समाजसेवामै दुई बिघा बेचेका रामलाल महतो

Saturday, 9 June 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
कारी महतो,,
चितवन:=हालै सम्पन्न भएको प्रदेशसभाको निर्वाचनमा चितवनको प्रदेश ३ (ख) बाट बाम गठबन्धनका साझा उम्मेदवारका रुपमा रही भारी मतले विजयी भएका रामलाल महतोले आफूमात्र जितेनन्, सोही क्षेत्रका प्रतिनिधिसभाका उम्मेदवार पुष्पकमल दाहाल (प्रचण्ड)लाई समेत भारी मतले विजयी गराए । रामलाल महतोले २५,०६१ मत प्राप्त गरे । उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका साजनकुमार महतोले १५,९४५ मत ल्याए।
वि.सं. २०१९ वैशाख २ गते साविक पटिहानी गाविस वडा नं. १, हालः भरतपुर महानगरपालिका वडा नं. २२ मा पिता सिखा महतो र आमा शनिचरी महतोको जेठा छोराका रुपमा जन्मिएका रामलाल महतो विद्यार्थी जीवनमै राजनीतिमा प्रवेश गरे ।धनौजी राष्ट्रिय प्राथमिक विद्यालयबाट अध्ययन सुरु गरेका रामलाल अमर माध्यमिक विद्यालयबाट माध्यमिक तहको अध्ययन पूरा गरे । त्यस विद्यालयबाट एसएलसी उत्तीर्ण गरी भरतपुरस्थित वीरेन्द्र बहुमुखी क्याम्पसमा प्रमाणपत्र तह अध्ययन गर्दागर्दै उनी राजनीतिमा लागेका हुन् । त्योसँगै उनी अध्ययनलाई बिट मार्दै राजनीति र समाजसेवातर्फ क्रियासिल बने ।
उनको परिवारको आर्थिक अवस्था राम्रै थियो । हजुरबुबा र बुबा गाउँका जिम्दार खलक थिए । जग्गा जमिन प्रशस्तै थियो । बुबाका दाजुभाइहरु छुट्टिदासमेत उनको बुबाको नाममा सात बिघा जग्गा रहेको थियो । तर पछिल्लो समयमा आउँदा निष्ठापूर्वक समाजसेवामै उनले दुई विघा जग्गा बेचेर सकाए ।
राजनीतिक जीवन
रामलाल महतोले २०३५÷०३६ सालको विद्यार्थी आन्दोलबाट राजनीतिक यात्रा सुरु गरेका हुन् । २०३६ सालमा नेपाल क्रान्तिकारी विद्यार्थी संगठनको सदस्यता लिएका उनी आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए । उनलाई धर्मबहादुर थापाले पार्टीको सदस्यता दिएर राजनीतिमा प्रवेश गराएका थिए ।
त्यसलगत्तै २०३६ सालमा उनले अमर माविको स्ववियु निर्वाचनमा कोषाध्यक्ष पदमा उम्मेदवारी दिई विजयी भएका थिए । वीरेन्द्र बहुमुखी क्याम्पसमा पढ्दा २०३९ सालमा क्याम्पस संगठनको सदस्य र जिल्ला श्रमिक संगठनको सदस्यमा रहेर उनले काम गरे । २०४० मा नेपाल क्रान्तिकारी विद्यार्थी संगठनको जिल्ला कोषाध्यक्ष भए । भूमिगत रहेर २०४७ मा सर्वहारावादी श्रमिक संगठनको इलाका सचिवको रुपमा काम गरेका उनी २०४८ मा पार्टी एकतापछि एकता केन्द्रका इलाका सचिव भई भुमिगत रुपमा काम गरे । २०४९ मा बाबुराम भट्राईको नेतृत्वमा संयुक्त जनमोर्चा संगठनको जिल्ला सदस्य भए । २०५१ सालमा एकता केन्द्रको जिल्ला सदस्य, २०६५ देखि ०६९ सम्म माओवादी केन्द्र जिल्लासमितिको सदस्य र इलाका इन्चार्ज समेत उनी भए ।०६५ सालदेखि थारु राष्ट्रिय मुक्ति मोर्चाको हालसम्म केन्द्रीय सदस्यमा छन् ।
समाज सेवा
रामलाल महतो २०५६ सालमा थारु कल्याणकारिणी सभा चितवनको जिल्ला उपसभापति भएर काम गरे । त्यसयता उनी जिल्लाको सल्लाहकारमा रहँदै आएका छन् । उनी थारु समाजको मात्र नभई समग्र जिल्लाकै आर्थिक, शैक्षिक, सामाजिक, राजनीतिक र स्वास्थ्य क्षेत्रको सुधारका लागि आफ्नो जीवन समर्पित गर्दै आएका छन् ।
२०६३ देखि २०६५ सालसम्म भरतपुर व्यवस्थापन समितिको अध्यक्षमा रहेर उनले उल्लेखनीय योगदान पु¥याए । त्यस अगाडि भरतपुरको सरकारी अस्पताल अहिलेको जस्तो थिएन । मुर्दाघरजस्तो थियो । सरसफाई हुँदैनथ्यो । अस्पतालका मेसिनहरु सबै बिग्रेको थियो । बिरामीहरु आउँदा मेडिकल कलेजतिर पठाउनुपर्ने बाध्यता थियो । उनी अध्यक्ष भएपछि अस्पतालभित्र र बाहिरी वातावारण सरसफाईको अभियान प्रारम्भ गरे । उनी आफैँले झाडु लिएर सरसफाई अभियानमा जुटेका थिए । अस्पताल वरपरको झाडी सरसफाई गर्दा जहीँतहीँं मानव अस्थिपञ्जर फेला पथ्र्यो । अस्पतालभित्र पनि दश रुपैयाँ बेडचार्ज लिएर दिनको तीन पटक सरसफाई सञ्चालन गरियो । बिग्रेका मेसिनहरु मर्मत गरियो । करोडौं रुपैयाँ बराबरको नयाँ मेसिनहरु खरिद गरेर जडान गरियो ।
मेडिकल कलेजले भरतपुर अस्पताललाई तिर्नुपर्ने १ करोड ६५ लाख रुपैयाँ असुलउपर गर्न सफल भएको रामलाल महतो सम्झिन्छन् । उनीभन्दा अगाडिका अध्यक्षहरुले उक्त बक्यौता असुल उपर गर्न सकिरहेका थिएन । उनी अस्पतालको अध्यक्ष पदमा रहँदा सिस्टमलाई मर्यादित बनाए । आफ्नै आमा बिरामी हुँदा पनि पचासौं जनाको पछाडि लाइनमा उभिएर टिकट काटेको मिडियामा समाचार प्रकाशन भएको थियो । उनकै पालामा चेपाङ्ग लगायत सीमान्तकृत समुदायलाई निःशुल्क सेवा सुरु गरिएको हो ।
२०४४ सालमा बौद्धिक अपाङ्गता स्कुलको संस्थापक रही उनले एक वर्ष भोलेन्टिएर भएर काम गरे । २०४९ सालमा ब्राइटस्टार बोर्डिङ्ग स्कुलको संस्थापक अध्यक्ष भइ शिक्षा क्षेत्रमा काम गरेका उनी २०५० मा अमर मा वि को दुईवर्ष कार्यकालका लागि अध्यक्ष भएर काम गरे।
उनले २०३७ सालमा तत्कालीन सरकारबाट अनुमति नलिइकन सम्पादक रहेर “फुन्गी” पत्रिका प्रकाशन गरेका थिए । रामलाल महतो र सन्तराम महतो दुई जना सम्पादक रहेको पत्रिका थारु भाषामै प्रकाशन भएको थियो । पत्रिका प्रकाशन गर्नका लागि धान काटेर ज्याला रकमबाट पत्रिका प्रकाशन गरेका बताए । उक्त पत्रिकालाई नेपाल सरकारले प्रतिबन्ध लगाएको थियो ।
उनी २०४९ सालको स्थानीय तहको निर्वाचनमा पटिहानी गाविसको अध्यक्ष पदमा विजयी भए । गाविस अध्यक्ष पदमा रहेर उनी गाउँको विकासमा जुटेका थिए । त्यसबेला गाविसमा निकै थोरै बजेट आउँथ्यो । त्यो सानो बजेटले उनले विकास निर्माणको काम गर्थे । प्रदेशसभामा निर्वाचित भइसकेपछि उनले स्थानीयका पीडाहरु सम्बोधन गर्ने बताए । त्यसक्षेत्रका जनता निकुञ्जको जंगली जनावरबाट पीडित भएको बताउँदै उनले माडीबासीहरु रिउ लगायत स्थानीय खोलाहरुबाट पीडित रहेको बताए । त्यस क्षेत्रको विकासका लागि प्राथमिकीकरण गरी योजनाबद्ध तरिकाले काम गर्ने उनको योजना छ ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu