थारु समुदायमा माघ (माघी) को रौनक ।(सेयर गर्नुस्)

Tuesday, 15 January 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

‘उठो अलबेली, बहारी डारो अँगना

कटे के बहर्नी, कटे के बहना

उठो अलबेली, बहारी डारो अँगना।’

अर्थात् ‘घरका जवान बुहारी उठ, आँगन बढार, कता छ कुचो, उठ बुहारी घर बढार।’ थारू समुदायको पर्व माघीको दिन घरका वृद्ध व्यक्तिले बिहानै उठेर गाउने गीत हो यो। यो गीत गाउँदै घरका मुली मान्छेले सबैलाई उठाउने चलन रहेको बताउँछन्, थारू संस्कृतीकर्मी अशोक थारू। उनका अनुसार घरका सबैभन्दा वृद्ध व्यक्तिले यो गीत गाउँदै अघि लाग्ने र उनको पछिपछि गाउँभरिका युवा, महिला, वृद्धाहरू उनको पछि लागेर मादल र खैजडी बजाएर नाच्दै खोलामा नुहाउन जाने प्रचलन थारू बताउँछन्। ‘हाम्रा पौराणिक तौरतरिका बिस्तारै दुर्लभ हँुदै गएको छ, जुन थारु समुदायको लागि निकै दुःखको कुरा हो,’ उनले भने।

पुसको अन्तिम दिन र माघको पहिलो दिनलाई थारू समुदायले आर्थिक वर्षको रूपमा निकै महŒवका साथ मनाउने गरेको उनी बताउँछन्। माघीमा ‘ढुम्रु’ गाइने प्रचलन रहेको उनले बताए।  ढुम्रु थारू समुदायको लोकगीत रहेको र माघीको समयमा मात्र गाइने उनले जानकारी दिए।
‘ढुम्रु गीतमा देवीदेउताका स्मृति, माघीको बारेमा, जीवनका पीरवेदनालगायत समग्र विषयवस्तु समेटेर गाउने गरिन्छ,’ उनले भने।उनी भन्छन्, ‘कमलहरी राख्ने समयमा माघीलाई मुक्ति पर्वको रूपमा मनाउने गरिन्थ्यो। तर, अहिले कमलहरी प्रथा हटिसकेको छ। यो हामी समग्र थारू समुदायको लागि खुसीको कुरा हो, अहिले माघी हाम्रो लागि महान पर्वको रूपमा मनाइन्छ,’ थारू समुदायमा माघ महिनापछि गर्मी महिनाको सुरुवात हुने जनविश्वास रहेको र माघीलाई विशेष बनाएको उनले बताए। माघीमा थारू समुदायमा पकाइने पकवानहरूको विशेष महत्व रहेको उनको भनाइ छ।

उनी भन्छन्, ‘माघीमा अन्य परिकारसँगै अनधीको गुरी गुरी जाँड विशेष खाने प्रचलन छ, घरमा नै घ्याम्पोमा राखेर तयार गरिएको अनधिको झोल माघीमा अनिवार्यजस्तै हुन्छ।’ थारू समुदायमा पुसको अन्तिम दिन गाउँमा कसलाई कति मासु चाहिने भन्ने सल्लाह गरिने उनी बताउँछन्। माघीको दिनमा घरका सम्पूर्ण परिवारहरू बहरी (बैठक कोठा) कोठामा भेला भएर, विभिन्न परिकारहरूसँगै खाएर मनाउने गरेको उनले बताए।

थारू समुदायको घरमा बहरीको महत्व धेरै रहेको उनी बताउँछन्। खानपान र नाचगानबाहेक थारू समुदायमा माघीको विशेष महŒव रहेको थारू समुदायको संस्कृत अभियन्ता अशोक थारू बताउँछन्। माघीको विशेषतामध्य गाउँमा महतवाँ (बरघर) चुन्ने समय विशेष रहेको उनको भनाइ छ। विगतका दिनहरूको समीक्षा गर्ने र आगामी दिनहरूको विषयमा सल्लाह गर्ने दिनको रूपमा मनाइने उनी बताउँछन्।कञ्चनपुरका इन्द्र चौधरी रंगकर्मी हुन्। उनी रंगकर्मीको रूपमा काम गर्न सुरु गरेको तीन वर्षभन्दा बढी भइसकेको छ। उनी अहिले भर्खरै थारू भाषाको नाटक ‘करोट’ सकेर बसेका छन्।

उनले थारू भाषाको चलचित्र ‘भुरभुरा रहर’मा मुख्य पात्रको रूपमा अभिनय गरेका छन्। रंगकर्मी इन्द्र यो वर्षको माघी भने काठमाडौंमा नै मनाउने योजनामा रहेको बताउँछन्। ‘भुरभुरा रहरको टिमसँग यो वर्षको माघी मनाउने कार्यक्रम छ,’ उनले भने। माघी पर्व थारू समुदायको महान चाड हो। हरेक वर्ष काठमाडौंको टुँडिखेलमा जम्मा भई माघी मनाउने उनी बताउँछन्। उनी भन्छन्, ‘हाम्रो समुदायमा माघीलाई नयाँ वर्षको रूपमा स्वागत गरेर मनाइन्छ। थारू समुदायको सांस्कृतिक पहिचान हुने गरि सद्भावका साथ मनाउँछौ।’

थारू जातिका थरीथरीका परिकारहरू खानु, थारू संस्कृति झल्कने पोसाकमा सजिनु, थारू भाषाका गीतमा नाच्नु माघीको विशेषता रहेको उनले बताए। काठमाडौंको टुँडिखेलमा आफन्त, साथीभाइसँग शुभकामना आदानप्रदान गर्दै विभिन्न सांस्कृतिक कार्यक्रम गरेर मनाइएको पाइन्छ। थारू समुदाय खेतीपातीमा अग्रसर हुने भएकाले वर्षभरिको लागि अन्न भित्र्याएपछि समुदाय एक आपसमा खुसी साट्ने, वर्षभरिको गरेको मेहनतबाट पाएको फललाई स्वीकार गर्दै हर्षोल्लासका साथ माघी मनाउने गरेको पाइन्छ।

नयाँ वर्षको रूपमा मनाउने थारू समुदायको माघी पर्वमा थारू समुदायबीच भाइचारा र आत्मीयता प्रगाढ गराउने आत्मिय पर्वका रूपमा थारू समुदायले मनाउँदै आएको छ। माघीमा रमाइलो र खुसीका कुरामात्र साटासाट हुँदैन, एक आपसमा दुःख र वेदनालाई गीतमार्फत् प्रस्तुत गर्ने गरिन्छ। बानेश्वरकी सुुशीला चौधरी थारू समुदायका विभिन्न थरिका पोशाकहरूको डिजाइन् गर्छिन्। विभिन्न थारू सांस्कृतिक कार्यक्रमहरूका लागि ड्रेस बनाउन भ्याइनभ्याई हुने उनी बताउँछिन्। हरेक वर्षमा सुशीला थारु समुदायकै पहिरनमा सजिएकी हुन्छिन्। ‘यो वर्षको माघीमा आफैले तयार गरेको सांस्कृतिक थारू पोशाकमा सजिने योजनमा छु,’ उनले भनिन्। यो वर्षको माघीमा टुँडिखेल नृत्य प्रस्तुत गरिने उनले बताइन्। उनी भन्छिन्, ‘पश्चिमेली थारू समुदायको सांस्कृतिक पहिचान देखाउने हेतुले उक्त नृत्य प्रस्तुत गरिँदैछ, त्यसैले निकै उत्साही छु।’  माघीमा पश्चिमेली थारू समुदायको दैनिकी, रहरनसहन, सांस्कृतिक नृत्यमार्फत् प्रस्तुत गर्ने कुरा निकै सकारात्मक रहेको उनले बताइन्। ‘यो नृत्य हेरेपछि पश्चिमेली थारू समुदायको बारेमा राम्रोसँग जानकारी हुन्छ,’ उनले भनिन्।

थारू समुदायको मात्र नभएर अन्य समुदायका व्यक्तिहरू पनि टुँडिखेलमा जम्मा भई थारू समुदायको खानाको परिकार, पहिरन लगाउनेको संख्या बढेको उनी अनुभव सुनाउँछिन्। बिस्तारै एकले अर्को समुदायको पहिरन, खानाको परिकार र सास्ंकृतिक चालचलनमा चासो राख्न थालेको उनी अनुभव सुनाउँछिन्। ‘यसरी एक समुदायले अर्को समुदायलाई सम्मान दिइयो भने हरेकको संस्कृति हरेकलाई थाहा हुन्छ,’ उनले भनिन्।  

थारू समुदायमा महिला–पुरुषको पोसाक फरकफरक हुने उनी बताउँछिन्। उनी भन्छिन्, ‘महिलाले प्रयोग गर्ने गरगहना धेरै हुन्छ, लुगा पनि थरीथरी हुन्छ, शिरदेखि पाउँसम्म गहनाले झकिझकाउ हुन्छ।’ थारू समुदायमा ठाउँ अनुसार गरगहना, पोसाक फरक पर्ने उनी बताउँछिन्। सामान्य तया शिरमा लगाउने मगौरी, कानमा बिज्लीबाला, घाँटीमा सुतिया, हुमेल, कन्सेहरी, हातमा तरिया, खुट्टामा लगाउने काठले बनेको पाउवा, पाउँजु थारू महिलाको शृंगार रहेको उनी बताउँछिन्। ‘माघीको दिनमा पुरुषहरू भने सेतो धोती, शिरमा टोपी, चौबन्दी, डग्ली, भेग्वा र जुत्ता वा पौवा लगाउने चलन रहेको उनी बताउँछिन्।(साभार :- नागरिक दैनिक बाट)

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu