सौराहा घुम्न आउने पर्यटकहरु थारु संस्कृतिमा लोभिदै

Friday, 16 February 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

चितवन:=चितवनको सौराहामा आएका स्वदेशी तथा विदेशी पर्यटकहरु थारू संस्कृतिमा लोभिने गरेका छन् । थारूको मौलिक नृत्य, रहनसहन र गीत–संगीतमा पर्यटकको मोह हुने गरेको थारू अगुवा वासुदेव चौधरी बताउनुहुन्छ ।
सौराहा आएका अधिकांश पर्यटक बुधबार राति थारू संस्कृतिमा रमाएका भेटिए । दुईवटा थारू कल्चर हाउस भरिभराउ थिए । गाउँ घुमेर थारूको मौलिकता अध्ययन गर्ने पर्यटकसमेत सौराहामा आउँछन् । मुख्यगरी वन्यजन्तु पर्यटन फस्टाएको भए पनि सौराहा आएका पर्यटक थारू संस्कृतिमा पनि रमाएकै हुन्छन् । त्यसैले, अहिले सौराहामा दुईवटा थारू कल्चर हाउस सञ्चालनमा रहेका छन् । दुबै कल्चर हाउसमा सौराहा आएका पर्यटक राति ७ देखि ८ बजेससम्म थारूका मौलिक गीत–संगीतमा रमाउँछन् ।

न्यू सौराहा थारू कल्चरल हाउसका सञ्चालक भूपेन्द्र चौधरी पछिल्लो समयमा सँस्कृति हेर्ने पर्यटक बढ्दै आएको बताउनुहुन्छ । सौराहाका होटलले समेत प्याकेजमा थारू संस्कृतिलाई जोडेका छन् । भूपेन्द्र भन्नुहुन्छ, “पर्यटकका लागि हात्ती सफारी जत्तिकै महत्वपूर्ण कार्यक्रम थारू कल्चर हो ।” उहाँका अनुसार सौराहामा समूहगत रुपमा थारू युवायुवती मिलेर झमटा नाच, ठेकरा नाच, लौरो नाच, झुमरा डम्फु नाच प्रस्तुत हुन्छन् । थारूहरुले आफ्नै मौलिक पोशाकमा सजिएर प्रस्तुत हुँदा आएका पर्यटक लालायित हुन्छन् । बुधबार साँझ थारू कल्चर हाउसको प्रस्तुति हेर्नुभएका रवि अधिकारीले थारूको मौलिकता आकर्षक लागेको बताउनुभयो । उहाँले यस्ता मौलिक पहिचानहरु जोगाउनुपर्नेमा जोड दिनुभयो ।

नेपालकै तेस्रो पर्यटकीय गन्तव्य हो चितवनको सौराहा।सौराहामा अहिले ११० वटा सुविधायुक्त होटल छन् । साठीभन्दा बढी रेस्टुरेन्ट छन् । यहाँ दैनिक झण्डै तीन हजार पर्यटक बस्न मिल्ने होटल क्षमता छ । पर्यटक धेरै भएका बेला होटलले आफैं थारू नाच प्रस्तुत गरेर पर्यटकलाई मनोरञ्जन दिन्छन् भने थोरै पर्यटक हुँदा कल्चर हाउसमा पर्यटकलाई लगिने र थारूको नाच देखाउने गरिएको छ ।
होटल सेभेन स्टारका सञ्चालक माधव दवाडी सौराहाका पर्यटन गतिविधिमा ५० प्रतिशत थारूसँग केन्द्रित हुने गरेको बताउनुहुन्छ । सौरहामा मुख्यगरी पर्यटकहरु हात्ती सफारी, जिप सफारी, डुंगा सफारी, जंगल वाक (भ्रमण) गर्ने, दुर्लभ वन्यजन्तु एकसिंगे गैँडा, बाघ, हात्ती, चित्तल, गौरीगाई, भालुहरु हेर्ने तथा प्रकृतिमा रमाउने गर्छन् ।

त्यससँगै थारूको मौलिक संस्कृतिमा समेत पर्यटक आकर्षित हुन्छन् । तर पहिले जस्तो थारू संस्कृति नभएकाले अलि समस्या रहेको छ । संस्कृति हराउँदै गएकामा थारू अगुवा वासुदेव चौधरी चिन्ता व्यक्त गर्नुहुन्छ । त्यसैले, अहिले सौराहामा थारू संस्कृति सङ्ग्रहालय नै स्थापना गरेर मौलिक सामग्री संरक्षण गरेर राखिएको छ ।
यहाँ पनि पर्यटक आउने र अवलोकन गर्ने गरेका छन् । क्षेत्रीय होटल संघ चितवन सौराहाका महासचिव राममणि खनाल सौराहा थारूसँगै जोडिएकाले पनि थारू संस्कृति पर्यटनको महत्वपूर्ण पाटो रहेको बताउनुहुन्छ ।

त्यसैले, थारू संस्कृति जोगाउनुपर्नेमा व्यवसायीको जोड छ । पछिल्लो समयमा जंगलमा खरखडाइ गर्न पाइँदैन, चितवन निकुञ्जबाट ल्याइने त्यस्ता सामग्रीको अभावमा कंक्रिटका भवन बन्ने क्रम बढ्दो छ । त्यसैले पनि मौलिक घरहरु परिवर्तन हुन थालेका छन् ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu