सुदुरपच्छिमको पहाडी समुदायमा प्रख्यात कुप्रथा " छाउपडी " बारे थारु समुदाय बेखबर ।

Friday 12 July 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
टीकापुर:=सुदूरपश्चिमका पहाडी जिल्लामा छाउपडी कुप्रथा व्याप्त छ । कैयौं महिलाले महिनावारीको समयमा छाउ बारेका कारण अकालमा ज्यान गुमाएका छन । यो क्रम अझै रोकिएको छैन ।
छाउपडी कुप्रथाको असर तराईका कैलाली र कञ्चनपुर जिल्लाका पहाडी बस्तीमा समेत परेको छ । मान्छेहरु बसाई सरेर आएसँगै कुप्रथाका रुपमा रहेको छाउपडी पनि साथमा लिएर आएका छन । ग्रामीण क्षेत्रमा मात्रै हैन शहरबजारमा बस्दै आएकाहरुले समेत महिलाहरु महिनाबारी भएको बेला छाउपडी कुप्रथालाई मान्दै आएका छन् ।
पहाडी समुदायमा छाउपडी कुप्रथाले गाँजेको बेला सँगैको थारु समुदाय भने यसप्रति बेखबर जस्तै छ । थारु समुदायमा छाउपडी कुप्रथाको कुनै असर छैन । यस समुदायका महिलाहरु महिनाबारी भएको बेला छाउ बार्दैनन् । उनीहरु मध्ये अधिकांशलाई यस बारेमा थाहा नै छैन ।
टीकापुर नगरपालिका–३ घियापुछ्रीकी बलरानी चौधरी (४७) लाई अहिलेसम्म छाउ बार्ने बारेमा जानकारी छैन । उनका दुई सन्तान छन । उनले महिनावारीको समयमा छाउ बार्ने कुरा आफ्नो लागि अनौठो भएको बताईन ।
उनले यो बेलामा सरसफाईमा भने ध्यान दिनुपर्ने बताइन् । ‘महिनावारीको समयमा सरसफाईमा ध्यान दिनुपर्छ’ उनले भनिन्–‘छाउ बार्नुपर्ने हाम्रो चलनमा छैन ।’
थारु समुदायका महिलाहरु महिनाबारी भएको बेलामा समेत घरको सबै कामकाज गर्छन । उनीहरुलाई के गर्ने के नगर्ने भन्ने बारेमा कुनै रोकावट हुँदैन । टीकापुर नगरपालिका–४ छेगरखैलाकी हीरा चौधरी (४५) १३ वर्षको उमेरदेखी महिनाबारी हुन थालेकी हुन । उनको महिनावारी हुने क्रम अझै रोकिएको छैन । उनका छ सन्तान छन् ।
‘हाम्रो परम्परामै छाउ बार्नुपर्ने छैन’–उनले भनिन्–‘हामी महिनावारी भएको बेला दैनिक सरसफाई गर्छौं, घरको सबै कोठामा जान्छौं, खाना पकाउँछौं ।’
जानकी गाउँपालिका–७ गोलौरीकी २७ वर्षीया राधा महतौले थारु समुदायमा समान व्यवहार कायम रहेको बताउँदै छाउपडी कुप्रथाका नाममा छुवाछुतको समस्या नभएको बताइन् । ‘हामी महिनावारी भएको बेला सबै काम गर्छौं’–उनले भनिन्–‘देउता राखिएको घरमा छाउ बार्नुपर्छ भन्ने देखासिकी पछिल्लो पुस्ताकामा भने कहिं कतै देखिन्छ ।’
छाउपडी कुप्रथा विरुद्ध भैरहेको जनचेतनाले थारु महिलाहरु महिनावारी भएका बेला देवताको पूजास्थलमा जान्छन्, महिनावारी हुनु र देवताको पूजापाठमा कुनै सम्बन्ध नरहेको सोच थारु समुदायमा रहेको छ । ‘महिला अधिकारका क्षेत्रमा क्रियाशिल पत्रकार उन्नती चौधरी भन्छिन–‘छाउपडी प्रथाको थारु महिलासँग कुनै साईनो सम्बन्ध छैन ।’
उनले थारु महिलालाई हेरेर अन्य समुदायका महिलाहरुले समेत छाउपडी कुप्रथाका बारेमा सोच बदल्नुपर्ने बताईन । छाउपडी कुप्रथा मान्न नपरेपनि थारु महिलाको जीवनस्तर आम महिलाको भन्दा फरक छैन । अन्य कुनै अन्धविश्वासका नाममा थारु महिलाहरु समेत प्रताडित छन । थारु महिलाहरु सबैखाले कुप्रथा अन्त्यका लागि पहल हुनुपर्ने बताउँछन । नागरिक दैनिकबाट
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu