उन्नती चौधरी/मुक्तिक डगर,,
धनगढी:= कञ्चनपुरकी २९ वर्षिया बिनु देउवाको जीवन भोगाईलाई नियाल्दा लाग्छ, उनको जीवन कुनै हिन्दी पारिवारिक सिरियलको कहानी हो । उनैको जीवनलाई आधार बनाएर कैयौँ धारावाहिक बनेका छन् र अझै बन्नेवाला छन् ।
आफ्नै श्रीमान र परिवारबाट पाएको चरम शारीरिक र मानसिक यातना खेप्नु परेपछि बिनुलाई जीवन नर्क झै लाग्थ्यो । बाँच्न मनै लाग्थेन रे । तर आज तिनै बिनु उच्च मनोबलका साथ भन्छिन्, ‘जुनसुकै प्रकारको होस्, हिंसा सहनै हुन्न रहेछ । हिंसा गर्ने भन्दा हिंसा सहने मान्छे दोषी हो ।’ यही सन्देशका साथ उनी लैंगिक हिंसा विरुद्धको अभियानमा सक्रिय हुन चाहन्छिन् । उनलाई गाउँगाउँ र वस्ती वस्ती पुगेर भन्न मन छ, ‘हिंसा सहनुहुन्छ भने तपाईं एक दिन मर्नुहुन्छ । त्यसैले हिंसाको प्रतिकार गर्नुस् र सुन्दर जीवन बाँच्नुस् ।’
२०६८ सालमा उनको विवाह कैलालीको बौनियामा स्थायी घर भई भारतको हैदारावादमा बसोबास गर्ने भगवानसिंह बमसंग भयो । विवाहपछि केहि दिन नेपाल बसाईपछि उनलाई श्रीमानले हैदारावादस्थित आफ्नै घर लगे । सुरुआतका दुई महिना सहज बिते । भगवानसिंह घर आउन, बस्न छोडे । अनि सुरु भए उनको जीवनमा कहालीलाग्दा दिनहरू ।
‘जब उहाँ (श्रीमान) घर आउन छोड्नु भयो । तपाई किन बाहिर बस्नुहुन्छ भनेर सोध्दा मैमाथि आरोप प्रत्यारोप सुरु भयो । घरमा नुन तेल सकिएपछि सासूको गाली र कुटाई सुरु भइहाल्ने । श्रीमानलाई आफ्नो पीडा राख्दा कोठा बन्द गरेर बेल्टले पिट्ने । शरीरभरी निल डाम । पिटाइ सहन नसकेर कतिखेर बेहोस् हुन्थे थाहै हुन्थेन । म निरिह थिएँ । माइतीको कोही थिएन भारतमा । घर बाहिर जान अनुमति थिएन ।’ साढे ३ वर्षसम्म देवरबाहेक परिवारै मिलेर दिएको यातनाको बेली बिस्तार सुनाइन् उनले ।

घरकी उनी बुहारी थिइन् । परिवारबाट जुन व्यवहार खप्नि त्यो मानवी छँदै थिएन् । परिवार धनाड्य थियो । तर उनी वर्षमा गनेरै दुई जोर लुगा पाउँथिन् ।
बिनुमाथि यातनाको स्तर बढ्दै थियो । उनी दुई जिउकी हुँदासमेत कुटाई रोकिएको थिएन । छोरी जन्मिई । तर उनले छोरीलाई दूध चसाउन समेत पाइनन् । तिम्रो दूध खायो भने क्यान्सर हुन्छ भन्दै सासूससुराले छुनै दिएनन् । उनले अहिलेसम्म छोरी देख्न समेत पाएकी छैनन् ।
बिनुले एकचोटी आफ्नो अवस्था बारे नेपालमा बुवालाई फोन गरेर सुनाइन् । उनको अवस्था बुझ्न बुवा हैदारावाद पुगे । छोरीको घर पुगेका बाउलाई हालखबर सोध्नु मानसम्मान गर्नु त परैको कुरा, उल्टै घाँटी समातेर गाली बेइज्जती गर्दै घरबाट निकालेको उनले सुनाइन् ।
अवस्था बुझ्न आएका बुवामाथि समेत त्यस्तो भएपछि बिनुलाई ज्यान कसरी जोगाउने भन्ने चिन्ता भो । उनले घर छोड्ने योजना बनाइन् । घरबाट भागेर उनी एक जना आफन्त पर्ने भाईको सहयोगले हैदारावादबाट सुरतसम्म पुगिन् र नेपाल फर्किन् ।
बिनु ज्यान जोगाएर नेपाल आएपछि केटा र केटी पक्षका मान्छेबिच मिलापत्र गर्न धेरै पटक प्रयासहरू भए । तर सबै प्रयास विफल भएपछि बिनु न्यायका लागि अघि बढिन् । उनले जिल्ला अदालत कैलालीमा अंश दावी सम्बन्धी मुद्दा दायर गरिन् । अदालतले उनको मुद्दाको सुनुवाई गर्दै उनकै पक्षमा २०७४ माघ २ गते फैसला सुनायो ।
तर श्रीमान पक्षले उच्च अदालत दिपायमा मुद्दाको पुनरावेदन गरेका छन् । सुनुवाई भने अझैसम्म भएको छैन । बिनुको मुद्दा हेरिरहेका जिल्ला कानूनी सहायता केन्द्र कैलालीका प्रमुख तथा अधिवक्ता देवीलाल चौधरी बिनुले मुद्दा जित्ने थुप्रै सम्भावना रहेको बताउँछन् ।
बिनुले अहिले जीविकोपार्जनको लागि गुलरियामै बिनु कस्मेटिक एण्ड ब्युटीपार्लर सञ्चालन गरेकी छन् । आफन्तकै सहयोगमा साढे २ लाखको लगानीमा व्यवसाय सञ्चालन गरेकी हुन् । ‘उनी आफ्नो व्यवसायप्रति खुसी छिन् । हातमा पैंसा आउन थालेपछि काम गर्ने जोस बढ्दोरहेछ’ उनले भनिन्, ‘अब यही व्यवसायलाई अघि बढाउँछु र म जस्तै हिंसापीडित महिलाको सहयोगको लागि काम गर्छु ।’
हातमा पैंसा हुँदा कुनै पनि महिला अन्यायमा नपर्ने दावी गर्छिन् उनी । भन्छिन्, ‘म कमाउने भइदिएको भए सायद त्यति विघ्न दुःख झेल्नु पर्थेन कि !’ त्यसैले हिंसा भोगे भन्दैमा सधैंभरी हिंसा सहेर बस्न नहुने रहेछ । उनी थप्छिन्, ‘मैले सुरुमै हिंसाको प्रतिकार गर्न सकेको भए त्यति धेरै पिटाई सहनु पर्थेन र छोरीबाट टाढा बस्नु पर्थेन ।’
पीडा भुलाउने माध्यम अनाथ बालबालिका
बेलौरी नगरपालिका–७ पौलाहा, कञ्चनपुरकी २९ वर्षिया सुनिता चौधरी जीवनका ठूलठूला उतारचढाव स्मरण गर्दा क्षणभरमै भावुक हुन्छिन् ।
पहिलो पतिको मृत्युपछि काँखे छोराको पालनपोषणको पूर्ण जिम्मेवारीसंगै पति वियोगको पीडा र दोस्रो विवाहपछि झेलेको घरेलु हिंसालाई स्मरण गर्दैगर्दा उनका आँखा रसाए । तर जीवन नै संघर्ष हो, भन्ने यथार्थ बुझेकी सुनिताले कुनै पनि चुनौतीसंग हार मानेकी छैनन् । परिवार, समाजको मन जित्दै क्रमिक रुपमा सफलता हासिल गर्दै गएकी छिन् ।

बालबालिकासँग सुनिता चौधरी ।
उनको काँधमा अहिले आफैले जन्माएका दुई सन्तानको जिम्मा मात्रै छैन । अनाथ र सहारावीहिन अन्य ९ बालबालिकाको लालन पालन गर्ने थप जिम्मेवारी पनि छ । यी सबै बालबालिकाकी साझा आमा हुन् उनी ।
‘म चार महिनाकी गर्भवती हुँदा श्रीमानको मृत्यु भयो । जन्म नहुँदै मेरो छोरो टुहुरो भयो । म विधुवा भएँ । म सोच्थे, म हुँदा त मेरो छोरोको यो अवस्था छ । जुन बालबालिकाको त कोही हुन्न, उनीहरूको के हालत हुन्छ ? यही सोचले उनलाई २०७० सालदेखि ‘परिवार बाल गृह’ सञ्चालनसम्मको यात्रामा डोेर्यायो ।
सुनिताको माइती घर राप्ती सुनारी गाउँपालिका–३ बर्दिया हो । उनको पहिलो विवाह मानपुर दाङका कालुराम थारुसंग १३ वर्षकै उमेरमा भयो । तर चार महिनाको छोरा पेटमा हुर्किरहेको बेला उनीको श्रीमानको हृदयघातका कारण मृत्यु भयो ।
भर्खरको जवानीमा पति वियोगको पीडा र डेढ वर्षको छोराको भविष्यको जिम्मेवारी बोक्दै पश्चिम नेपालको थारु समुदायकी चेली घरबार त्यागेर पूर्वी नेपालको काँकरभित्ता पुगिन् । काम गर्न हिँडेकी सुनिता छोरासंगै स्कूल भर्ना भइन् । २ वर्षपछि फर्केर उनले बर्दियाको बाँसगढीमा प्रवीणता प्रमाणपत्र तहको अध्ययन पनि पूरा गरिन् । पढाईसंगै नेटवर्किङ व्यवसायमा लागिन् । व्यवसायको क्रममा उनी बाँके, बर्दिया, दाङ, कैलाली, कञ्चनपुरसम्म पुगिन् ।
कञ्चनपुर उनको मामा घर पनि हो । व्यवसायकै क्रममा कञ्चनपुरको बेलौरी गाउँपालिका–७ पौलाहाका आफ्नै ठूली आमाको छोरा दिलेन्द्र चौधरीसंग उनको भेट भयो ।
सुनिताको कार्यशैली, कामप्रतिको लगाव देखेर दिलेन्द्र निकै प्रभावित भए । विधुवा महिला, त्यो पनि एक छोराकी आमा सुनितालाई दिलेन्द्रले एकाएक विवाहको प्रस्ताव राखे । सुनितालाई विश्वास लागेन । उनको अवस्था दिलेन्द्रले सहर्ष स्वीकार गर्दै आगामी दिनमा संगै संघर्ष गर्ने बाचापछि सुनिता राजी भइन् । तर दिलेन्द्रका परिवारजनले स्वीकार गरेनन् ।
‘हाम्रो सम्बन्धलाई परिवारले स्वीकार गरेन । उहाँले मलाई घरमा लिएर जाँदा परिवारजनले निकै यातना दिए’, परिवारजनले उखेली दिएको टाउकोका रौं देखाउँदै उनले भनिन्, ‘तर हाम्ले कुनै किसिमको प्रतिक्रिया जनाएनौं ।’
पछि उनको मिजासिलो र सहयोगी बानी व्यवहारले उनको परिवारजनले स्वीकार गरेको उनी सुनाउँछिन् । उनी भन्छिन्, ‘आजभोलि मेरो परिवार म बिना अधुरो हुन्छ । सबैले मलाई माया गर्नुहुन्छ । म पनि उत्तिकै ध्यान दिन्छु ।’ श्रीमानकै सहयोगमा आफूले बाल गृह सञ्चालन गरेको उनले बताइन् ।
बुलेटसंग रमेकी योद्धाको बुटिक सेन्टर
जीवनमा कठोर घरेलु र लैंगिक हिंसालगायत सामाजिक विकृतिको सिकार भएकी चेली हुन् कैलालीको कैलारी गाउँपालिका–८ दुधियाकी सीता चौधरी ।
शरीरभरी गोलीका छर्रा, पति वियोग, परिवार र समाजबाट पाएको तिरस्कार र पार्टीबाट ठगिएकी उनै सीता आज सफल व्यवसायी बन्न उन्मुख छिन् ।

सीता चौधरी
जीवनमा आइपर्ने जतिसुकै कठिन चुनौतीसंग संघर्ष गर्न जानेकी उनले हाल धनगढी उपमहानगरपालिका–७ देवहरियामा सलिम टेलर्ससंगै बुटिक सेन्टर सञ्चालन गरेकी छिन् । जीवनमा पाएका असंख्य घाउ र चोटहरूमा मलहम लगाउने र जीविकोपार्जन गर्ने एक मात्र सहारा बनेको छ उनको बुटिक सेन्टर ।
१० वर्षे सशस्त्र जनयुद्धताका प्लाटुन कमाण्डर बनेकी सीताको पहिलो विवाह कैलारी गाउँपालिका–८ टेढीका बलिराम चौधरी ‘तुफान’ संग भयो । २०५८ सालमा तत्कालीन नेकपा माओवादीले सुरु गरेको जनयुद्धको क्रममा तुफान भूमीगत भए ।
कक्षा ८ मा पढ्दै गर्दा उनी पनि भूमीगत भइन् । देश बनाउने संकल्पका साथ जनयुद्धमा होमिएका उनका सहयोद्धा गोली लागेर गम्भीर घाइते भए ।
जनयुद्धताका २०६० सालमा म्याग्दीको बेनीमा माओवादीले आक्रमण गरेको थियो । सो बेनी घटनामा उनी पनि गोली लागेर घाइते भइन् ।
बेनी घटनालाई स्मरण गर्दै सीताले भनिन्, ‘बम, गोलीको वर्षा हुन थाल्यो । हाम्रो टोली अगाडी बढ्दै थियो । मोर्चाको नेतृत्व मैले नै सम्मालेकी थिएँ । एक्कासी अगाडीबाट गोली आयो, अनि ढलेछु । बेहोस् अवस्थामै साथीहरूले बोकेर लगे । होस खुल्दा टाउको, छातीलगायत शरीरका ४ ठाउँमा गोलीले छेद पारेको पाएँ ।’
श्रीमान श्रीमतीलाई जनयुद्ध नै दशा बन्यो । शान्ति प्रक्रियापछि पनि उनका श्रीमान एकातिर घाइते शरीर लिएर थला परेका हुन्थे । भने उनी अर्कोतिर । उपचारमा कतै पनि प्रभावकारी सहयोग नभएपछि श्रीमानको मृत्य भएको उनले सुनाइन् । उनी विक्षिप्त बनिन् । घर परिवारबाट पाएको अपमान र तिस्कारले उनलाई झनै क्षतविक्षत बनाउँथ्यो ।
श्रीमानको मृत्युपछि परिवार र समाजले अर्कै नजरले हेर्न थाल्यो । ‘यो माओवादीनी देश बनाउन युद्ध लड्न गएकी थिई । बिग्रेर आई । यसलाई त पार्टीले पनि चिन्दैन नि ? केही पनि पाइन । ठिक्क परी भनेर हेलोहोचो गर्थे’ उनले गहभरी आँशु पार्दै भनिन् ।
जनयुद्ध तार्किक निष्कर्षमा पुग्यो । तर जनयुद्धका योद्धा भने परिवार, समाज र आफ्नै पार्टीबाटै उपेक्षित भइन् । उनका सहकर्मी कोही सेना समायोजनमा गए । कोही स्वऐच्छिक बाफत रकम लिएर अवकास लिई घर फर्के । घर जोडे । तर उनी रित्तो हात र शरीर भरी गोलीको छर्रा लिएर जीवनसंग संघर्षरत भइन् ।

श्रीमानसँग आफ्नै पसलमा सीता चौधरी
‘मेरो शरीरमा रहेका गोलीका छर्राले म घाइते हुँ भन्ने पुष्टि गर्छ । मसंग सबै कागजातहरू छन्् । सबै सहकर्मी साथीहरूले राज्यबाट पाउने सुविधा पाए । तर म अझै बञ्चित छु’ उनले भनिन्, यही कुराले मन भतभती पोल्छ ।’
श्रीमानको मृत्युपछि घरपरिवारले वास्ता गर्न छोडेपछि उनी माइती बस्न थालिन् । माइतीले समेत उनलाई बोझका रुपमा लियो । पछि कैलाली गाउँपालिका–८ दुधियाका बिजय चौधरीसँग उनले बिहे गरिन् । बिजयको परिवारले स्वीकर नगरेपछि श्रीमान श्रीमती नै सदरमुकाम धनगढी बस्न थाले ।
हाल श्रीमानकै सहयोगमा उनी तीन वर्षदेखि सिलाई र बुटिक सेन्टर सञ्चालन गर्दै आएकी हुन् । व्यापारमै व्यस्तता बढेपछि उनका श्रीमान बिजय पनि यसै व्यवसायमा क्रियाशील छन् । दुवै खुसी छन्, सुखी छन् । सीता भन्छिन्, ‘शोकलाई शक्तिमा बदल्ने हिम्मत नगरेको भए सायद जीवनभर आँसु पिएर बस्नुपर्दथ्यो ।’
कमलरीहरूको छलाड्डः किबोर्डदेखि गायनसम्म
सुनिता र सीता प्रतिनिधि पात्र मात्रै हुन् । समाजमा अनगिन्ती सुनिता र सीताहरू छन् जसले जीवनमा सोच्दै नसोचेको र देख्दै नदेखेको हिंसा भोगे । त्यही हिंसाबाट मुक्ति खोज्दा आज आफ्नो जीवनलाई त सुखमय बनाए नैं अरुका लागि समेत अनुकरणीय बन्न सफल भएका छन् ।
आधा दशक अगाडिसम्म पश्चिम नेपालमा कमलरी प्रथाले जडा गाडेर बसेको थियो । पढ्ने उमेरका बालिकाहरू अर्काको घरमा दासी भएर बसेका थिए । आज तिनै बालिकाहरू समाजमा रोल मोडल बन्न सफल बनेका छन् ।

रेखा कुमारी चौधरी
ती मध्ये एक हुन्, धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँकी २५ वर्षिया रेखा कुमारी चौधरी । जो पढ्ने उमेरमा अर्काको घरमा कमलरी बस्न बाध्य भएकी थिइन् । जीवन उपयोगी वाणीहरू सुन्ने समयमा मालिकको कर्कश गाली सुन्नुपर्ने दिनचर्या थिए ।
आज तिनै रेखा कम्प्युटरको किबोर्डसंग खेल्दै अरुहरूलाई ज्ञान बाड्न सफल भएकी छिन् । अर्की पुर्वकमलरी सोमकुमारी चौधरीसंग मिलेर उनी २०७२ देखि धनगढीमै धनटेक कम्प्युटर प्रशिक्षण केन्द्र सञ्चालन गर्दै आएकी छिन् । उनी कम्युटर शिक्षा पढाउँदै छिन् ।
रेखाका बुवा भरथरी डंगौरा थारु र आमा जोखनी देवी थरुनी जमिनदारको घरमा २६ वर्ष कमैया बसे । कमैयाको छोरा कमैया र छोरी कमलरी बस्नुपर्ने बाध्यता रहेको उनी सुनाउँछिन् ।
‘बुवा आमा कमैया बस्नुभयो । उहाँहरूसंगै म पनि कमलरी बसेको थिएँ’, विगत कोट्याउँदै उनले भनिन्, ‘३ महिना बढी कमलरी बसे । बडो मुस्किलले ताजा खाना खान पाउँथे । घरको सबै कामको जिम्मा मेरै काँधमा थियो ।’
सरकारले २०५७ साल साउन २ गते कमैया मुक्तिको घोषणा ग¥र्यो । २०६५ सालमा कमलरी मुक्तिको घोषणा भयो । कमैया र कमलरी दासताको जञ्जिरबाट मुक्त भए । रेखा आफ्नै घरमा बस्न थालिन् । स्कूल भर्ना भइन् । १ कक्षा, २ कक्षा गर्दै उनले हाल कैलाली बहुमुखी क्याम्पसबाट स्नातक उत्तीर्ण गरिसकिन् ।
उनको सफलताको सीमा छैन । अध्ययनको क्रममै उनी महिला विकास समाज नामक गैरसरकारी संस्थामा जागिरे भइन् । त्यहाँ उनी आफू जस्तै अन्य कमलरी बालिकालाई फ्राई डे क्लासमा जीवन उपयोगी सीप बाड्न थालिन् । पछि उनले त्यसै संस्थामै ५ वर्षसम्म कम्प्युटर शिक्षकको जिम्मेवारी पाइन् ।

समिक्षा चौधरी
आफूले हासिल गरेको सीप र ज्ञानको सदुपयोग गर्दै उनले सहकर्मी सेमकुमारीसंग मिलेर ४ लाखको लागतमा कम्प्युटर परीक्षण केन्द्र सञ्चालन गरेकी हुन् । सो प्रशिक्षण केन्द्रमा दैनिक ५० विद्यार्थी कम्प्युटर शिक्षा लिर्दै आएका छन् । आफ्नै पौरखले स्वरोजगार बनेका उनीहरू थप दुई जनालाई रोजगारी समेत दिन सफल भएको रेखा बताउँछिन् ।
त्यस्तै, आफ्नो पौरखमार्फत विगतको कमलरी जीवनबाट उन्मुक्त भई चर्चाको शिखरमा छिन् समिक्षा चौधरी । कैलालीको घोडाघोडी नगरपालिकाको कौहाँमा जन्मेकी २७ वर्षिया समिक्षा आफ्नो गायनकला मार्फत छोटो समयमा नाम र दाम कमाउन सफल भएकी छिन् ।
बुवा आमा कमैया रहेका समिक्षा घर परिवारको समस्या टार्न आफ्नो दाजुसंगै ८ वर्षको उमेरदेखि नै कमलरी बस्न बाध्य भएकी थिइन् । उनी नेपालगञ्जका साथै भारत उत्तर प्रदेशको एक जमिनदारको घरमा समेत कमलरी बसेकी थिइन् ।
तर हाल समय फेरिएको छ । स्कूल जाने उमेरमा अर्काको घरमा कमलरी जीवन बिताएकी उनै समिक्षाले गायन क्षेत्रमा छलाङ मारेकी छिन् । उनका हरेक गीत बृद्ध, बालबालिका, तन्नेरी सबैका ओेठमा झुन्डिएको पाइन्छ । सुरिलो अनि मिठो स्वरकी धनी समिक्षा सबैको मन, मस्तिष्कमा डेरा जमाउन मात्रै सफल भएकी छैनन्, गायन पेशाबाट पनि राम्रो नाम र दाम कमाउन सकिन्छ भन्ने उदाहरण बन्न सफल भएकी छिन् । फलतः धेरैले उनलाई भारतकी मसहुर गायिका अल्का यागमिकको उपमा दिन समेत पछि पर्दैनन् ।
हालसम्म उनी थारु, नेपाली, भोेजपुरी भाषाको गरी १३ दर्जन बढी एल्बम, चलचित्र, फुटकर, सामूहिक गीत तथा कोरस गरी दुई सय बढी गीतमा स्वर दिई सकेकी छिन् ।
हिंसाको अवस्था ज्युँका त्युँ
कैलालीमा महिलामाथि हुने घरेलु, लैंगिकलगायत सामाजिक हिंसाको अवस्था जस्ताको त्यस्तै छ । जसका कारण महिला तथा बालबालिकाहरू नै बढी पीडित छन् ।
सरकारी होस् या गैरसकारी संस्थाको तथ्यांक अनुसार घरेलु तथा लैंगिक हिंसाको दर खासै घटेको पाइन्न । जिल्ला प्रहरी कार्यालय कैलालीको महिला तथा बालबालिका सेलको त्रिवर्षिय घरेलु र लैगिंक हिंसाको तथ्यांक अनुसार आव २०७२÷२०७३ मा १ सय ८५, २०७३÷२०७४ मा १ सय ९७ र २०७४÷२०७५ मा १ सय ७३ वटा घरेलु हिंसाका उजुरी परे । भने चालु वर्षको कार्तिकसम्ममा २८ उजुरी दर्ता भएको प्रहरीले जनाएको छ ।
आर्थिक वर्ष २०७२/२०७३ मा ७०, २०७३/२०७४ मा ८४ र २०७४/२०७५ मा ६२ वटा लैंगिक हिंसाका उजुरी परेका छन् । भने चालु वर्षको कार्तिकसम्ममा ७ वटा उजुरी दर्ता भएको महिला सेल प्रमुख तथा प्रहरी निरीक्षक भगवती तिमिल्सेनाले बताइन् ।
मुलुकमा नयाँ संरचना आएसंगै स्थानीय तहको न्यायिक समितिमा केही उजुरी पर्नु र साउनदेखि लागु भएको नयाँ मुलुकी संहिताले जिल्ला प्रहरी कार्यालयमा कम उजुरी परिरहेको प्रहरी निरिक्षक तिमिल्सेनाले जानकारी दिइन् ।
त्यस्तै, अनौपचारिक क्षेत्र सेवा केन्द (इन्सेक) क्षेत्रीय कार्यालय धनगढीले हालै सार्वजनिक गरेको मानवअधिकारको अवस्था सम्बन्धी तथ्यांकले पनि महिला तथा बालबालिका बढी पीडित भएको पाइएको छ ।
सन २०१७ मा सुदूरपश्चिम प्रदेशमा राज्य पक्षबाट १ जना महिला र २० जना पुरुष, गैरराज्य पक्षबाट ४ सय ४४ जना महिला र ८० जना पुरुष गरी ५ सय २४ जना पीडित भए । भने सन् २०१८ को जनवरीदेखि सेप्टेम्बरसम्ममा राज्य पक्षबाट १ जना महिला, २१ जना पुरुष र गैरराज्य पक्षबाट ३ सय ८० जना महिला र २४ जना पुरुष गरी ४ सय २६ जना पीडित भए ।
चालु वर्षको अवधीमा ३ सय ६१ वटा घटनामा ३ सय ६४ जना महिला पीडित भएको इन्सेकले जनाएको छ । घरेलु हिंसाबाट ३ सय २३, बहुविवाहबाट १०, बलात्कारबाट १६, बलात्कार प्रयासबाट ६, अमानवीय व्यवहारबाट १ जना पीडित भएका हुन् । त्यस्तै, १ महिलाको बलात्कारपछि हत्या, ५ जना महिलाको परिवारबाटै हत्या भएको अभिलेख इन्सेकको छ । भने १ जना महिला र १ जना पुरुषलाई बोक्सी तथा बोक्सा आरोपमा निर्घात कुटपिट गरिएको छ ।
अदालतमा सम्बन्ध विच्छेदका मुद्दा बढी
जिल्ला अदालत कैलालीको तथ्यांक अनुसार आर्थिक वर्ष २०७४/०७५ मा ४ सय ३५ सामाजिक सरोकारका मुद्दा दर्ता भएका थिए । जसमा २ सय ३८ मुद्दाको फैसला भएको छ । जसमध्ये घरेलु हिंसाका ३, बोक्सी आरोपका ४, जबरजस्ती करणीका ४०, जबरजस्ती करणी उद्योगका २०, सम्बन्ध विच्छेदका १ सय ९४, अंशका १ सय ६१, माना चामलका १२ र छुवाछुत सम्बन्धी १ मुद्दा दर्ता भएका हुन् ।
चालु आव २०७५/०७६ को मंसिर १८ गतेसम्म १ सय ४२ मुद्दा परेका छन् भने २२ मुद्दाको फैसला भइसकेको छ । जसमध्ये घरेलु हिंसाका ४, बोक्सी आरोप, माना चामल, छुवाछुत र बालविवाह सम्बन्धी १/१ वटा मुद्दा दर्ता भएका थिए । भने जबरजस्ती करणीका २२, जबरजस्ती करणी उद्योगका १९, सम्बन्ध विच्छेदका २४ र अंश सम्बन्धी ६९ वटा मुद्दा दर्ता भएको छ ।
