धनगढी:= परस्पर विरोधी थरुहट/थारुवान र अखण्ड सुदूरपश्चिम आन्दोलनको क्रममा घटेको टीकापुर घटना मुद्धामा बुधबार देखि बहस सुरु भएको छ ।
जिल्ला अदालत कैलालीका न्यायधिश पर्शुराम भट्टराईको एकल इजलासमा सो मुद्धावारे वादी र प्रतिवादी पक्षका कानून व्यवसायीहरुबीच बहस सुरु भएको हो । मुद्धाको बहस झण्डै ४२ महिनापछि सुरु भएको छ ।
२०७२ भदौ ७ गते थरुहट आन्दोलनकारीहरु सरकारी कार्यालयमा ‘थरुहट प्रदेश’ भित्ते लेखनको लागि टीकापुरमा भेला भएका थिए । यसैबीच भित्ते लेखनमा प्रहरीबाट अबरोध भएपछि उत्तेजित आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा ८ प्रहरीसहित १ नाबालकको ज्यान गएको थियो ।
घटना घटाएको अभियोगमा ५८ जना विरुद्ध डाँका चोरी, कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग अन्तरगत मुद्धा दायर भएको छ । ५८ जना मध्ये सांसद रेशम चौधरी, थारु नेता लक्ष्मण थारु, लाहुराम चौधरीसहित २७ जना हाल हाल पुर्पक्षको लागि थुनामा छन् भने बाँकी फरार छन् ।
जिल्ला अदालत कैलालीका श्रेष्तेदार इन्द्र कठायतले मुद्धाको बहस नियमित पेशीमा चढेकोले चाँडै फैसाला हुने बताए । वादी र प्रतिवादी पक्षका कानून व्यवसायीबीच बहस केही दिनसम्म जारी रहने समेत उनको भनाई छ ।
वादी तर्फबाट जिल्ला न्यायधिवक्ता विष्णु पौडेललगायत र प्रतिवादी तर्फबाट वरिष्ठ अधिवक्ता गोपाल प्रसाद घिमिरे, अधिवक्ता हरि फुयाँल, मिलन राई, गजेन्द्र बहादुर केसी, गंगाराम उपाध्याय, गम्भीर सिंह ऐर, जोहारीलाल चौधरी, नाथुराम महतो, वीरबहादुर जेठारालगायतले बहस गरिरहेका छन् ।