थारु कलाकारलाई भ्याइनभ्याइ

Tuesday, 15 January 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}


क्रमश : दर्पण कुसुम्या, समीक्षा चौधरी, राज चौधरी, श्रीनिवास चौधरी।

कृष्णराज सर्वहारी,,
काठमाडौं : डेढ दशक टेलिभिजन र रेडियो पत्रकारिता गरेका सञ्चारकर्मी श्रीनिवास चौधरी अहिले पेसा नै युटर्न गरी गायनतिर लागेका छन्। पाँच वर्षपहिले बुटवलको लुम्बिनी टेलिभिजनबाट काम छाडेका श्रीनिवास केही व्यवसाय गर्छु भनेर कपिलवस्तु घर आए तर घरमा बस्न पाएनन्। विभिन्न मेला महोत्सवमा लाइभ गायनको अफर आउन थालेपछि उनले त्यसैलाई पेसा बनाएका हुन्।

अहिले थारू समुदायको नयाँ वर्ष माघीको अवसरमा थरुहटका विभिन्न क्षेत्रमा माघी महोत्सव हुन थालेको छ। यो महोत्सवमा गायक श्रीनिवासजस्ता गायकलाई भ्याइनभ्याइ छ। स्वदेश मात्रै होइन, विदेशबाट समेत मञ्चमा प्रस्तुति दिन थारू कलाकारलाई निम्ता आउन थालेको छ।

गायक श्रीनिवास पुस २४ गते रूपन्देहीको कञ्चन गाउँपालिका भैसाहीमा प्रस्तुति दिएर काठमाडौं दौडिए। पुस २५ देखि २९ सम्म यूएईको दुबईमा थारू कल्याणकारिणी सभाले आयोजना गरेको माघी महोत्सवको कार्यक्रममा निम्त्याइए। स्वेदश फर्किएलगत्तै पुस ३० गते कपिलवस्तुको हथौसा, बुड्डी त्रिपाल नगर र भगवानपुर गरी चार ठाउँमा प्रस्तुति दिए। उनलाई माघी मान्न पनि फुर्सद छैन। माघ १ गते बर्दियाको बाँसगढी, माघ २ गते राजापुर, माघ ३ गते चितवन, माघ ४ गते तथा माघ ५ देखि ८ सम्म बाँसगढीमा उनको प्रस्तुति छ।

कैलाली, लम्कीकी गायिका समीक्षा चौधरी पनि अहिले विभिन्न मेला महोत्सवमा निम्त्याइने रोज्जाको कलाकारमा पर्छिन्। भर्खर भारतको श्रावस्तीमा सांगीतिक प्रस्तुति दिएर फर्किएकी उनलाई विभिन्न स्थानमा भइरहेको माघी महोत्सवमा समय मिलाउन हम्मेहम्मे छ। भन्छिन्, ‘आफ्नै गृहजिल्ला कैलालीमा भइरहेको कार्यक्रमलाई पहिलो प्राथमिकता दिएकी छु।’

कैलालीका अर्का गायक रामकुमार कठरिया दृष्टिविहीन छन्। कहीँ जाँदा अरूको सहारा चाहिने मीठो स्वरका धनी उनलाई गायन पेट पाल्ने बाटो भएको छ। थारू गीतमा पप गीत भित्र्याउने श्रेय पाएका उनी आफूले गाउने गीत पनि आफैं रचना गर्छन्।

दुबईमा रोजगारीमा जानुअघि राज चौधरीले पाँचवटा गीतिक्यासेट निकालेका थिए। त्यहाँ एक दशक बेकरी सपमा काम गरेर हाल धनगढीमा कफी सप खोलेका छन् उनले। तर, समयसमयमा परिवारका अरू सदस्यलाई बेकरी जिम्मा लगाएर उनी पुनः गायनका लागि भागदौड गर्छन्। हालै कैलालीको भादा होमस्टे महोत्सवमा उनले राम्रै मञ्च तताए।

दर्पण कुसुम्याले बर्दियाको खातामा होटल खोलेका छन्। तर, होटलमा उनको बसाइ महिनामा दुई साता मात्रै हुन्छ। विभिन्न मेला महोत्सवमा उनलाई गायनका लागि आउने अफरले होटल श्रीमतीले सम्हाल्छिन्। दर्पण भन्छन्, ‘ श्रीमतीले होटलमा कमाएको भन्दा त बढी हुन्न। तर गायनमा पनि आयोजक हेरी राम्रै पारि श्रमिक पाउन थालेका छौं।’

एउटा कार्यक्रममा दुई दिन प्रस्तुति दिएर सामान्य जागिरको मासिक तलब थाप्ने माहोल भएपछि थारू गायकगायिका हौसिएका छन्। नयाँनयाँ गीत रेकर्ड भएर युट्युबमा धमाधम आइरहेका छन्। थारू राष्ट्रिय कलाकार संघका अध्यक्ष विनय वैद्य चौधरी भन्छन्, ‘थारू गायकहरू गीत गाएर बाँच्ने माहोल बन्दै गएको छ।’

काठमाडौंमा हुने माघी महोत्सवमा भने थारू कलाकारको आकर्षण देखिँदैन। ‘काठमाडौंमा आउजाउमै समय सकिन्छ। आफ्नै जिल्लामा तानातान भएपछि उतै प्राथमिकतामा पर्छ’, गायिका समीक्षा भन्छिन्।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu