संसदमा विचाराधीन रहेको नागरिकता विधेयकको मधेस केन्द्रित दलहरूले धेरै चासो दिएका छन् । उनीहरूले विधेयकलाई खुकुलो बनाएर तराईका जनतालाई नागरिकता दिनुपर्ने माग गर्दै आएका छन् । विशेष गरेर मधेस केन्द्रित दलहरू भारतीय महिला जो नेपालमा विवाह गरेर आउँछन् उनीहरूलाई सजिलै नागरिका दिनुपर्ने पक्षमा छन् । यो मागलाई धेरैले रुचाएका छैनन् । यसै विषयमा दैनिक नेपालका सञ्चारकर्मी विमल योगीले सत्तारुढ नेकपाकी सांसद गंगा चौधरीसँग गर्नुभएको कुराकानीको सम्पादित अंश:
तपाईले किन नागरिकता सम्बन्धी विधेयकको विरोध गर्नुभएको छ ? पार्टी नीति विपरित बोल्न मिल्छ ?
नेपालको छिमेकी राष्ट्र भारतसँग रोटीबेटीको कुरा छ । हम्रो चेलीहरू भारतमा विवाह गरेर जान्छन् । तिनीहरूले सधैँ नागरिकताको लागि छटपटाइ राख्नुपर्ने अवस्था छ । तिनीहरूको लागि नागरिकता लिन १५ वर्ष लाग्छ । उदाहरणको लागि सोनिया गाँन्धी अंगिकृति नागरिक भएकै कारणले प्रधानमन्त्री बन्न पाएकी छैनिन् । हाम्रो देशमा यस्तो संवेदनशील अवस्थामा नागरिकता किन खुकुलो बनाउने ? नागरिकता वितरणको क्षेत्राधिकार तोकिनुपर्छ । विवाह गरेर आउने चेली वा बुहारीलाई पनि १५–२० वर्षसम्म नागरिकता दिइनु हुँदैन । उदाहरणका लागि भनौँ मेरो छोरा छ । बुहारी पनि आउँछिन् । मेरो बुहारी बाहिरी देशबाट आयो भने उसले पनि १५ वा २० वर्षमा नागरिकता पाउनका लागि कुर्नु पर्यो । प्रक्रिया जानु पर्यो । विदेशी ज्वाइँको कुरामा उदाहरणको लागि मलाई थाहा छ उ विदेशी नागरिक हो । म विदेशी नागरिक हो भन्दाभन्दै प्रेम वा विवाह गरेपछि त्यही देशको नागरिक हुन्छ नि । होइन र ? त्यो अर्को देशको नागरिक अर्थात ज्वाइँलाई नेपाली नागरिक किन बनाउने ? किन नेपाली नागरिकता दिने ? दिनु हुँदैन । तिनीहरूलाई कुनै पनि हालतमा नागरिकता दिनु हुँदैन । सरकारले अन्तरिम संविधानमा नागरिकता ऐन ल्याएको थियो । त्यसलाई यथाशीघ्र खारेज गरिनुपर्छ । अन्तरिम संविधानलाई टेकेर त्यस बेला ४०–५० लाखलाई नागरिकता दिइएको छ । त्यस बेला वितरण गरिएको नागरिकता खारेज गरिनुपर्छ । आफू लोकप्रिय हुन र निर्वाचनमा जित्नका लागि ०६२–६३ को आन्दोलनपछि अन्तरिम संविधानमा नागरिकताको खुकुलो व्यवस्था राखेर वितरण गरिएको नागरिकता खारेज गर्नुपर्छ ।
एनजिओ र आइएनजिओ तथा मधेस केन्द्रित दलले नागरिकताको व्यवस्था खुकुलो बनाउन मागेका छन् । बाबु नभएकालाई आमाको नामबाट वंशजको नागरिकता दिनुपर्छ भनेका छन् यो के हो ? विदेशी नागरिकको गर्भबाट जन्मिएको बच्चालाई वंशजको नागरिकता मागेका छन् नि ?
त्यो कुरा पनि बुझ्नु पर्छ उनीहरूले । जसले यस्ता कुरा उठाइ रहेका छन् । उनीहरूको कुनै न कुनै रिलिशन हुन्छ । रिलेशन नभइकन उनीहरूले हचुवाको भरमा यो कुरा उठाउँदैनन् । त्यस्तालाई नागरिकता दिनु हुँदैन । विदेशी नागरिकको गर्भबाट जन्मिएको बच्चालाई वंशजको नागरिकता दिनै हुँदैन । राष्ट्रियतामाथि खतरा हुन्छ । त्यो सन्तान पनि त विदेशी हो नि ।
नेपाली महिला स्वदेशमै छिन बलात्कार वा परपुरुषसँग अबै यौनसम्बन्ध बच्चा जन्मियो भने त्यस्तालाई नागरिकता दिने कि नदिने ? त्यसलाई त संविधानले व्यवस्था गरिसकेको छ । नागरिकतोका धारामा गरिएको व्यवस्थाअनुसार उनीहरूले नागरिकता पाउँछन् । यसमा धेरै बखेडा गर्नुपर्दैन । उनीहरूले आमाको नामबाट नागरिकता पाउँछन् ।
तपाईहरूको पार्टी नेकपा र संघीय फोरमको गरेर दुई तिहाइभन्दा धेरै बहुमत छ । तपाईको पार्टी नेतृत्वको सरकारले नागरिकता विधेयक ल्याएको छ । विरोध गर्नुभएको छ । पार्टीले तपाईलाई कारबाही गर्दैन ?
विधेयक पारित भए पनि संविधान विपरितका व्यवस्था राखिनु हुँदैन । कि संविधान संशोधन गरेर परिवर्तन गर्नुपर्छ । होइन भने संविधानसँग बाझिने गरेर कुनै पनि ऐन कानून बनाइनु हुँदैन । संविधान र ऐन बाझिने काम गरिनु हुँदैन ।
नेपालमा नागरिकता वितरणको व्यवस्था खुकुलो बनाएर जाँदा तपाईलाई किन टाउको दुख्यो ?
यो नागरिकताको कुरा सामान्य विषय होइन । खुला सिमाना रहेको भारतमा एक सय करोडभन्दा धेरै जनसंख्या छ । त्यहाँको एक प्रतिशत मान्छे नेपालमा आउँदा पनि हाम्रो जस्तो सानो मुलुकमा ठूलो समस्या उत्पन्न गर्छ । नेपाल फिजिकरण हुन सक्छ । सिक्किमीकरणमा जान सक्छ । म नेपाल नागरिक हुँ । राष्ट्रप्रति माया छ । मेरो टाउको धेरै दुःखेको छ । जति पनि कुरा उठाइ रहेका छन् । जो पनि आएका छन् । मिडियामा पनि आइरहेको छ । नाम किटान नगरुँ । तिनीहरूको कुनै न कुनै तरिकाबाट विदेशीहरूसँग रिलेशन छ । कसैको ज्वाइँ होला । कसैको हुनेवाला बुहारी होलिन् । तिनीहरू नागरिकतामा बखेडा झिकी रहेका छन् ।
मधेस केन्द्रित दलहरूले विवाह गरेर आउने बुहारीलाई अर्को दिन नागरिकता दिनुपर्छ भनेर माग गरेका छन् नि ? तपाईले किन विरोध गरिरहनु भएको छ ?
मधेस केन्द्रित दलहरूले माग गरेअनुसार विदेशी बुहारीलाई नागरिकता कुनै पनि हालतमा दिइनु हुँदैन । हामीले भारतबाट बुहारी ल्याउँदा तत्काल नागरिकता दिने । तर, भारतले नेपाली चेलीलाई नागरिकता १५–२० वर्षसम्म नागरिकता नदिने । उसले पनि नेपालमा मधेस केन्द्रित दलहरूले माग गरेअनुसारको व्यवहार गर्न सक्छ ? सक्दैन । भारत मात्रै होइन अरु देशले पनि नेपालमा जसरी नागरिकता सजिलै दिँदैनन् । हामीले किन उदार बनेर नागरिकता दिने ? विदेशी बुहारीलाई संवैधानिक पदमा जाने बाहेकका सबै अधिकार त पाएकै छन् ।
एनजिओहरूले नागरिकतामा कडा व्यस्वस्था नराख्न माग गरेका छन् नि ?
नागरिकतामा एकदमै कडा व्यवस्था राखिनुपर्छ । एनजिओले मागेअनुसारको व्यवस्था गर्नै हुँदैन । नागरिकतामा एनजिओहरूको निहीत स्वाथ लुकेको छ । नेपालको राष्ट्रयता र नेपाली समाज तथा संस्कृतिमा उनीहरूले नागरिकतामार्फत बिग्रह ल्याउन चाहन्छन् । नेपाली नागरिकता प्यारो हुने महिला वा पुरुषलाई किन विदेशीसँग विवाह गर्नुपर्यो ?
नेपालको राष्ट्रयता र नेपाली समाज तथा संस्कृतिमा उनीहरूले नागरिकतामार्फत बिग्रह ल्याउन चाहन्छन् । नेपाली नागरिकता प्यारो हुने महिला वा पुरुषलाई किन विदेशीसँग विवाह गर्नुपर्यो ? नेपालकै माया छ भने नेपालीभित्र विवाह गर्न सकिन्छ । तिनीहरूलाई थाहा छ कि म विदेशी बन्न जाँदै छु भन्ने थाहा हुँदा हुँदै नेपालको नागरिका किन खोज्नु पर्यो ? मेरो टाउको त्यहाँ दुःखेको छ । मेरा नातेदारहरू अमेरिका, युरोप, भारतलगायतका देशमा छन् । विवाह गरे पनि गएका छन् । मेरै छोरीको नन्द पनि विवाह गरेर विदेशमा गएकी छिन् । तर, उनी थारु भएकै कारण विदेशी ज्वाइँलाई लिएर नेपालमा मेरो पतिलाई पनि नागरिकता देउ भनेर नेपालमा नागरिकता खोज्न आएकी छैनन् । विदेशी ज्पाइँ र बुहारीलाई नेपालमा नागरिकता खोज्नुको कारण के हो ? ती एनजिओवाला अधिकारकर्मीहरूले जवाफ दिनुपर्छ ।
तपाईहरूको विरोध भए पनि नागरिकता विधेयक संसदबाट पारित हुन्छ । किन विरोध गर्नु हुन्छ तपाईले अनावश्यक ? तपाईलाई पार्टीले कारबाही गर्ला नि ?
म त नागरिकता खुकुलो बनाउने विधेयकको विरोधमा म त संसदमै बोल्छु । विरोधमा बोल्दा पार्टीले कारबाही गर्छ भने गरोस् । जहाँसम्म मलाई लाग्छ राष्ट्रियताका विषयमा बोल्दा मलाई पार्टीले कारबाही होइन सम्मान गर्छ । म नेपाली नागरिक हुँ । राष्ट्रप्रति माया छ । जथाभावी रुपमा हामीले नागरिकता बाँड्दै गयौँ भने हाम्रो देशको अस्तित्व अन्त्य हुन्छ । सिक्किम जस्तै हुन्छ । मेरो देशलाई सिक्किम जस्तो बनाएको हेर्न चाहँदैन ।
नागरिकताको विषयमा तपाई तपाई राष्ट्रवादी देखिनु भयो ?
म यही भूमिमा जन्मिए । यो भूमिको माया नगरिकन मेरो उन्नती हुँदैन । म अरु जस्तो होइन । मेरा छोरा वा छोरी भारतमा जान्छन् र विवाह गर्छन् भने उनीहरूको नागरिकताका लागि म रोइकराइ गर्दैन ।
एनजिओवाला महिला अधिकारकर्मीले तपाईको आलोचना गर्लान् नि ?
उनीहरूसँग मेरो कुनै सरोकार छैन । म राष्ट्रवादी व्यक्ति हुँ । राष्ट्रहित विपरित वा विरुद्ध कुनै पनि गतिविधि गछन् भने म चुप लागेर बस्दैन आवाज उठाउँछु । एनजिओहरूले मलाई गाली गरेर केही हुँदैन । हामीले हाम्रो दशको नागरिकलाई कस्तो कानून चाहिएको छ त्यसअनुसार काम गर्नुपर्छ । विदेशीलाई हित हुने गरेर कुनै पनि काम गर्नु हुँदैन ।