ढिक्रीको ब्रान्ड : कुन ढिक्री खाने?

Thursday, 12 July 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
कृष्णराज सर्वहारी,,
थारू समुदायको मुख्य परिकारमध्ये ढिक्री एक हो। विशेष खुसीयालीको अवसरमा तथा माइतीबाट बिदाइ हुने छोरी चेलीका लागि कोसेलीको रूपमा पनि ढिक्री बनाइन्छ। थारूहरूको नयाँ वर्ष माघी, दसैं अनि दीपावलीमा पनि ढिक्री मुख्य खान्की हुन्छ। यद्यपि, चाडअनुसार ढिक्रीको आकारप्रकार बनावट भने फरकफरक हुन्छ। थारू होमस्टे तथा थरूहट क्षेत्रका बजारमा खोलिएका थारू होटेलले पनि ढिक्री बनाएर बेच्न थालेका छन्। काठमाडौं, कीर्तिपुरको बरघर रेस्टुरेन्टको मेनुमा ढिक्री नियमित रहेको सञ्चालक सीताराम चौधरी बताउँछन्। नेपालगन्जमा भर्खर खुलेको गोचाली रेस्टुरेन्टको मेनुमा राखिएको ढिक्री निकै रुचाइएको सोम डेमनडौराले जानकारी दिए।
मःम जस्तै बाफमा उसिनेर पकाइने पीठोको एक परिकार हो, ढिक्री। पश्चिमा र पूर्वीया थारूहरूको ढिक्री बनाउने तरिकामा खास अन्तर छैन। पूर्वीया थारूले ढिक्रीलाई बगिया भन्छन्। व्यापारिक दृष्टिले बनाइने ढिक्रीमा नरिवल, छोहरा आदि मि श्रण गर्न थालेका छन्। भारतमा बस्ने थारूहरूले पनि पश्चिमा थारूहरूझैं ढिक्री बनाउँछन्, जसलाई पीठा भनिन्छ। शाकाहारीका लागि तोरीको हरियो साग र मांसाहारीका लागि सुँगुरको मासुसँग ढिक्री स्वादिष्ट मानिन्छ। यहाँ ढिक्रीको थरीथरीका बनावटबारे चर्चा गरिन्छ।
लम्मा ढिक्री := लम्मा अर्थात् लामो ढिक्री थारू समुदायमा सबैभन्दा लोकप्रिय मानिन्छ। माघिमा लम्मा ढिक्री अनिवार्य बनाइन्छ। त्यसैले, लम्मा ढिक्रीलाई मघहा ढिक्री पनि भनिन्छ। चेलीबेटीहरूले दाजुभाइको लामो आयुको कामना गर्दै लाम्चो ढिक्री बनाउने भनाइ पनि छ। यसको औसत लम्बाइ ६ इन्च जति हुन्छ। थारू होमस्टे तथा रेस्टुरेन्टमा पनि प्रायः यही लम्मा ढिक्री बनाइन्छ। व्यापारिक प्रयोजनका लागि बनाइने भएकाले त्यहाँको ढिक्रीको आकार भने सानो हुन्छ।
गुलियार ढिक्री := गुलियार अर्थात् गोलो ढिक्री खासगरी दसैंमा बनाइन्छ। त्यसैले, यसलाई दसैंहा ढिक्री पनि भनिन्छ। अष्टमीमा गोलो ढिक्री बेलको काँडाको हाँगामा फलझैं फलाएर देउतालाई चढाएपछि मात्रै ढिक्री खान पाइन्छ। अघिपछि पनि यस्तो ढिक्री बनाइन्छ।
दिया ढिक्री :=गोलो ढिक्रीलाई बूढीऔंलाले थिचेर दियो आकारमा बनाइएको ढिक्रीलाई दिया ढिक्री भनिन्छ। दीपावलीको अवसरमा लक्ष्मी पूजाको दिन देउतालाई चढाएपछि मात्रै यो ढिक्री खान पाइन्छ। दीपावलीमा केटाकेटीलाई यो ढिक्री लुटाउने परम्परा पनि छ। अघिपछि यस्तो ढिक्री बनाइँदैन।
बोझा ढिक्री :=पातलो लम्मा खालको पाँचपाँचवटा ढिक्री दुई भागमा बाँधेर भारी बनाइएको ढिक्रीलाई बोझा ढिक्री भनिन्छ। बोझा ढिक्री दसैंको अष्टमी तथा दीपावलीको लक्ष्मी पूजाको दिन देउतालाई प्रसादको रूपमा चढाउन मात्रै बनाइन्छ।
लट्ठी ढिक्री := लामो ढिक्रीभन्दा करिब दोब्बर लामो खालको ढिक्रीलाई लट्ठी ढिक्री भनिन्छ। यो ढिक्री पनि दीपावलीको लक्ष्मी पूजाको दिन देउतालाई प्रसादको रूपमा चढाउन मात्रै बनाइन्छ। संस्कृतिविद् गोपाल दहितका अनुसार खासगरी दहित थरका थारूहरूले पूजा गरी घरको दुवैतिरको ढोकामथिको छाप्रोमा लट्ठी ढिक्री घुसार्छन्। यसले घरको रक्षासमेत गर्ने विश्वास गरिन्छ।
छित्रही ढिक्री := ठूलो दियो ढिक्रीमाथि तीन या पाँचवटा ससाना गोलो ढिक्री चाङ लगाएर बनाइएको ढिक्रीलाई छित्रही ढिक्री भनिन्छ। छित्रही ढिक्री पनि दसैंको अष्टमीको दिन देउतालाई प्रसादको रूपमा चढाउन मात्रै बनाइन्छ।
हँठिया ढिक्री := हात्ती पुजुवा दहित थरका थारूहरूले दसैंमा देउतालाई चढाउन हात्तीको शरीरझैं हँठिया ढिक्री बनाउँछन्। यसरी ढिक्री बनाउने र खाने परम्परा थारू संस्कृति र संस्कारसँग पनि जोडिएको देखिन्छ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu