काठमाडौं := कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्या प्रकरण छानबीनका लागि गठित उच्चस्तरीय छानबीन समितिका सदस्यले राजीनामा दिएका छन् ।
समितिमा ७ नम्बर प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट प्रतिनिधित्व गरेका उपसचिव विरेन्द्र केसीले पदबाट राजीनामा दिएका हुन् । भदौं ७ गते गठित समितिले तोकिएको १५ दिनभित्र प्रतिवेदन नबुझाएपछि सरकारले आइतवार समितिको म्याद १५ दिन थपेको थियो । ‘समितिको म्याद थप गर्दा कानूनी समस्या आउने भएकाले मैले राजीनामा दिएको हुँ,’ उपसचिव तथा समितिका सदस्य केसीले भने, ‘अपराधीलाई कठघरामा ल्याउनुपर्छ र पीडित परिवारले न्याय पाउनुपर्यो भन्ने मेरो मान्यता हो ।
समितिको म्याद बढाएर ३० दिन पुर्याउँदा कानूनी अड्चन आउने उनको दावी छ । ‘१५ दिनभित्र प्रतिवेदन नदिँदा कानूनी समस्या आउँछ, अभियुक्तलाई नै २५ दिनभन्दा बढी हिरासतमा राख्न पाइँदैन । ३० दिनमा गयो भने के हुन्छ ?’ उनले भने, ‘म्याद थपिनु हुन्थेन, प्रतिवेदन तत्कालै दिनुपर्छ भन्ने मेरो धारणा छ ।’
छानबीन समितिका सदस्यले नै राजीनामा दिएपछि घटना झन् रहश्यमय बनेको छ । यसअघि, जनतासँग प्रधानमन्त्री कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले झूटा घटनाक्रम बताएपछि कञ्चनपुरमा आक्रोश बढेको छ । ( साभार:-लोकान्तर डटकमबाट )
