पक्कै मेरी आमाले सम्झिएको हुनुपर्छ
त्यसैले हो यो बाडुली खट्किएको हुनुपर्छ
टोल हेर्ने मान्छेको अभाव भएर होला,
चोकमा निर्जीव सालिक राखिएको हुनुपर्छ
बस्तीमा एका बिहानै कराएको सुनियो,
त्यो मुसाले पनि मदिरा पिएको हुनुपर्छ
यो मुटु आफ्नो गतिमा चल्दै चल्दैन अचेल,
सायद कसैबाट धड्कन चोरिएको हुनुपर्छ
राम्रोसँग बामे सर्न पनि जानेको छैन,
यो देशको सरकार भर्खर जन्मिएको हुनुपर्छ
© सुगम सुनामी
