उन्नती चौधरी ,,
कैलाली := थारु संस्कृति संरक्षण गर्न तथा राज्यको ध्यानकाषर्ण गर्न विगत ८ वर्षदेखि नै थारु समुदायले गुरही चोक (क्याम्पस चोक)मा गुरही पर्व कार्यक्रम संयूक्तरुपले मनाउदै आईरहेका छन् ।
थारु समुदाय आफैमा कला संस्कृतिका खानी हुन् । यो समुदाय परापूर्व कालदेखि नै विभिन्न कला संस्कृति, नाँचगान खानपिन गरि रमाईलो गर्ने गरेको इतिहास छ । उनीहरु आफै मिलेर रमाईलो गर्ने र संस्कृतिलाई जोगाई राख्ने परम्पराले हालसम्म केही संस्कृतिहरु लोप हुनबाट जोगिएको हो ।
जसमा गुरही पर्वपनि एक हो । गुरही पश्चिम नेपालका थारु समुदायले सदियौ वर्षदेखि मनाउदै आएको पर्व हो । गुरहीलाई थारु समुदायले अन्य पर्वको शुरुवात गर्ने पर्वको रुपमा पनि लिने गर्दछन् । यो पर्व कहिलेदेखि मनाउन सुरु गरियो भन्ने कुनै लिखित इतिहास छैन । तर परापूर्वकालदेखि यो पर्व नागपञ्चमीको दिनमा थारुहरुले मनाउँदै आएको थारु पुर्खाहरु र अग्रजहरु बताउँछन् ।
खेतीपाती सकिएपछि रमाइलो गर्ने पर्वको रुपमा पनि गुरहीलाई लिइन्छ । रोपाइँ सकेपछि धानबालीमा किरा नलागुन् भनेर गाँउका युवतीहरु गाँउभन्दा दक्षिणको चोकमा गई कपडाले बनाइएका स–साना गुरही (गाइने किराको प्रतिक) त्यस चोकमा असराउने (सेलाउने) गर्छन् (सेलाइएका) गुरहीलाई गाँउका युवाहरुले सजाएर ल्याएका सोटाले पिट्ने गर्दछन् । यसरी गुरही गाँउबाट पर गएर सेलाउँदा धानबालीमा किरा नलाग्ने भनाई छ ।
त्यस्तै यो पर्वलाई बालबालिकासंग सम्बन्धित पर्वको रुपमा पनि लिइन्छ । गुरही सेलाउने साना बालबालिकाहरुमा आँखा पाक्ने, ज्वरो आउने, खटिरा आउने, बान्ता हुने जस्ता रोग निको हुने गरेको विश्वास थारु समुदायमा छ । गाँउमा भएको दुख, संकट, विपत्ति भाग्ने साथै सामाजिक सद्भाव, आपसी मित्रता बढाउने पर्वको रुपमा पनि लिइन्छ ।
अहिले सम्मको ईतिहास हेर्ने हो भने थारु समुदाय अरुसंग मागेर कहिल्यै खाना जानेन् । बरु आफूसंग रहेको बाँडी चुडी खाने र भयपरि आए अरुलाई सहयोग गर्ने परिपाटि थियो । हाल सम्म पनि त्यो कयमै देखिन्छ।
थारु समुदायमा धेरै राम्रा–राम्रा कला संस्कृति छन् । जुन संस्कृति अन्जान व्यक्ति एक पटक हेर्यो भने मख्ख भएर फर्किन बाध्य हुन्छ । थारु समुदायमा विभिन्न खाले नाँचहरु छन् जस्तै सखिया, मुग्रहुवा, झुम्रा, मघौटा, दिननचुवा आदी । तर पछिल्लो अवस्थामा यी सबै नाचलाई लोप गर्ने उदेश्यले यो या त्यो नाममा हस्तक्षेप भईरहेको छ । थारु समुदायको कला संस्कृति केवल थारुहरुको मात्रै नभएर हामी सबै नेपालीहरुको हो । त्यसैले राज्य यो सवालमा गम्भिर हुनै पर्छ ।
पहिल पहिला थारु समुदायमा गुरही पर्व गाँउ–गाँउमा मनाउने गर्दथे तर विगत ८ वर्षदेखि यता धनगढीमा पनि छरिएर बसेका थारुहरु संयूक्तरुपले गुरही मनाउने गर्दछन् । छरिएर मनाउने गुरहीलाई एकैसाथ रमाइलो गरि गुरही मनाउन पर्दछ र गुरही पर्वलाई संस्थागत गर्नपर्छ भन्ने उद्येश्यले धनगढीको गुरहीचोकमा विभिन्न संघसंस्थाहरुको संयुक्त आयोजनामा गुरही मनाउन सुरुवात गरियो । पहिलेका क्यालेन्डरहरुमा गुरही पर्वको बारेमा केही उल्लेख हुदैनथियो ।
धनगढीमा संस्थागत रुपमा गुरही मनाउन थालिएपछि केही क्यालेन्डरहरुले उल्लेख गर्न सुरुवात गरे । तर थारु संस्कृति र चाडपर्वका बारेमा अध्ययन अनुसन्धाननै नगरि नागपञ्चमीको दिनमा गुरही पर्व उल्लेख नगरेर अन्य मितिमा मनमौजी तरिकाले उल्लेख गर्ने गरेको पाइएको छ । जसले गर्दा थारु समुदायमा गुरही कुन दिन मनाउने भन्ने ठूलो अन्यौलता पनि देखियो । भाग्यबस यो वर्ष भने देशभरिका थारुहरु यहि साउन २० गते नागपञ्चमीको दिनमा नै गुरही मनाउने तयारी गर्दैछन् ।
थारु संस्कृति बचाउनुपर्छ भन्ने उदेश्य बोकेर पछिल्लो अवस्थामा धेरै थारु कलाकारहरुको जन्म भएको छ । यो एकदमै राम्रो पक्ष हो । तर कहि कतै थारु समुदायको संस्कृतिलाई ओझेलमा पार्न थारु कलाकारहरु रणनीतिक रुपले प्रयोग त भई रहेका छैनन् भन्ने चिन्ता र चासो थारु अगुवा तथा बुद्धिजीविहरुमा छ । यद्यपी त्यो नहुनपनि सक्छ ।
थारु समुदायले गाउँ–गाउँमा मनाउदै आएको चाड पर्वहरुलाई संस्थागत गर्न पछिल्लो केही वर्ष यता धनगढीमा सामुहिकरुपले गुरही, चिरै भजहर, अष्टिम्की, अँट्वारी, माघ, हरेरी पुजा लगायत पर्वहरु भव्यरुपले मनाईरहेका छन् । यो पर्व मनाउदै गर्दा हरेक वर्ष थारु सम्बद संघसंस्था, थारु अगुवा, बुद्धिजीवि, नागरिक समाज, सखी गोजी, थारु पत्रकारहरुको महत्वपूर्ण योगदान छ । उहाँहरुको आर्थिक, भौतिक र बौद्धिक योगदानप्रति थारु समुदाय आफैले आफैलाई कदर गर्नैपर्छ ।
चाड पर्व नजिक आउदै गर्दा हरेक वर्ष केही थारु अगुवाहरुको टीमले राज्यलाई ध्यानाकर्षण गराउनुपर्ने अवस्था थियो । सरकारले विस्तारै सम्बोधन गरिरहेको भान हुदैछ । किनकी थारु समुदायको संस्कृति समग्र नेपालको संस्कृति हो । र राज्य वफादारी हुनै पर्छ । थारु संस्कृति पनि राज्यको सम्पत्ति भित्र पर्दछ । यहि संस्कृति हेर्न बाह्रय पर्यटकहरु ललायत छन् । राज्य यसलाई ढिलो चाँडो व्यवस्थित गर्नै पर्छ ।
सरकारले कला संस्कृतिको संरक्षण र सम्बद्र्धनकोलागि हरेक वर्ष करोडौं बजेट विनियोजन गरिरहेको हुन्छ तर थारु समुदाय विगत दुई यतादेखि मात्रै धनगढी उपमहानगरपालिकासंग गुरही पर्व मनाउनकोलागि केही रकम माग गरिरहेका छन् ।
यसरी मनाईन्छ गुरही
