राजधानीमा बस्ने थारुहरुले पहिलो पर्व गुरही आज मनाउने

Thursday, 16 August 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

हमार सनेश सहकर्मी ,,
काठमाडौं:=नयाँ आर्थिक वर्ष शुरु भएपछि गणना गरिने थारु समुदायको पहिलो पर्व गुरही ३१ गते देशभर थारु समुदायले परम्पराअनुसार मनाउने तयारी गरेका छन् । सोहीअवसरमा काठमाडौंमा बसोबास गर्ने थारुले पनि प्रदर्शनीमार्गमा गुरही पर्व मनाउने तयारी गरेको बताएका छन् ।

चम्पन सांस्कृतिक समूहका अध्यक्ष नन्दुराज चौधरीकाअनुसार आज ३१ गते विहिबार साँझ ३ बजेपछि सामुहिकरुपमा भृकुटीमण्डपस्थित प्रदर्शनीमार्गमा जम्मा भएर थारु गुरहीपर्व मनाउने तयारी गरिएको छ । थारु समुदायले गत दुई वर्षदेखि काठमाडौंमा गुरही पर्व मनाउँदैआएका छन् ।

गुरही पर्वको तयारीकालागि राजेन चौधरीको संयोजकत्वमा सोंटा बनाउने उपसमिति, अन्जु चौधरीको संयोजकत्वमा गुडिया (गुरही) बनाउने उपसमिति र सुशीला चौधरीको संयोजकत्वमा प्रसाद (भूजा, कोंहरी) बनाउने उपसमिति बनाइएको अध्यक्ष चौधरीले बताउनुभयो ।

चम्पन सांस्कृतिक समूह, वर्दियाली थारु विद्यार्थी मञ्च, सर्वहित समाज, थारु युवा परिवार लगायतको संयुक्त आयोजनामा हुने गुरही पर्व कार्यक्रममा ती संघ संस्थाका प्रतिनिधिले उपत्यकामा बसोबास गर्ने थारु समुदायका प्रतिनिधिलाई उपस्थितिकालागि आव्हान गरेका छन् ।

नेपाली पात्रोअनुसार नागपञ्चमीका दिन थारु समुदायले गुरही पर्व मनाउने गर्छन् । गुरही पर्व खासगरी थारु चेलीबेटी तथा बालबालिकाहरुले सामुहिकरुपमा मनाउने गर्छन् । एकापसमा विभिन्न परिकारका भूजा वितरण गर्ने, गुडियालाई सोंटाले ठटाउने प्रचलन गुरहीमा गरिन्छ ।

सांकेतिकरुपमा कपडाको गुडिया बनाएर त्यसलाई ठटाउने र अलच्छिनाको अन्त्य तथा वैरी दुश्मनको गाउँघरबाट धपाउने, शुभ कामको आव्हान गर्ने मनसायले सो पर्व मनाइन्छ । वर्ष शुरुवातको प्रथम पर्वभएकाले आउने वर्षदिनका सबै पर्वहरु शुभ रहुन्, र गाउँघरका सदस्यहरु सुखी रहुन् भन्ने मनसायले एकापसमा खुशीयाली साटेर गुरहीपर्व मनाउने प्रचलन थारु समुदायमा छ ।

खासगरी पश्चिमा थारुले मनाउने पर्व भएकाले गुरही पर्वमा थारु चेलीहरु थारु पोशाकमा जम्मा भएर पहिचान झल्काउनेगरी गुरही पर्वको तयारी गरिएको थारु संस्कृतिका अभियन्ता नन्दु चौधरीले बताउनुभयो । काठमाडौंमा काम विशेषले करिब डेढलाख बढी थारु समुदायको बसोबास रहेको मानिन्छ ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu