लेखक:-छविलाल कोपिला,,
संस्कृति हरेक समुदायको आफ्नो मौलिक पहिचान हो । पहिचान, कुनै पनि जातिको जातीय कला, संस्कृति र भाषासंग जोडिएको हुन्छ । थारु समुदायमा पनि यस्ता धेरै संस्कृतिहरु रहेका छन् । जुन अहिले प्रायः लोप हुने अवस्थामा छन् । बचेका केही संस्कृतिहरु पनि बाह्य संस्कृतिको प्रभावमा छ । अहिले ती संस्कृतिहरुका मौलिकता माथि पनि प्रश्न उठिरहेको छ । यसकारण थारु समुदाय द्विविधामा रहिआएको छ । र, आ–आफ्नै किसिमको तर्क वितर्कले समाज भित्रै अन्यौलको स्थिति सिर्जना भएको यथार्थ पनि हामीसंग छ । त्यस मध्ये थारु समुदायको एक महत्वपूर्ण चाड ‘गुरही’ पनि हो ।
के हो गुरही ?
‘गुरही’ थारु समुदायको एक बाल पर्व हो र यसलाई धेरैले लुटो फाल्ने पर्वको रुपमा पनि लिन्छन् । यो पर्व साउन महिनाको शुक्ल पक्षको पञ्चमीको दिन पर्दछ । यसैदिन हिन्दूहरुको नामपञ्चमी पर्छ र अवधी समुदायको गुडिया पर्व पनि पर्छ । त्यसकारणले ‘गुरही’ र नाग पञ्चमी एउटै हो भन्ने धेरैको बुझाई रहेको छ । तर यो संयोग मात्रै हो वास्तविकता होइन ।
थारु समुदायको ‘गुरही’ पर्वको आफ्नै सामाजिक मूल्य र मान्यता छ भने नागपञ्चमीको आफ्नै छ । नागपञ्चमीमा सर्प र बिषालु किराहरुको पूजा गरिन्छ तर गुरहीमा न सर्पको पूजा हुन्छ न बिषालु बिच्छी, गोजरको । यी दुबै पर्वको मूल्य मान्यता र लोक बुझाईहरु पनि अलग अलग भएकोले यो भिन्न भिन्नै पर्व हो भन्ने कुरा बुझ्न जरुरी छ ।
थारु समुदाय प्रकृति पुजक अथवा प्राकृत धर्म समूह भित्रको एक जाति हो । प्रकृति प्रतिविश्वास गर्ने समुदाय भएकोले प्राकृत धर्म नै थारु जाति हो प्राचीन धर्म हो भन्ने कुरा धेरै इतिहासकारले उल्लेख गरेका छन् । तर पछिल्लो समयमा हिन्दू धर्मको प्रभावले आफूहरु हिन्दू भएको दावी गर्नेहरुको संख्या पनि छ । त्यसकारण कतिपय हिन्दू धर्मका पौराणिक मान्यताहरु पनि अनुसरण स्वभाविक लाग्छ । मिश्रित बसाईका कारण पनि एक अर्काका धर्म, आस्था र संस्कृतिप्रति सद्भाव तथा समान व्यवहारका कारण अन्य समुदायका सांस्कृतिक प्रभावले कतिपय संस्कृतिहरु थारु समुदायको लागि पनि मौलिक भइसकेको छ ।
‘गुरही’ पर्व एक गुरही (गाइने किरा) संग जाडिएको छ । गुरही एक उड्ने किरा हो । यसले मच्छर, भुस्ना लगायत शुक्ष्म किराहरुलाई खाने गर्छन् । यिनीहरुको संरक्षणले मच्छर (लामखुट्टे) र भुस्ना लगायत किराहरुको कमी हुने रोगव्याधी कम लाग्ने बैज्ञानिक धारणा छ । र यिनै किराहरुको पूजाले विभिन्न किसिमका रोग व्याधीहरु कम हुने जनविश्वास पनि थारु समुदायमा छ ।
लोकमान्यता
गुरही पर्व संग सम्बन्धि एक लोककथा पनि छ । उहिलेको जवानामा नरकमा विभिन्न किसिमका किराहरुको संख्या बढ्यो र रोगहरु पनि फैलियो । रोगका कारण मान्छेहरुको अकालमा मृत्यु हुन थाल्यो । स्वर्गलोकका देउताहरु पनि आश्चार्य चकित परे र सबै कुरा बुझ्नका लागि एक बालिकालाई पृथ्वीलोकमा पठाए । र, उनी एक साधारण परिवार जन्म लिइन् । उनको बाल्यकाल निकै रमाइलोसंग बित्यो । परिवारमा सबैले राम्रो मान्थे । तर, उनकी भाउजू भने देखी सहन्नथिन्, निकै दुःख दिन्थन् । उनी भने सहेर बस्थिन् ।
उनी ससाना बालबालिकाहरुसंग खुब खेल्न मन पराउँथिन् र खेल्थिन् । उनी निकै माया पनि गर्थिन् । उनलाई बालबालिकाहरुले पनि निकै माया गर्थे । उनी कपडाको ‘गुरही’ खुब मन पराउँथिन् । तर, उनीलाई देखिनसहने उनको भाउजूले सँधै गुरहीहरु कहिले लुकाइदिने कहिले फालिदिन्थिइन् । यसो गर्दा उनी निकै दुःखी हुन्थिन् तर केही भन्न सक्दैन थिइन् । भाउजूको डरले कहिले डेहरी (धान राख्ने भकारी) मुनि लुकाउँथिन्, कहिले घरको कुनामा । यसरी लुकाउँदा पनि सँधै भाउजूले फालिदिन थाले पछि एक दिन आफ्नो गुरही जस्तै किराको उत्पत्ति गरिन् । गुरही जस्तै सुन्दर सुन्दर किराहरु हावामा उड्न थाले पनि ऊ निकै खुशी हुन्थिइन् । छिमेकी बालबच्चाहरु पनि रमाउन थाले । यता त्यही गुरहीहरु मच्छर, भुस्ना लगायत शुक्ष्म किराहरुलाई खाने र मार्ने गर्न थाले । जसले गर्दा मच्छर, भुस्नाको प्रकोप पनि कम भयो र रोगव्याधीहरु पनि कम भयो ।
यता मान्छेहरुमा अकालमा मृत्यु रोकियो । र, उनी फेरि स्वर्गलोक जानू पर्ने भयो । उनीसंगको उठ बसले उनका बालसखाहरु यति मोहित भइसकेका थिएकी उनलाई कुनै हालतमा नछोड्ने भए । जान नदिने जिद्दी गर्न थाले । तर, उनी जानै पर्ने भएकोले कसैले रोक्न सकेन र जाने बेलामा गाउँका सबै बालबालिकाहरुले उपहार स्वरुप गुरहीको प्रतीक गुडिया र बाटोमा भोक लागे खानको लागि चना लगायतका खाने कुरा दिएर बाजा सहित बिदाई गरे । घर छोडेर जाँदा उनले आफ्ना गुरही सम्झन्छिन् र आमालाई मैले डेहरीमुनि गुरही राखेको छु त्यो राम्रोसंग राखिदिनू, स्याहारिदिनु भनेर यो गीत मार्फत सन्देश पनि पठाइन् जो यस्तो छ ः
‘दाङ बोले टिम्की, महदेवा बोले ढोल
डेहरिक गोरटिर मोर गुरही….. ।
त्यति मात्रै होइन, स्वर्गलोक जाँदा उनी धेरै ठाउँ बिश्राम गर्दै जान्छिन् । इमलीको रुखमुनि बसेर आफ्नो गुरहीलाई बिश्राम गराउँदै :
‘दाङ बोले टिम्की, महदेवा बोले ढोल
आमलिक रुखवाटिर.. गुरही ।
यसरी भोक, प्यास, दुख कष्ट झेल्दै उनी स्वर्गलोकमा हाजिर भइन् ।
कसरी मनाइन्छ गुरही ?
शुक्लपक्ष चौथीको चौकीदारले गाउँमा हाँक पार्छ । ‘घुघरी भिजाउ रे घुघरी भिजाऊ’ । गाउँका सबैले साझा चनाको घुघरी (कोहरी, चानक एक विशेष प्रकारको परिकार) भिजाउँछन् । अर्को दिन पञ्चमीको दिन साँझ चना पकाउँछन् । र गाउँका सबै घरका ससाना बालिकाहरु कपडाका टुक्राको गुरहीको प्रतीकको रुपमा गुडिया, चनाको घुघरी (चनाको एक बिशेष परिकार) चना नभए केराउ अथवा दलहन बालीको कोंहरी (घुघरी) र केटाहरु भने सोँटा (कोंर्रा) लिएर तयार हुन्छन् । सोँटा काँसको एक झप्पे अथवा दुई झुप्पे हुन्छ । बालबािलकाहरुलाई नयाँ नयाँ कपडाले पुतली जस्तै सजाइन्छ ।
साँझतिर गाउँको चौकिदारले हाँक हाल्छ । ‘अरे ! गुरही अस्राइ चलो रे, गुरही अस्राइ’ तब गाउँका बालबालिका घर–घरबाट थालमा गुरही र घुघरी लिएर निस्कन्छन् । यता गुरही अस्राउन (विसर्जन, सेलाउन) निस्कन्छन् र गाउँका घरमुली भान्सेहरु थाल र सुपा ठटाउँदै ‘खाँज खुजली सक्कु लैजा, रोग बिरोख सक्कु लैजा’ (लूतो सबै लैजा, रोगव्याधी सबै लैजा) भन्दै घर भित्रबाट निस्कन्छन् र बाटोसम्म गुरहीसंगै रोगव्याधी पठाउन आउँछन् । त्यसैगरि पृथ्वीलोक छोडेर स्वर्गलोक जाँदा ती चेलीले पोखेको विरहको भावलाई गीत मार्फत यसरी गाउँछन्
‘दाङ बोले टिम्की महदेवा बोले ढोल,
आमलिक रुखवातिर.. गुरही ।
जब गौर्ही (गाउँभरिका गाइ–गोरु जम्मा हुने ठाउँमा) गाउँ भरिक बालबालिका र कन्याहरु जम्मा हुन्छन् । तब गाउँको पन्हेरवाले एउटा निशाना गाड्छ । त्यसको एक छेउमा सबै केटाहरुलाई पंक्तिपद्ध गरेर उभ्याउँछ । यता केटीहरुलाई थालमा ल्याएको गुरही त्यहाँ फाल्छन् र केटाहरुले गुरही सोंटाले ठटाउँदै ‘दे घुघरी, दे घुघरी’ भन्छन् ।
थालमा ल्याएको घुघरी माग्न जान्छन् । साना साना बच्चीहरुले आफ्नो आमा, दिदीहरुको सहयोगमा सक्भर धेरैलाइृ पुग्ने गरि घुघरी बाँड्छन् र बाँड्दै गाउँको भुइह्यारथान (गाउँभरिको देउथान) मा जान्छन् त्यहाँ गाउँको ग्राम देउताहरुलाई प्रसाद चढाई मर्वाको छाप्रोमाथि छिटेर घर फकिन्छन् । र घर आएर पनि आफ्नो घरमाथि, अनाज राख्ने धनसार र बारीमा लगाइएका तरकारीहरुमा छिट्ने गर्छन् । यसो गर्दा घरमा भूतप्रेत नआउने, रोगव्याधी र लुतो नलाग्ने, भकारी धानमा बृद्धि हुने । बारीको तरकारी फल्ने जस्ना जनविश्वास छ ।
त्यसैगरि केटाहरुले ठटाउन लगिएको सोंटा कसैले नदेख्ने गरि लुकाएर ल्याइन्छ । त्यो पनि तरकारी बारीमा बाँधिन्छ । यसो गरे किरा फट्याङ्ग्रा न लाग्ने र फल पनि राम्रो लाग्ने कुरा थारु समुदायमा सामाजिक धारणा छ । त्यस्तै त्यही सोंटालाई धूप लगाई घोटेर घाउ, खटिरामा सञ्चो हुने, पेट दुखाई र ज्वरो आएमा पनि यसले औषधीको काम गर्ने कुरा जानकारहरुले बताउँछन् । यसरी गुरही पर्व विधिवत् सकिन्छ । यो बिशेष गरेर बालबालिकाहरुको एक पृथक पर्व हो । जुन पर्व लुतो फाल्नेदेखि लिएर बालीनाली सप्रिने मान्यताका साथ मनाइन्छ।
