सन्त कुमार चौधरी ,,
चितवन := चितवनको राप्ती नदीमा पानीको बहाब बढ्दै गएकाले तल्लो तटीय क्षेत्र लगायत चितवनको सौराहा आसपासमा रहनुहुने सबैलाई भोली विहान सम्मका लागि सर्तक रहन बाढी पूर्वानुमान शाखाले जनाएको छ । गएरातीदेखि निरन्तर भइरहेको वर्षाले खतराको संकेत नाघेपछि बाढी पूर्वानुमान शाखाले एसएमएस मार्फत सर्तक रहन आग्रह गरेको हो ।
राप्ती नदीको बहाबले खतराको सूचक नाघेको छ । गएरातीदेखि निरन्तर भइरहेको वर्षाले राप्ती नदीमा पानीको बहाबले खतराको सूचक नाघेको हो । राप्ती नदीमा पानीको बहाब चार मिटर भन्दाबढी पुगेको छ । पानी मापन गर्न राखिएको सुचांकमा चार मिटर भन्दा कमलाई सामान्य लिइन्छ । पानीको बहाब चारमिटर पुगेलगतै खतरा हुन सक्ने संकेतको रुपमा बुझ्ने गरिन्छ । अहिले राप्ती नदीको बहाब चार मिटर ३० सेन्टिमिटर पुगेको जल तथा मौसम विज्ञान विभाग रजैयाले जनाएको छ । निरन्तर भइरहेको वर्षाले पानीको बहाब अझै बढ्न सक्ने भन्दै नदी वरपरका स्थानीयलाई सचेत रहन आग्रह समेत गरेको छ ।
नदीमा पानीको बहाब बढ्दै गएका कारण सौराहा क्षेत्रका होटल व्यवसायीहरु सुरक्षित स्थान तर्फ सामग्री सार्न थालेका छन् । सौराहाको राप्ती क्षेत्रका रेष्टुरन्ट तथा होटल व्यवसायीहरुले टेबुल कुर्चीदेखि पसलका सामग्रीहरु सुरक्षीत स्थान तर्फ सार्न लागेको रेष्टुरेन्ट एण्ड बार एशोसियसन सौराहाका अध्यक्ष गोकर्ण गिरीले जानकारी दिनुभयो । दुईवर्ष अघि राप्ती नदीमा आएको बाढीले सौराहा क्षेत्र लगायत पूर्वी चितवनको रत्ननगर र खैरहनी क्षेत्रमा डुबान भई ठूलो भौतिक क्षती पुर्याएको थियो ।
तस्विर - दीपेश चौधरी / मेरो प्राइम टिभी