सन्तकुमार चौधरी,,
चितवन:= दलितकी छोरीसँग भागी विवाह गरेकै कारण चितवनको एउटा परिवार सामाजिक बहिष्करणमा परेका छ । कालिका नगरपालिकाको वडा नं. ५ भीमपुर बस्ने प्रेम प्रसाद पौडेलका जेठा छोराले परियार थरकी युवतीसँग भागेर विवाह गरेका कारण सिंगो परिवार सामाजिक बहिष्करणमा परेका हुन् ।
पौडेलका तीनभाइ छोरा छन् । जेठा छोरा सुजन पौडेलले एकवर्ष अघि घर नजिकैकी अस्मिता परियार सँग भागी विवाह गरेपछि पौडेलका परिवारलाई समाजले बहिस्कार गरेका हुन । पौडेलका कान्छा छोरा एकवर्षका छन् । सामाजिक बहिष्कारकै कारण कान्छा छोराको न्वारन समेत हुन सकेको छैन् ।
दलितसँग उठबैश भयो भन्दैै छरछिमेकहरु पौडेलको घर आउन छाडेका छन् । नियमित पुजापाठ गर्न आउने पंण्डीत समेत पुजापाठ गर्न आउन छाडेका छन् । नागपञ्चमीमा यो वर्ष पौडेलको घरमा नाग टासिएन । पंण्डीत नै नआएपछि बुबाको श्राद्ध समेत रोकिएको प्रेम प्रसाद पौडेलले सुनाए ।
उसो त पौडेलका जेठा छोराले आफुखुशी विवाह गरेकी केटीलाई घर भित्र्याएका छैनन् ।
उनीहरु भरतपुरमा डेरागरी बस्दै आएका छन् । सामाजिक बहिष्करणमा पर्ने डरले नै पौडेल परिवारले छोरा बुहारीलाई एकवर्षदेखि घर भित्र्याउन नसकेको हो । पौडेलका आफन्तहरु समेत आउन छाडेका छन् । गाउँघरमा हुने विवाह वा कुनै उत्सवमा समेत उनीहरुलाई निम्तो आउन छाडेको छ । पौडेल परिवारलाई बहिष्कार गर्नेमा सबै भन्दाबढी ब्राह्मण र क्षेत्री समुदायका छन् । दलितको घरमा बसेर सँगै खाना खाएको उनीहरुमाथी आरोप छ ।
पौडेलकी भान्जी बुहारी आशा थापाले मावाली परिवारमा समाजले अन्याय गरेको बताईन् । भान्जी बुहारी आशाको घर पौडेलकै घरसँग जोडिएको छ । विगत एकवर्षदेखि समाजले विभेद गर्दै आएको बताईन् । सबै जातजाति मिलेर बसेको गाउँमा दलितसँग उठबैस गरेकै आरोप लगाएर समाजले बहिष्कार गर्न नहुने सुनाईन ।
यो विषय टोल सुधार समिति हुँदै वडा कार्यालय सम्म पुगेको छ । तर पनि पौडेल परिवारलाई समाजले हेर्ने दृष्टीकोण परिवर्तन गराउन कहिकतैवाट प्रयास भएको छैन । नेपालको ऐनले सामाजिक बहिष्कारलाई अपराध मान्दछ । कुनै व्यक्ति वा परिवारलाई सामाजिक बहिष्कार गरेर ठहर भएमा ५ वर्ष सम्म कैद वा ५० हजार रुपैयाँ सम्म जरिवाना हुन सक्ने उल्लेख छ ।