टिकापुर घटनाको जेलबन्दी निर्दोष थारुहरुको बारेमा बोल्ने को ? (सेयर गर्नुहोस्)

Saturday, 6 January 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

किशोर चौधरी (सरिखाँ)।
हो त्यही घटना अर्थात वि.सं. २०७२ साल भदौ ७ गतेको । थारु समुदाय आफ्नो हक र अधिकारका लागि राज्यसँग लड्दैथियो। त्यही दिनको घटनाले यस्तो रुप लियो जहाँ ७ जना प्रहरी र एक बालकको मृत्यु हुन पुग्यो। राजनीतिक आवरणको घटना थियो त्यो। जब जब देश परिवर्तनको संघारमा पुग्छ, अनि यस्ता घटना पटक पटक भएको पनि छ। राज्यले ती घटनालाई राजनीतिक घटना भन्दै दोषीलाई अबिर फूलमाला लगाएर स्वागत गर्छ। तर टीकापुर घटनालाई राज्यले सधैं देशद्रोहको संज्ञा दिइरह्यो। घटनाको योजनाकार भन्दै दुई दर्जन निर्दोषलाई कैदी बनाएर सजाय पनि दिइरहेको छ।
खैर यी सब कुरा अहिले छोडौं। प्रसँग जोडौ माघीको मुखमा ती कैदी जीवन निर्वाह गरिहेको परिवारका बारेमा। टीकापुर घटनाको दोषी देखाएर राज्यले अझै २५ थारुलाई कैदीबनाएर जेलमा कोचिरहेका छन्। उनीहरु वर्षौदेखि परिबारबाट टाढा छन्। त्यही भएर त पीडैपीडाबीच जीवन निर्वाह गर्न बाध्य छन् उनीहरुको परिवार।

आज थारु समुदायको महान पर्व माघी घरघरमा आएको छ। सबैमा माघीको खुसीयाली छाएको छ तर त्यो परिवार जहाँ माघीले पटक्कै छोएको छैन। छोओस् पनि कसरी आज खाए भोलि के खाउँ, भोलि भए पर्सीको चिन्ता, छाक टार्नै धौ धौ छ। सबैले मिठो मसिनो खाएर माघी मनाउने सोँच बनाएपनि ती परिवारमा माघी कसरी मनाउने चिन्ता छ अहिले।
जेलमा पर्ने अधिकांश घरमुली छन् जसको सहारामा त्यो परिवार चलेको थियो। दुई वर्षदेखि अभिभावक जेलमा कैद हुँदा उनको परिवारको हालत के होला? सोचनीय विषय हो। घरमा लालाबाला र श्रीमतीबाहेक कोही छैन कतिपय परिवारमा। आर्थिक अभावकै कारण छोराछोरीलाई स्कुल पठाउन सकेको छैन। श्रीमान जेल जीवन बिताइरहेका रीमा चौधरीकी छोरी एसएलसी पास गरेकी छन्, तर अगाडि पढ्न पैसा छैन उनीसँग। त्यसैले त उनी आज मजदुरी गर्न बाध्यछिन्। रामदैयाको हालत पनि उस्तै छ कमाउने श्रीमान् जेलमा छन्। छोराछोरी हुर्काउनु छ, पढाउनु छ तर पैसा छैन। बच्चाको स्कुल फी तिर्न सक्ने अवस्थामा छैनन् उनी। कसैको ऋण तिर्न नसकेर घरबारै लिलाम हुने स्थितिमा पुगेका छ। जेल जीवनमा रहेका प्रायको हालत यस्तै यस्तै छ। अनि माघीको के कुरा माघी त अहिले उनीहरुको लागि सपनाजस्तै बनेको छ।

थारु समुदायको हक अधिकार दिलाउँछु भन्ने र आफूलाई मसिहा ठान्ने संघसंस्थाहरु कानमा तेल हालेर बसेका छन्। थारु कल्याणकारिणी सभा, थारु विद्यार्थी समाज या अन्य थारुको नाममा च्याउसरी उम्रेका विकासे संघसंस्थाहरु नै किन नहोस्, सबै रमिते बन्नुबाहेक केही गर्न सकेका छैनन्। यहाँ त माघीको नाममा राजनीति गर्न जानेका छन् सबै। मेरो गोरुको बाह्रै टक्का भन्दै आफैं आफैंमा घमण्ड देखाउँछन्, दम्भ देखाउँछन्। तर मिलेर अगाडि बढ्न सक्दैनन् हाम्रो समुदाय।

जब माघी आउँछ त्यसपछि जुर्मुराउछन् व्यक्ति र संघसंस्थाहरु। आज एउटा दलको भातृसंगठनले सिङ्गो देशलाई हल्लाएर राखेको छ, हामीले देखिरहेका छौं। राष्ट्रपति, प्रधानमन्त्रीविरुद्ध खुल्ला सडकमा ओर्लेर आन्दोलन गरिरहेका छन्। सधैं थारु समुदायको हक र अधिकारका लगि लडेका रेशम चौधरी चुनाव जितेर पनि राज्यले हराउन खोज्दैछ। २५ जना निर्दोष थारुहरु कालकोठरीमा जीवन बिताइरहेका छन् खोइ त कुनै भूमिका? यतिसम्म मौन छौं कि हामी कसैको चिन्ता र चासो नै पुगेको छैन् त्यहाँसम्म। चित्त त तब दुख्छ जब माघीको नाममा मात्रै हामी राजनीति गर्छौं। हामी यो सोच्दैनौं कि जेल जीवन बिताइरहेका परिवारको माघी कस्तो वित्दैहोला? उनीहरुको लागि हाम्रो दायित्व कतिको छ? छ भने निर्लज्जताको खेती किन?

थारु आन्दोलनका ठेकेदारहरु आज निरिह बनेर कुन दुलोमा लुकेर बसेका छन् कुनै अत्तोपत्तो नै छैन। यदि आन्दोलन सफल हुँदो हो त कथित आफूलाई महान् सर्वेसर्वा ठान्नेहरु सबै श्रेय आफैँमाथि लाद्थे होलान्। तर विडम्बना जसको आड र भरोसामा आन्दोलनमा उत्रे अगाडि बढे तिनै निर्दोषहरु आज जेल जीवन या त निर्वासित जीवन बिताइरहेका छन्। यी पीडा मानवता हराएका हाम्रा ती कथितहरुले देखेका छैनन्? कोही मन्त्री बने, कोही सरकारी ढुकुटीमा रमाउँदैछन्, कोही एनजिओ, आइएनजिओको पैसामा रमाउँदैछन्। तर ती बलीको बोका बनेकाहरु त यो पुस, माघको कठ्याङ्ग्रिदो जाडोमा जेल जीवन विताइरहेका छन् कसलाई प्रवाह छ ती निर्दोषहरुको? ती निर्दोहरुलाई बलिको बोको बनाएर आफ्नो स्वार्थ पूर्ति त गरिहाले तर ती हक अधिकार दिलाउन सपना बोकेर आन्दोलनमा होमिएकाहरुको सपना त अब सपनामै सिमित हुने भयो हैन त? आज नेपाली समाजमा निकै पिछडिएको समुदायमध्ये थारु समुदाय पनि एक हो। तर नेतृत्व गर्ने नेताहरु थारु समुदायको हक अधिकार स्थापित गर्न देखाएको हुँकार एकाएक स्खलित भएको छ भन्दा नमज्जा लाग्ला नि।
अन्त्यमा, मेरो लेख कसैप्रति लक्षित होइन, कसैलाई पूर्वाग्रही बनाएर लेखेको लेख पनि होइन। मेरो लेखको आश्य यति हो कतिन्जेल आँखा चिम्म गरेर बस्छौं अब त उघारौं हाम्रा आँखाहरु।

(लेखक थारु पत्रकार संघ नेपालका महासचिव हुन्।)

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu