निर्मला हत्याकाण्ड/कुखुरा चोर विशाल चौधरी र प्रदिप रावल निर्दोष/एसपी कारवाहीमा पर्न सक्ने

Wednesday, 19 December 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

काठमाडौं:= कञ्चनपुरको भीमदत्तनगर–२ कि १३ वर्षीया किशोरी निर्मला पन्तको हत्या अनुसन्धानमा क्रममा पक्राउ परेका प्रदीप रावल र विशाल चौधरीको डीएनए नमिलेको पाइएको छ । स्रोतका अनुसार निर्मलाको शरीरबाट निकालिएको ‘स्वाब’सँग उनीहरुको डीएनए नमिलेको हो । केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) को टोलीले प्रदीपलाई मंसिर २० मै काठमाडौंमा पक्राउ गरेको थियो भने विशाललाई मंसिर २१ मा कञ्चनपुरबाट काठमाडौं ल्याइएको थियो । 

स्रोतका अनुसार मंगलबार र वा बुधबारसम्म जिल्ला सरकारी वकिलको कार्यालय कञ्चनपुरमा प्रदीप र विशालको डीएनए रिपोर्ट खोल्ने तयारी छ । निर्मला हत्या अनुसन्धानका क्रममा हालसम्म कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज विष्टसहित १० जना बढीको डीएनए परीक्षण गरिएको थियो । 

पछिल्लो समय ‘भेजिनल स्वाब’ संकलन प्रक्रिया नै गलत त थिएन भन्ने प्रश्नसमेत उठ्न थालेको छ । सरकारका लागि निकै दबाबको घटनाको रुपमा आएको निर्मला हत्याकाण्ड झन् पेचिलो बन्दै गएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी कुवेरसिंह कडायतले डीएनए प्रोफाइल रिपोर्ट शिलबन्दी गरेर ल्याउन कञ्चनपुरबाट काठमाडौं एक प्रहरी पठाइएको जानकारी दिए । ‘‘रिपोर्टमा के छ भन्ने सरकारी वकिलको कार्यालयमा खोलिएपछि मात्रै थाहा हुन्छ । रिपोर्ट कार्यालय समयमै आइपुगे मंगलबार नभए बुधबारसम्म सरकारी वकिलको कार्यालयमा पेश गर्छौं ।’’ प्रदीपको डीएनए प्रहरीको विधि विज्ञान प्रयोगशाला र नास्टमा परीक्षण गरिएको थियो ।

प्रहरीसँगको बयानमा भने प्रदीप र विशालले निर्मलाको हत्या आफैंले गरेको ‘स्वीकार’ गरेका थिए । उनीहरुले सामूहिक रुपमा बलात्कारपछि निर्मलाको हत्या गरेको दाबी गरेको प्रहरी स्रोतले जनाएको थियो । ‘‘डीएनए बाहेक अनुसन्धानका कैयौं विधि र पाटा हुन्छन् । हामी सबै पक्षबारे सचेत र सतर्क छौं,’’ एक प्रहरी अधिकारीले भने । डीएनए म्याच नभएको अवस्थामा प्रदीप र विशाल छुट्छन् त भन्ने बाह्रखरीको जवाफमा सिआइबीका प्रमुख डिआइजी निरज शाहीले भने, ‘‘डीएनए रिपोर्टको बारेमा केही आएको छैन । पहिले नतिजा कुरौं । सरकारी वकिल लगायतको धारणा के रहन्छ । बाँकी कदम त्यसपछि चाल्छौं ।’’ स्रोतका अनुसार प्रदीप र विशालको ‘पोलिग्राफ’ परीक्षण पनि गर्ने प्रहरी तयारी छ । 

निर्मला हत्याकाण्डको अनुसन्धानमा क्रममा प्रहरीले अझै केही व्यक्तिलाई निगरानीमा राखिरहेको छ । अनुसन्धानमा रहेको प्रहरी टोलीसँग हत्यारासँग पुग्न चित्तबुझ्दो प्रमाण फेला परेको छैन । 

एसपी दिल्ली विष्ट पक्राउ पर्नसक्ने
निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानका क्रममा प्रमाण नष्ट गर्ने र निर्दोषलाई कडा यातना दिने प्रहरीलाई कारवाहीको माग गर्दै आमा दुर्गादेवी पन्तले प्रहरीमा जाहेरी दिएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा निर्मलाकी आमा दुर्गादेवी र दिलीप विष्टका दाइ खड्ग विष्टले जाहेरी दिएका हुन् । बर्खासीछमा परेका एसपी दिल्लीराज विष्ट, प्रहरी इन्स्पेक्टर जगदीश भट्ट र निलम्बनमा रहेका डीएसपी अंगुर जिसी, ज्ञानबहादुर सेठीलगायतका प्रमाण नष्ट गर्न सहयोग गर्ने सबै प्रहरीमाथि कारवाहीको माग गर्दै जाहेरी दिएकी हुन् ।

प्रहरी प्रवक्ता एसएसपी उत्तम सुवेदीले किटानी जाहेरी प्रहरीमा आएको पुष्टि गर्दै अध्ययन भइरहेको बताए । ‘‘निर्मलीकी आमाले उजुरी दिएकी छन् । दिएको उजुरी कानुनको परिधिभित्र पाइए जिल्ला सरकारी वकिल कार्यालयको आदेशबाट जोकोही प्रहरीलाई पनि अनुसन्धानका लागि पक्राउ गर्न सकिन्छ ।’’ खड्ग विष्टले आफ्नो निर्दोष भाइलाई यातना दिइएको भन्दै यातना दिनेविरुद्ध जाहेरी दिएका हुन् । सोमबारमात्रै तत्कालीन कञ्चनपुर प्रहरीको नेतृत्वले अनुसन्धानमा चरम लापरवाहि गरेको एआइजी धिरु बस्न्यात नेतृत्वको टोलीले बुझाएको प्रतिवेदनमा उल्लेख छ । अनुसन्धानमा क्रममा ‘म्यानुअल’ अनुसन्धान नै अन्तिम विकल्प हुन पुगेको प्रहरी अधिकारीहरु बताउँछन् । 
 

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu