काठमाडौं := संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई साइकलमन्त्री भएको भन्दै कडा आलोचना गरिईएको छ । लोकसेवा आयोगको विज्ञापन संविधानको मर्म विपरित भएको भन्दै आन्दोलनमा रहेका आदिवासी जनजाति, थारु, मधेशी, मुस्लिम, महिलाले संयुक्त रुपमा गरिएको धर्ना कार्यक्रममा थरुहट/थारुवान राष्ट्रिय आन्दोलन तयारी समितिका सचिवालय सदस्य तथा युवा नेता ओम महतोले उक्त कुरा बताउनु भयो ।
महतोले राज्य व्यवस्था समितिले विज्ञापन समावेशी नभएको भन्दै रद्द गर्न निर्देशन दिदा समेत मन्त्रीले अटेर गरेको भन्दै नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताए। नेपाल बहुजातीय मुलुक भएकोले सबै जाति, भाषा, धर्म, संस्कारलाई राज्यले समान व्यवहार गर्न नचाहेको भन्दै सरकार एकल जातीय, नश्लीय चिन्तन भएको भन्दै आक्रोस ब्यक्त गर्नुभयो ।
हामीले नेपाल भित्र नै आफ्नो अस्तित्व खोजेका छौँ, हामीले पहिचान खोजेका छौँ हामीलाई नजरअन्दाज गर्दै पाखा लगाउने काम भए गाउँगाउँबाट युवाहरु आएर सिंहदरबारमा आगो लगाउने भन्दै सरकारलाई सचेत गराउनुभयो । सरकारले सबै समुदायलाई समान व्यवहार गरेको भए आज हामी पनि समृद्धिको अभियानमा जोडिएका हुनेथियो तर नश्लीय सरकारले देशमा द्वन्द निम्त्याउने प्रयास गर्दैछ हामी सचेत हुन जरुरी छ भनेर बताउनुभयो ।

