लखन चौधरी ,,
महेन्द्रनगर:=जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भीमदत्त नगरपालिका २ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको अभियोगमा पक्राउ परेका भीमदत्त नगरपालिका १९ का दिलिप बिष्टलाई भदौ ५ मा सार्वजनिक गर्र्यो । तर, स्थानीयले सो घटनाको अभियुक्त बिष्ट हुन् भन्ने सीआईबीसहित प्रहरी रिपोर्ट ठाडै अस्वीकार गरे ।
वास्तविक दोषिलाई जोगाउन मानसिक अवस्था बिग्रेको व्यक्तिलाई सार्वजनिक गरेको भन्दै स्थानीयले प्रहरीको रिपोर्टमा विश्वास नै गरेनन् । अनि स्वरुप परिवर्तन गरेको कञ्चनपुरको आन्दोलन बिहीवारसम्म आइपुग्दा हिंसात्मक अवस्थामा परिणत भयो । जसले कञ्चनपुरको अवस्था त्रासदी पूर्ण बन्न पुग्याे । महेन्द्रनगरमा बिहीबार विहानदेखि साँझसम्म अविरल वर्षा भयो । तर वर्षाको प्रवाह नै नगरी विहानदेखि जिल्लाका विभिन्न स्थानमा शुरु भयो प्रदर्शन । जिल्ला प्रशासन कार्यालय तोडफोड गर्न पुगेका प्रदर्शनकारी र प्रहरीबीच ट्राफिक चौक नजिक झडप भयो । शुरुमा लाठी चार्ज, अश्रुग्यास प्रहार भयो । तर ठूलो संख्यामा रहेका प्रदर्शनकारी झन–झन उग्र बनेपछि प्रहरीले २५ राउण्ड हवाई फायर गरेको कञ्चनपुर प्रहरीले जनाएको छ ।
प्रदर्शन र फायरिङ यतिमा सीमित भएन । दिउँसो महेन्द्रनगरको भाँसीबाट संयौंको संख्यामा अर्को प्रदर्शनकारीहरुको जमात निस्कियो । घटनाकै कारण विवादमा मुछिएपछि पदमुक्त भएका कञ्चनपुरका प्रहरी उपरिक्षक डिल्लीराज बिष्टको शवयात्रा सहित आक्रमक स्वरुपमा प्रदर्शनकारीको प्रदर्शन अगाडी बढ्दै थियो । र जिल्ला प्रहरी कार्यालयसम्म पुग्यो । अनि शुरु भयो, अश्रुग्यासको फायरिङ, हावाई फायरिङ र ढुंगामुढा पनि । दिउँसो २ बजेदेखि शुरु भएको अश्रुग्यासको फायरिङ साँझ ५ बजेसम्म जारी रह्यो । यो बीच प्रहरीले झण्डै तीन सय बढी सेल अश्रुग्यास जिल्ला प्रहरी कार्यालय अगाडी नै फायर गर्र्यो । भने दिनभरी करिब ८ सय भन्दा बढी सेल अश्रुग्यास फायर भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका घटनाकै कारण जिम्मेवारीबाट हटाइएका प्रहरी नायव उपरिक्षक ज्ञानबहादुर सेटीले बताए । यसैबीच प्रहरीले करिब दुई दर्जन प्रदर्शनकारीलाई नियन्त्रणमा लिएर अबेर बेलुका छोडेको थियो ।
अश्रु ग्याँसले अनुहार पोलिँदा वर्षात जारी थियो । उसैगरी अश्रु ग्यासको वर्षात पनि । राष्ट्रिय समाचार समिति महाकाली अञ्चल प्रमुख शेरबहादुर सिंह, माउण्टेन टेलिभिजनका कञ्चनपुर संवाददाता पुष्कर भट्ट, पहिचान खबरका सहसम्पादक अर्जुन सिंह, एभिन्युजका हरिश बिक, अन्नपूर्ण पोष्टका बिपी अनमोलसहितका सञ्चारकर्मीको टोली सुरक्षित स्थान खोज्दै हत्तपत्त जिल्ला प्रहरी कार्यालय परिसर भित्र छिर्याे । उता बाहिर फायरिङ र ढुंगाको वर्षा संगै केहि चित्कार अनि प्रहरी मुर्दावादको नाराबाजीसहितको होहल्ला जारी थियो ।
जिल्ला प्रहरी कार्यालयभित्र सञ्चारकर्मीहरुको टोलीलाई ‘चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी झै भयो ।’ गेट नजिकैबाट प्रहरीले प्रदर्शनकारी तिरै ताकेर ड्याम ड्याम.... अश्रुग्यास फायर गर्न थाल्यो । ग्यासको धुँवा हावाको झोँकाले जिल्ला प्रहरी कार्यालय तिरै ल्यायो । कार्यालय टियर ग्याँसले धुँवामय भयो ।
पत्रकारकाे टाेली जिल्ला प्रहरी कार्यालयमा जवानहरु सुत्ने एक कोठामा निस्सासिन पुग्याे । आँखा, नाकसहित अनुहार पोलेर हैरानी । आ–आफ्नो रुमाल पानीले भिजाएर अनुहार मुसार्न भ्याई नभ्याई भयो पत्रकारहरुलार्इ । निरन्तरको वर्षातले केहि राहत दिएको थियो । पत्रकारकाे अवस्था देखेर एक जना महिला प्रहरीले व्यंग गर्दै भनिन्, 'हामी प्रहरीलाई कुनै घटना परिघटनाले नछुँदो रहेछ । असर पनि नगर्दो रैछ नि है ?'विहीबारसम्मको घटना परिघटनाले हाल राष्ट्रकै ध्यान कञ्चनपुरमा केन्द्रीत छ । एकै दिन यहाँका सुरक्षा प्रमुखहरु पदमुक्त भएका छन् । नयाँ अधिकारीहरु कञ्चनपुरमा खटिएका छन् । प्रमुख जिल्ला अधिकारी कुमार खड्काको ठाउँमा तारानाथ अधिकारी, प्रहरी उपरिक्षक डिल्लीराज बिष्टको ठाउँमा कुबेर कडायत र प्रहरी नायव उपरिक्षकको ठाउँमा कृष्ण ओझा पद बहाल भएका छन् ।
सडकै भरी अश्रुग्यासको खोका, व्यापक प्रहरी परिचालन
प्रदर्शनकारी माथि प्रहरीले ब्यापक बल प्रयोग गरेको छ । जताततै सडकभरी ढुंगा मुडा, जलेका टायरका हानिकारक कालो धुलो, सिसा र टियर ग्याँस सेलका खोकाहरु छरिएका छन् । महेन्द्रनगरको जनजीवन त्रासमय छ । यहाँका शिक्षण संस्था ठप्प भएका छन् । भने बजार व्यवसाय बन्द छ ।
यातायातका साधन भने आंशिक रुपमा चलेका छन् । प्रत्येक स्थानीयको मुखारबिन्दुमा एउटै सवाल छ, अबको न्यायपूर्ण निकास के ? छोरीहरूको न्यायको लागि आन्दोलन गर्दा राज्यको यत्रो दमन किन ?
स्थानीय पत्रपत्रिकाद्वारा ‘ब्याकआउट’
यहाँबाट प्रकाशित केहि पत्रपत्रिकाले आन्दोलनको समर्थनमा कालो पृष्ठभूमीमा प्रकाशित भएका छन् । खासगरी मानसखण्ड दैनिक, महाकाली टुडेलगायत पत्रिका केहि दिनदेखि कालो पृष्ठभूमीमा विरोध स्वरुप समाचार सामग्री प्रकाशन गर्दै आएका हुन् ।
अबको निकाश के ?
पछिल्लो समय बढेको बलात्कारको घटना र कञ्चनपुरमा उठेको आन्दोलनले थुप्रै सवाल सतहमा ल्याएको छ । एकातिर प्रहरीको अनुसन्धानप्रति जनताको विश्वास गुमेको छ । भने अर्कोतिर बढ्दै गएको बलात्कार, हत्या जस्ता जघन्य अपराधका घटनाको श्रृखंलाले समाज कतातिर जाँदैछ ? भन्ने जस्ता थुप्रै सवाल उब्जाएको छ ।
कञ्चनपुरकै सन्दर्भमा राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय धनगढीका प्रमुख दिपक ध्वजजंग कार्कीले बलात्कार घटनालाई प्रहरीले हलुको ढंगले लिएको बताए् । अन्सन्धानकै क्रममा पनि प्रहरीले पीडितमैत्री व्यवहार नगरेको र विश्वानीयता भन्दा पनि निकास मात्रै खोज्दा आजको अवस्था सिर्जना भएको प्रमुख कार्कीको तर्क छ । घटनाको निकासको लागि उच्चस्तरको विज्ञ टोलीबाट नयाँ सिराबाट अनुसन्धान जरुरी रहेको पनि उनले औल्याए ।