उनी बिना पनि जीउन सक्छु।(प्रेम कथा)
-ईन्दु थारू
एउटी छोरी मान्छेका लागि प्रेम र विवाह पर्यायवाची शब्द जस्तै हुन्। तर केटा मान्छेको हकमा त्यस्तो हुदैन। प्रेम जो कोही संग, जस्तो सुकै संग गरे पनि विवाहको हकमा भने केटा मान्छे निकै कट्टर हुन्छन्। प्रेम जुनसुकै उमेर, जुनसुकै जात, जस्तो सुकै रुप भएकीसंग गरेता पनि विवाहका लागि भने फरक तरिकाले सोच्दछन् केटामान्छेहरु। केटा मान्छेले चाहे अनगिन्ती केटीहरुका भावना र शरीर संग खेलेको किन नहुन्, विवाह भने कन्या केटी संगै गर्न चाहन्छन्। कन्या केटी भएर मात्रै पनि पर्याप्त हुदैन, ती कन्या केटीको जात हेरिन्छ, खानदान हेरिन्छ, समाजमा उनको परिवारको स्तर हेरिन्छ, धन सम्पत्ति हेरिन्छ , केटी मान्छेको बाहिरी सुन्दरता हेरिन्छ। यद्यपी प्राथमिकतामा पर्नु पर्ने थियोे केटीमा अन्तरनिहीत मानवीयता, क्षमता, कला, गुण, मनको सुन्दरता , शैक्षिक योग्यता....... यस्तै यस्तै कुरा।
तर म त उनको लागि केवल प्रेम गर्न मिल्ने केटी भए। विवाहका लागि उनलाई चाहिएको कुनै एउटा पनि रिक्वायरमेन्ट पुगेन। त्यसैले होला प्रेम गर्न योग्य त भए विवाहका लागि होइन। केही प्रश्नहरु मनमा खेलिरहन्छन्। भो छोड्दिउ, जे हुनु थियो भैसक्यो भन्दा पनि मनले नमान्दो रैछ। आखिर किन मेरो भावना संग खेल्यौ तिमीले? किन प्रेमको नाटक गर्यौ ? किन भ्रममा पार्यो मलाई? के कुराको बदला लियौ मसंग? किन रोई बस्ने बनायौ मलाई? अनि यो सब गरेर के प्राप्त गर्यौ? कुनै ठूलै उपलब्धी हासिल गर्यौ की? आखिर किन गर्यौ त मसंग यस्तो? मेरा यी प्रश्नहरुको जवाफ उनले दिनै पर्छ भनेर मैले प्रश्न गरेको होइन। यी प्रश्नका सम्भावित उत्तरहरु त मसंगै पनि छन्।
खानदान, धन सम्पत्ति, राम्रो सामाजिक स्तर अनि सुन्दरता संग टाढा टाढा सम्म पनि मेरो कुनै सम्बन्ध छैन। आमाबाबुनै नहुनेको के खानदान र धन सम्पत्ति हुनु? कही न कही केटा मान्छेलाई र उसको परिवालराई हुनेवाली बुहारीको घरबाट अलि राम्रै दाइजो(सभ्य भाषामा कोसेली) आवोस् भन्ने चाहना हुन्छ। म आमाबाबुनै नभएकी टुहुरी छोरीलाई अब कसले दाइजो दिनु उनलाई र उनको परिवारलाई खुशी पार्न। जागिर गर्नेहरुलाई चाहना हुन्छ राम्रो जागिर पाउ, राम्रो ठाउमा प्रोमोसन होस्। तर मेरो त न कोही मामा कुनै उच्च ओहदामा हुनुहुन्छ न मेरो काका, न त मेरो अरु कोही जसले आवश्यकता परेको बेलामा उनको जागिरको प्रोमोसन गर्नमा सहयोग गरिदेओस्। यदि उनले कुनै व्यापार व्यवसायनै गर्न चाहे पनि मसंग कहा छ र सम्पत्ति ताकी परेको बेलामा उनलाई सहयोग गर्न सकु। आफू बस्ने घर पनि मैले उनलाई देखाउदा उनले आफ्नो जिब्रो टोकेका थिए। साएद म बस्ने घर उनको गोठ बराबर पनि नलागेर होला। केटा मान्छेलाई सधै चाहना हुन्छ कि श्रीमती सुन्दर होस्, श्रीमती संगै हिड्दा साथीभाइले भनुन् “भाउजू सारै सुन्दर हुनुहुन्छ”। तर म त प्रकृतिलेनै ठगिएकी परे, विवाहका निम्ति चाहिए जति सुन्दरता पनि म मा भएन। उनको घर बाहिर मेरो शिर देखि पाउ सम्म उनी मलाई निस्फिक्री छुन सक्छन् तर उनकोे घरभित्र मलाई प्रवेस गराउदा उनका देवता रिसाउछन् अरे। उनको घरमा भित्राउने सवालमा म अछुट मानिन्छु। सामाजिक रुपमा म अछुट भनी ठगिन्छु र अपहेलित हुन्छु। मेरो स्त्री अंगहरुसंग प्रेम त गर्न सक्छन् तर विवाह? एकपटक पनि नसोची अस्विकार गर्छन् उनले।
स्वभाविक रुपमा केटा मान्छेमा हुने यी चाहनाहरु मबाट केही पनि पूर्ति हुन सक्दैनन् भने केही फाइदा छ मसंग सम्बन्ध बनाइरहनुको। त्यसकारण पूरा पूरा अधिकार छ उनलाई आफ्ना चाहना, ईच्छा, आकाक्षा पूरा गर्न। तर म पनि त मानव हु , मुटु छ र त्यो दुख्छ पनि। नदुखोस् पनि किन, उनलाई आवश्यकता भन्दा धेरै विश्वास गर्न थालेको थिए । तर जब उनकोे अर्कै केटीसंग सम्बन्ध रहेको कुरा थाहा पाए , सम्हाल्नै गाह्रो भयो आफूलाई। त्यो दिन थाहा पाए आकाश खसे जस्तो भन्नुको अर्थ के हुने रहेछ। अनि धर्ती कसरी फनफनी घुम्छ, त्यही बेलानै मलाई महसुस भयो । रिंगटा लाग्यो। उभिन पनि सकिरहेको थिएन। साह्रै रुन मन भयो। एक्लै थिइन त्यसैले रुन पनि सकिरहेको थिएन। ढुकढुकी ह्रवाट्टै बढ्यो। यति जोडले मुटुको गति बढ्यो कि मेरो छेउछाउका अरुले पनि सुन्छन् कि जस्तो। मेरो जीवनको सबैभन्दा धेरै पिडादायक दिन यही दिन हो जस्तो पनि लाग्यो मलाई । कोही कसैको भावनासंग बिना कुनै कसुर किन खेल्छन् , पत्ता लाउनै सकिन मैले।
म त मन्दिर भित्रको भगवान सम्म पुग्नै पाउदिन, त्यो छुट छैन मलाई। त्यसैले विश्वास पनि गर्दिन। उनी भगवानमा आस्था राख्ने मान्छे हुन्। त्यसैले मेरो एउटै अनुरोध छ उनलाई, सोधीदेउन तिम्रो भगवानलाई “हामी अछुट मानिनेहरुसंग किन तिम्रा भगवानले अन्याय गर्छन। एक पटक होईन पटक पटक गर्छन्। र कहिले सम्म अन्याय गरिरहने हुन्?” आमाबाबु गुमाउनु, गरीब हुनु, अछुट हुनु, कुरुप हुनु फेरी अब उनलाई पनि नपाउनु यो सबै अन्यायनै होइन र? छोरी मान्छे कुरुप भएर जन्मिनु, आमाबाबु बिनाको टुहुरी हुनु, गरीब घरमा जन्मिनु त्यसमा पनि अछुट भएर जन्मिनु, साच्चै यस्तो भएर जन्मिनु त अभिशाप लाग्न थालेको छ मलाई। अभिशाप जस्तो जीवन हुने छोरीहरुलाई खुशीको अनुभुती गर्ने अधिकार नहुनेनै रहेछ त। कुनै पनि केटा मान्छेले क्षणिक प्रेमको नाटक गर्न सकुन भनेर मात्रै अभिशाप जीवन भएका केटीहरु यो धर्तिमा जन्मिन्छन् र। या फेरी अभिशाप जीवन भएका केटीहरु यो समाजका आवश्यकता हुन्। जुन बेला मर्जी भयो केटा मान्छे ति केटीहरुका मन र शरीरसंग, मनले चाहे जति खेल्न सकुन्।
गल्ती त मेरै हो नि, विश्वासनै किन गरे। विश्वास गरे त्यसैले न धोखा पाए। त्यसो भए कसैलाई विश्वास गर्नु र आफ्नो ठान्नुनै मेरो गल्ती भयो। गल्ती गरे पछि सजाय भोग्न पनि तयार रहनु पर्छ अरे। जीवनबाट विश्राम लिनुनै उत्तम विकल्प लाग्छ मलाई अब। कहिले लाग्छ यो अभिशाप जीवन नेपालको सबैभन्दा गहिरो नदीमा गएर मिसाइदिउ। हो त्यो सुन्दर कोशीमा यो कुरुप जीवन मिसाउन मन लाग्छ, त्यो कोशी संगसंगै बग्ने चाहना हुन्छ। तर मलाई पानीको गहिराई देखी डर लाग्छ। त्यसैले कहिले लाग्छ यो जीवन कुनै वृक्षलाई अर्पण गरिदिउ। घरको सिलिंगतिर आखा धेरै पटक नगएको पनि होईन। तर हिम्मत कहा छ र म मा। यो अभिषाप जीवनदेखि विश्राम लिन पनि हिम्मत चाइने रहेछ। कायर रहेछु म, त्यसैले त बाचेकै छु। म जस्तो कायरले आफै त विश्राम लिनै सक्दैन। यदि म भित्र थोरै मात्र पनि हिम्मत भैदिएको भए विश्राम लिई सकेको हुने थिए यो अभिशाप जीन्दगी बाट। तर त्यो हिम्मत म केही गरी पनि जुटाउन सक्दिन।
दुख पिडा जति सबै मेरै भागमा परे जस्तो लाग्छ मलाई अचेल। अनेक प्रकारका चोट र तिरस्कार सहनलाई मात्रै जन्मिए जस्तो। कसैको परवाह नगरी जोरजोरले कराएर रुन मन लाग्छ। रुन पनि कहा सजिलो छ र। मनभरी पिडा बोकेर मुस्कुराउन पर्ने, यो भन्दा ठूलो पिडा अरु केही लाग्दैन मलाई। निदाउन मन लाग्छ र निदाइसकेपछि फेरी आंखा खोल्न नपरोस् झै लाग्छ। मन लागोस् नलागोस् अरु संग बोलिदिन पर्छ। मुस्कुराई दिन पर्छ। चाहे पिडाले मुटु विष्फोट होला जस्तो होस्। दिल र दिमागले सबै खतम भयो, अब केही रहेन भन्छ। जीन्दगी सकियो भन्छ। तर पनि मेरो शरीरमा रक्तसञ्चार भैरहेकै हुन्छ। सास फेर्न बिर्सिएको छैन मैले। हो म अझै जिउदै छु। आफैमा विश्वास लाग्दैन कि म त उनी बिना पनि जिउदो रहन सक्ने रहेछु। तर फरक छ उनीसंगै जिउनुमा र उनी बिना जिउनुमा।।।
-इन्दु थारु, कैलाली
