थारु समुदायको "यमोसा पाबनी" (पितृ औंसी) पर्व
असोज ३ मछुवारी भोलि "यमोसा"
थारु समुदाय सांस्कृतिक सम्पदाले भरिपूर्ण भएको एउटा समुदाय हो । थारु जातिले वर्षभरिमा दर्जनौं चाडपर्व मनाउँछन् । हरेक पर्वहरुको आफ्नै विशेषता र आफ्नै महत्व हुन्छ ।
ती चाडपर्वहरु मध्ये “यमोसा” (पितृ औंसी) पर्व पनि एक हो।“यमोसा वा यम्वासा” चितवन जिल्ला र नवलपुर क्षेत्रका थारु समुदायले मात्र मनाउने एउटा महत्वपूर्ण चाड हो । यस चाडमा थारु समुदायका सम्पूर्ण व्यक्तिहरुले पितृहरुलाई(मरेको मान्छे )को तर्पण गर्ने गर्दछन् र उक्त दिन औंसी पर्ने भएकोले यस पर्वलाई पितृ औशि पनि भनिन्छ । यो पर्व असोज महिनाको औंसीको दिन पर्दछ । दशैंको घटस्थापनाको ठीक अघिल्लो दिनलाई यमोसा भनिन्छ । यमोसा पर्व दुई दिन धुमधामसँग मनाइन्छ ।
यमोसाको अघिल्लो दिनलाई मछुवारी (माछा मार्ने) भनिन्छ । त्यस दिन व्यक्तिगत वा सामूहिक रुपमा खोलानाला, नदी, ताल, पोखरी, कुलो आदिमा घौका, जाल,तीयारी,धेवोरी, डेली, कोइनी, ढडिया आदि सरसामान लिई माछा मार्ने चलन छ । अर्को दिन अर्थात् यमोसाको दिन बिहानै पुरुषहरु आपूले देखेका दाभी (खर्ह,सिरु) काटी ल्याउ“छन् । त्यसलाई केलाएर करीब एक हात लामो कुचो(बाढनी) बनाई धोई पखालेर घर अगाडि गाईको गोबरले पोतेको ठाउमा पिर्का(पीर्हा) वा कुर्चीमा उक्त सिरुको(बाढनी) मुठा राखी पितृ स्थापना गरिन्छ । त्यसलाई थारु भाषामा “पहुनी बेठोइ” भनिन्छ । पहुनीलाई विभिन्न थरीका रंगिबीरङी पूलहरुले सिंगारिन्छ । घाम नलागोस् भनी छाता वा छतिया ओढाइन्छ ।
पहुनीको अगाडि ल्वाङ, सुकमेल, पान, सुपारी, सुर्ती, चुरोट, रक्सी (मोद)र पानी राखिन्छ । त्यस दिन बिहानै बालबच्चादेखि बुढाबुढी सबैजना नुहाई कुशपानीले पितृगणलाई तर्पण गरिन्छ । त्यसबेला हातमा कुश लिई पानी चढाउँदै “ले रे बुबा पानी , ले री बिदाओ पानी ” भन्दै मृत्यु भैसकेका पितृगण, हजुरबा र हजुरआमाको मृत आत्मालाई तर्पण गरिन्छ । नुहाइधुवाइ गरीसकेपछि नयाँ कपडा वा सफा कपडा लगाएर पहुनीको अगाडि बसेर प्रत्येकले रक्सी र पानीको केही थोपा चढाउने गरिन्छ । त्यसलाई “छाकी चढोइर्” भनिन्छ । त्यसपछि मात्र खानपिन शुरु हुन्छ । सर्वप्रथम छोरी–ज्वाइ“ वा कुनै पाहुना बोलाई खातिरदारीकासाथ चौरासी व्यञ्जन खुवाइन्छ ।
यसरी पाहुनालाई खुवाउनुलाई “पितरी बेठोई” भनिन्छ । पाहुनालाई खुवाइसकेपछि मात्र आपूले खाने गरिन्छ । यता केटीहरुले पाहुनाको कपालमा तेल लगाई काइँयोले कोरीदिने गरिन्छ । त्यसपछि सफा उल्टो नाङ्लोमा पानी राखी पाहुनालाई छम्केर शितलता प्रदान गरिन्छ । त्यसलाई “पित्पित्रायन खेदई” भनिन्छ । उक्त दिन घरमा जो कोही आए पनि पाहुना नै भनिन्छ र पाहुनालाई घरमा जे छ मासु माछा खुवायर बीदाइ गरिन्छ । यमोसाको दिन पाहुनालाई पितृगणको रुपमा हेरिन्छ । यसरी खानपिन दिनभरि नै चलिरहन्छ ।
साझ तीर केटाकेटीहरु समूह समूहमा मिलेर गीतगाउदै घर–घरमा “यमोसा” खान जान्छन् । हरेक घरमा विभिन्न किसिमका अनेकौं परम्परागत गीत गाउँदै यमोसा खान्छन् ।