शुक्लपक्ष चौथीको दिन साँझ चौकीदारले गाउँमा हाँक पार्छ । ‘घुघरी भिजाउ रे घुघरी’ (खाने परिकार मटर, केराउ, चना मकैै) को भुजा बनाउनलाई भिजाउँछन् । अर्को दिन पञ्चमीको दिन त्यो परिकार पकाउँछन् । र गाउँका सबै घरका स–साना बालिकाहरुदेखि अविवाहित यूवतिहरु कपडाले बनाएको गुडिया (डल) ‘गुरही’ संगै घुघरी (बिशेष परिकार चना केराउ मकै) थालीमा सजाएर देवथानबाट बाहिर निस्कन्छन् । केटाहरु भने सजाएर बनाएको सोँटा (कोंर्रा)े लिएर तयार हुन्छन् । छोरी मान्छे नयाँ लुगा लगाएर पुतली जस्तै बनेर ‘गुरही’ अस्राउछन् (विसर्जन, सेलाउन) गर्दछन् । सेलाउने बेला ‘खाँज खुजली सक्कु लैजा, रोग बिरोख सक्कु लैजा’ (लूतो सबै लैजा, रोगव्याधी सबै लैजा) भन्दै घरबाट विकार चिजलाई ढपाउने गर्दछन् ।
गुरही चोकको नमाकरण :
धनगढी बजारको भूमि थारु समुदायले आर्जेको जमिन हो । विगत लामो समयदेखि नै धनगढीमा बसोबास भएका थारु समुदायका यूवा यूवतिहरुले क्याम्पस चोकमै गुरही कार्यक्रम मनाउदै आईरहेकोले थारुहरुको धेरै जसो कार्यक्रम क्याम्पस चोकमा नै हुने गरेको हुन्छ । थरुहट आन्दोलन हुदाँ थरुहट आन्दोलनकारीहरुको जमघर हुने ठाउँ क्याम्पस चोक थियो भने अखण्ड सुदूरपश्चि आन्दोलनकारीहरुको जमघट हुने ठाउँ एलएन चोक थियो । यसरी आन्दोलनबाटपनि क्याम्पस चोक थारु समुदायकै कुनै नाम दिएर नामाकरण गर्नुपर्ने निश्कर्ष निकालिएको थियो ।
टीकापुर घटनापछि पहिलो गुरही पर्व २०७३ मनाउने क्रममा तत्कालिन कैलाली प्रमुख जिल्ला जिल्ला अधिकारी गोविन्द रिजालको प्रमुख आतिथ्यतामा क्यापस चोकलाई गुरही चोक भनेर विधिवत तरिकाले नामाकरण गरियो । तर हाल सम्म यहाँका प्रसाशनिक निकाय, स्थानीय सरकार भने गुरही चोकलाई मनदेखि अस्वीकार गरेको अवस्था छ । केही महिना अगाडी प्रसाशनले सो चोकमा प्रहरी विट राखेर चोकलाई प्रसाशनको कब्जामा लिएको छ । स्थानीय निकायका जनप्रतिनिधिहरुपनि गुरही चोकलाई कुनै अर्को चोकमा नामाकरण दिनुपर्ने सुझाब दिईरहेका छन् । तर थारु अगुवा बुद्धिजीविहरु भने वर्षै वर्षदेखि सोही चोकमा गुरही मनाउदै आएको कारण साो चोकलाई गुरही चोकको नामाकरण दिईसकेका छन् ।
जे होस् गुरही पर्व नजिकिदै गर्दा चोककोपनि चर्चा परिचर्चा व्यापक भईरहेको हुन्छ । थारु समुदायले बोकेको मिसन पुर गर्न कसैको सल्लाह र सुझाब नमानी गुरही विधिवत तरिकाले उद्घाटन गरिएको चोकलाई नै गुरही चोक नामाकरण तयार छ । त्यसैले सो क्षेत्रका व्यपारीहरुलाई साईबोर्डमा क्याम्पस चोक हटाएर गुरही चोक लेख्न कैलाली जिल्लाको प्रसाशनिक निकायको हातेमालो अतिआवश्यक छ । सबै जातजातीको कला संस्कृतिको सम्मान गरौं, सभ्य नागरिकको पहिचान दिलाउँ ।