हमार सनेश सहकर्मी ,,
काठमाडौं:= हिन्दु धर्मावलम्बीको महान पर्व बडादशैं आज घर–घरमा घटस्थापना गरी प्रारम्भ हुँदैछ । हिन्दु धर्मावलम्बीले आफ्ना पूजा कोठा वा दशैं घरमा विधिपुर्वक दियो कलश र गणेशको पूजा गरी जौँ वा मकै रोपेर जमरा राखी दुर्गा भवानीको आराधाना आरम्भ गरेसँगै बडादशैँ सुरु हुन्छ ।
आज घटस्थापनाको शुभ साइत बिहान ७ बजेर १५ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । आजैदेखि दशैँ घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आवाहन गरी पूजा आरम्भ हुन्छ । आज बिहानै नृत्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैँ घर वन पूजा कोठामा विधिपूर्पक राखेर त्यसमाथि जौ रोप्ने गरिन्छ । जौको अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले विजया दशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीकस्वरुप पहेँलो जमरा लगाउने चलन छ । घटस्थापनाको उपलक्ष्यमा आज काठमाण्डौँको हनुमान ढोका दरबारमा रहेको दशैँ घरमा वैदिक विधिपुर्वक जमरा राखी महाकाली महालक्ष्मी, सरस्वती लगायत नवदुर्गाको पूजा गरिन्छ । नवरात्रीभर घर–घरमा भगवतीका मन्दिरमा चण्डी र भगवती स्तोत्र वाठ पनि गर्ने गरिन्छ । दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकको रुपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तवीज लगायतका राक्षसहरुलाई वध गर्न लिएका नौ वटा रुपको दुर्गा पक्षका अवसरमा विशेष पूजा, आजा र आराधना हुन्छ ।
आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई दुर्गा पक्ष भनिन्छ । दुर्गा देवीका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आवाहन गरी पूजा हुन्छ । महाकाली शक्तिको प्रतीक, महालक्ष्मी धनधान्य र ऐश्वर्यको प्रतीक एवं महा सरस्वतीलाई विद्या तथा बुद्धिको प्रतीकको रुपमा पूजाआजा एवं आराधना गर्ने परम्परा छ । नवरात्रमा नवदुर्गाको पूजा यो पक्षको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैठौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ । नौवटा दुर्गाका रुपलाई नवदुर्गा भनिन्छ । दुर्गादेवीले आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै पूजा आराधना गर्ने शास्त्रीय नियम छ । दशैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ । दुर्गाको प्रतीकका रुपमा आजको दिनदेखि महानवमीसम्म प्रत्येक दिन फरक फरक गरी नौवटी कन्याको पूजा गरिन्छ । यसरी पूजा गरिने कन्या दुई वर्ष माथिका हुनुपर्ने शास्त्रीय विधान छ । बडादशैँको सातौँ दिन धार्मिक विधिअनुसार फूलपाती भित्र्याइन्छ । महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेहरुले दशैँ घर, कोत र शक्तिपीठमा बलिसहित विशेष पूजा गर्दछन् । नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद् भागवत र अन्य देवी स्तोत्र एवं स्तुतिहरुको पाठ गरिन्छ । यस अवसरमा नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवती लगायत देशभरका शक्तिपीठहरुमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्छ । टीकाको साइत कात्तिक २ गते बिहान ९ बजेर ५१ मा आज विधिपूर्वक घर–घरमा आवाहन गरी पूजा आराधना गरिने दुर्गा देवीलाई कात्तिक २ गते शुक्रबार विजयादशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रुपमा टीका, जमरा र फूल प्रसाद ग्रहण गरिन्छ । कात्तिक २ गते देवी विसर्जनको साइत बिहान ९ बजेर ३९ मिनेटमा रहेको समितिले जनाएको छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि भने कात्तिक २ गते ९ बजेर ५१ मिनेटको साइत उत्तम रहेको अध्यक्ष गौतमले बताउनुभयो । विजया दशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म आफ्ना मान्यजनबाट देवीको प्रसाद र आशीर्वाद ग्रहण गरिन्छ । पूर्णिमाका दिन धनधान्यकी प्रतीक महालक्ष्मीको व्रत बसी रात्रीमा जाग्राम रहेर पूजा लगाई धन ऐश्वर्य प्राप्तिको कामना गरिन्छ । यस दिन जाग्राम बस्ने मानिसलाई लक्ष्मीले धन धान्य दिई सम्पन्न बनाइदिने धार्मिक विश्वास छ ।
आजको दिन घटस्थापना गरेर राखेको जमरा कोजाग्रत पूर्णिमाकै दिन चोखो स्थानमा लगी विसर्जन गरिन्छ । परम्पराअनुसार काठमाडौँको हनुमानढोका दरबारमा रहेको दशौ घरमा आजैदेखि वैदिक विधिअनुसार जमरा राखी शक्तिस्वरुपा दुर्गा देवीको पूजा आराधना शुरु हुन्छ । रोजगारी, अध्ययन एवं अन्य काम विशेषले आफनो घर बाहिर रहेका मानिस दशैँको अवसर पारेर घर फर्कने र परिवारका साथ बसेर चाड मनाउने भएकाले यस पर्वलाई पारिवारिक पुनर्मिलनको पर्वका रुपमा समेत लिइन्छ । आजैदेखि धेरैजसो शैक्षिक संस्थाले दशैँका अवसरमा सार्वजनिक बिदा दिने गर्दछन् । घटस्थापनाका अवसरमा दिने बिदा भने यस वर्ष कटौती गरिएको छ । यस वर्ष दशैँको बिदा पनि असोज ३० गते फूलपातीदेखि कात्तिक ३ गते एकादशीसम्म दिइएको छ।