कपिलवस्तु:= कपिलवस्तुको शिवराज नगरपालिका–९, शिवगढी, भगवानपुरमा तेस्रो माघी मिलन साँस्कृतिक महोत्सव–२०७६ यहि पौष २८ गतेदेखि हुने भएको छ । भगवानपुर गाउँ समाज समितिको आयोजनामा हुना लागेको महोत्सव ३ दिन सम्म चल्ने आयोजकले जनाएको छ ।
“हमन संस्कृति हमनके सान, भूमिपुत्र थारु हमरे बचाई अपन पहिचान“ भन्ने मुल नाराका साथ यहि पुस २८ गतेदेखि माघ १ गते सम्म सञ्चालन हुना लागेको महोत्सवका मुख्य आकर्षणहरू थारु पुर्खाैली तथा हस्ताकला पौवा, ढेकी, हेल्का, डेलिया, हलो जुवा, छटरी जस्ता सामाग्रीको प्रदर्शन, झुम्रा, झररा, लाठी, मयुर, सजनी बिरहानी लगायका थारु नृत्य, थारु खानाको परिकार, थारु भेषभुषाको प्रदर्शन आदि लगायत थारु समुदायसँग सम्बन्धित कल्चरलाई संरक्षण गर्ने उद्देश्यले सञ्चालन गर्न लागिएको बताइएको छ ।
यस्तै कलाकारहरू पनि महोत्सव आकर्षणको केन्द्रबिन्दुका रूपमा रहेका छन् थारु गायक तथा एरेन्जर गणेश चौधरी, आधुनिक, भोजपुरी तथा थारु गायक श्रीनिवास थारु, आधुनिक एवम् थारु गायिका समिक्षा चौधरी, थारु गायक रमेश मिसन लगायत राष्ट्रिय कलाकारहरू रहेका छन् ।
त्यसैगरी थारु गायक सिमान्त चौधरी, सरगम चौधरी, रन्जित थारु, गायिका संगिता चौधरी, थारु गायक उत्तम सिटी, मोडल तथा डान्सर ममता चौधरी, गायक राजकुमार चौधरी, मोडल एवम् डान्सर शारदा थारु, गायक रमेश सिटी, गायक विष्णु चौधरी, गायक कृष्ण चौधरी, गायक विशाल चौधरी, गायक आर्यन चौधरी, गायिका बिन्दु चौधरी लगायत राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहने साँस्कृतिक संयोजक शिवराज थारुले जानकारी दिए ।
उक्त कार्यक्रमलाई भव्य सफल पार्न जिम्मेवारी समेत बाँडफाँड गरिएको तथा साँस्कृतिक महोत्सव दिउसो हुने र राती ठियटर डान्स हुने गरि मेलाको तयारी अगाडि बढाइएको महोत्सव संयोजक रमेश थारुले जानकारी गराए ।