त्यस्तै २०७४ साउनदेखि २०७५ मंसिर १६ गतेसम्म ३ जना बादी समुदायका महिला न्यायको लागि अदालतसम्म पुगे । १ जना सम्बन्ध विच्छेद, १ जना कुटपिट र १ अंश गरी ३ जना वादी महिलाले मुद्दा दर्ता गराएको जिल्ला अदालत कैलालीले जनाएको छ ।
इन्सेक क्षेत्रीय संयोजक खडकराज जोशीले हिंसा पीडित महिलाहरू अझै पनि खुलेर बाहिर आउन नसकेको बताए । जसका कारण उनीहरू थप पीडा खेप्न बाध्य भएको उनको भनाइ छ । पीडित महिला परिवार, समाजको लागि बाँच्नु भन्दा स्वयम् आफ्नो लागि बाँच्नुपर्छ भन्ने आँट र हिम्मतका साथ बाहिर आउन सके पीडित महिलाहरू हिंसामुक्त जीवन बाँच्दै आफूलाई परिवर्तनका सम्वाहक बनाउन सक्ने संयोजक जोशीको बुझाइ छ ।
‘महिला पनि स्वतन्त्र र पहिचानका साथ बाँच्न चाहान्छ । उत्पीडनमा बाँच्न चाहन्न,’ उनले थपिन, ‘हिंसा नै स्वन्तत्राको बाधक हो । हिंसा मुक्त भएमा मात्रै हरेक क्षेत्रमा उ अगाडि बढ्न सक्छ । हरेक क्षेत्रमा समान सहभागिता जनाउन सक्छ । एउटा महिला सक्षम भएपछि नै परिवार, समाज र देश बन्ने हो नि !’
लामो समयदेखि महिला अधिकारको क्षेत्रमा क्रियाशील अधिकारकर्मी सावित्रा घिमिरे कुनै पनि महिलाले हिंसाबाट मुक्त हुन पाउनु उसको संवैधानिक अधिकार हो भन्छिन् । महिलाको विकास, स्वतन्त्रता र पहिचान तथा सम्मानजनक सहभागिताको लागि उ सर्वप्रथम हिंसा मुक्त हुनुपर्ने उनको धारणा छ ।
‘महिला पनि स्वतन्त्र र पहिचानका साथ बाँच्न चाहान्छ । उत्पीडनमा बाँच्न चाहन्न,’ उनले थपिन, ‘हिंसा नै स्वन्तत्राको बाधक हो । हिंसा मुक्त भएमा मात्रै हरेक क्षेत्रमा उ अगाडि बढ्न सक्छ । हरेक क्षेत्रमा समान सहभागिता जनाउन सक्छ । एउटा महिला सक्षम भएपछि नै परिवार, समाज र देश बन्ने हो नि !’
अधिवक्ता डा. जानकी तुलाधर पीडितहरूलाई कानूनी उपचार, न्यायको अनुभूति हुनु एकदमै जरुरी रहेको बताउँछिन् ।
पीडितलाई कानूनी न्याय मात्रै अर्थपूर्ण न्याय नभएकोले त्योसंगै परिपुरण, पुनस्र्थापना गरिनुपर्ने बताउँदै उनले पीडितलाई परिवार, समाजले हेर्ने दृष्टिकोण राम्रो बनाएमा मात्रै पीडितहरूको हिंसापछिको जीवन सार्थक हुने उनले औल्याइन् ।
समय–समयमा जीवन उपयोगी सीपवारे परामर्श र रोजगारीको अवसरले पनि हिंसापीडितको जीवन सफल हुने भन्दै डा. तुलाधर भन्छिन्, ‘त्यो भन्दा पनि ठूलो कुरा त पीडामा रहेका महिलाहरूले म हिंसा सहन्न भन्ने हिम्मत जुटाउनुपर्छ । उनी बलियो भए कसैको केही लाग्दैन । हिम्मत हुने मान्छे संसारमा कहीँ हार्दैन ।’
(लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानका अवसरमा संचारिका समूह र ‘सही हो’ अभियानको सहकार्य ।)