छन् । यमोसा चितवन र नवलपुर क्षेत्रका थारुहरुले मनाउने विशेष पर्व हो । बिहान झिसमिसेमा सिरु काटेर ल्याएर हरियो सिरु मात्रै छानेर मुठा बनाउँछन् । त्यो मुठालाई फुलहरुले सिंगारेर पितृको प्रतिकका रुपमा घर अगाडि राख्छन् ।
‘त्यसको आडमा सुपारी, सुर्ती र अन्य पेय पदार्थ राख्छन् । बिहान नुहाएर चोखो भएपछि पुजा गर्छन् । दिउँसो घाम होला भनेर छतरी पनि ओढाइ दिन्छन्,’ थारु कल्याणकारी सभा चितवनका अध्यक्ष ललित चौधरीले भने । पितृ पुजा भ्याएपछि बोलाएका पाहुनालाई परिकारहरु खुवाउँछन् । पाहुनालाई खुवाउन अघिल्लो दिन माछा मार्छन् । जसलाई उनीहरु मछुवारी भन्छन् ।
‘पाहुनाले नखाइ घरका मान्छेले खान्नन्,’ थारु पत्रकार संघ चितवनका अध्यक्ष कारी महतोले भने, 'वर्ष दिनभित्र घरमा कसैको निधन भएको रहेछ भने पनि ‘जुठो’ फुकाउने दिन यही हो । तर त्यस्तो घरमा सिरुको मुठा अगाडि बोको काटेर रगत चढाउने चलन छ । यस दिन सबैको घरमा गएर केही न केही खानै पर्ने हुन्छ । पाहुनाहरुलाई फूल लगाउने, कपालमा तेल लगाइ दिने र काइयोले कोरीदिने चलन छ ।
‘पहिला त निकै धुमधामले यमोसा मनाइन्थ्यो । अहिले चहल पहल घट्दो छ,’ थारु कल्याणकारीका अध्यक्ष ललित चौधरीले भने । थारु समुदायमा जितियापछि यमोसा, दसैं, तिहारका बेला सोहराई र ठूलो एकादशी जस्ता पर्व लगालग आउँछन् । अन्य पर्व सवै ठाउँमा थारुले मनाउने गरे पनि यमोसा चितवन र नवलपुर क्षेत्रका थारुले मात्रै मनाउने थारु कल्याणकारी सभा चितवनका अध्यक्ष ललित चौधरीले बताए।