जनसंख्या घटाउने चौधरी दिदी (लिङ्क खोली एक चोटि अवश्य पढ्नुहोस्)

Thursday, 4 October 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

जनसंख्या घटाउने दिदी भनेर चिनिने मोरङको कटहरी गाउँपालिका–१, महेशपुर टोलकी ५४ वर्षीया सुखमाया चौधरी (बायाँ) र महिला वडा सदस्य ४० वर्षीया माहावती माझी । तस्बिर : जितेन्द्र
साह।

थारू समुदायका महिला घरबाट निस्कन लाज मान्ने त्यो बेला ०४६ सालमा उनी स्वास्थ्य स्वयंसेविका भएर परिवार नियोजन गराउने बिँडो सम्हालिन्

कटहरी, मोरङ — ‘त्यतिबेला हाम्रो यो टोलमा एक जनाकै कम्तीमा ६/७ बच्चा हुन्थे । अहिले छोरा वा छोरीमा भेदभाव नगरी दुईभन्दा बढी जन्माउँदैनन्,’ ५४ वर्षीया सुखमाया चौधरीले भनिन् । यस्तो सकारात्मक सोचको विकास गर्न र सानो एवं सुखी परिवारको महत्त्व बुझाउन निकै मिहिनेत गर्नुपरेको उनले बताइन् ।

मोरङको कटहरी गाउँपालिका–१ स्थित थारू बहुल महेशपुर टोलकी सुखमायालाई यही उपलब्धिका लागि स्थानीयले ‘जनसंख्या घटाउने दिदी’ र ‘सुई लगाउने दिदी’ भनेर चिन्छन् । उनी २९ वर्षदेखि महिला स्वास्थ्य स्वयंसेविकामा सक्रिय छिन् । ‘ऊ बेला परिवार नियोजनको साधन लिएर घरघरै पुग्थेँ, लाज एवं संकोचले लिन मान्दैन्थे, एक पटकमा बुझदैनथे, पटकपटक धाउनुपथ्र्यो,’ सुखमायाले भनिन्, ‘अहिले आफैं सम्पर्कमा आउँछन्, फोन गरेर सोध्छन् र साधन माग्छन् ।’

शिक्षा र चेतनाको विकासले छोराछोरीबीचको विभेदपूर्ण सोचको अन्त्य गर्न सघाइरहेको उनले बताइन् । ‘अहिले यहाँका हरेक परिवारमा एक वा दुई सन्तानमात्र देख्छौं,’ उनले भनिन्, ‘दुई छोरी नै भए पनि छोराकै लागि थप सन्तान जन्माउँदैनन् ।’
थारू समुदायका महिला घरबाट निस्कन लाज मान्ने त्यो बेला ०४६ सालमा उनी स्वास्थ्य स्वयंसेविका भएर परिवार नियोजन गराउने बिँडो सम्हालिन् । सफल भइन् । त्यही भएर स्थानीयले आदरपूर्वक सुखमायालाई मुख्यत: ‘जनसंख्या घटाउने दिदी’ उपनाम दिए । अझै थाकेकी छैनन् । सुखमायाले यो कामको थालनी गर्दा गाउँमा धेरै पढेलेखेका थिएनन् ।

उनले पनि ५ कक्षामात्र पढेकी थिइन् । अहिले यहाँ स्नातक उत्तीर्ण मनग्यै छन् तर पनि उनको महत्त्व कम भएको छैन । ‘सुखमाया दिदी हाम्रो टोलको सूचना अधिकारी नै हो, कसको परिवारमा कति सदस्य, कति सन्तान, कति पढेका र के काम गरिरहेका छन् उनलाई कण्ठस्थ छ,’ महिला वडा सदस्य माहावती माझीले भनिन् । उल्लेखनीय के छ भने उक्त गाउँपालिकाभरिमै सुखमाया थारू समुदायको एकमात्र स्वास्थ्य स्वयंसेविका हुन् । गाउँपालिकामा अहिले उनीजस्ता २७ जना छन् । उनीहरू अन्य जाति र समुदायका हुन् । महेशपुर टोलमा ०४६ मा मात्र २ सय ५० घर थियो । ०७५ मा ७ सय पुगेको छ । अझै यो पूरा टोलको महिला तथा बालबालिकाको स्वास्थ्य जिम्मा सुखमायाकै काँधमा छ ।

यो काम सुरु गर्दा उनी २५ वर्षकी थिइन् । उनका श्रीमान् जिल्ला जनस्वास्थ्यमा सीएमए थिए । ‘बच्चा जन्माउने यन्त्र बनिरहेका स्थानीय महिलाका हितमा भित्रैदेखि केही गर्न मन लाग्यो,’ सुखमायाले भनिन्, ‘यसका लागि घरबाट बाहिर निस्कन र समाजमा घुलमिल हुन जरुरी थियो, अनि बनिहालेँ गाउँघर क्लिनिकको महिला स्वास्थ्य स्वयंसेविका ।’

उनी तीनमहिने सुई लगाउने, कण्डम र पिल्स वितरण गर्ने गर्छिन् । गर्भवतीको हेरचाहदेखि सुई कति दिनमा लगाउने र आइरन चक्की कहिले खाने जानकारी दिन्छिन् । सुखमायाले सम्पर्कमा आएका नयाँ गर्भवती, नवजात शिशुकी आमा र अर्को महिना कति जनाले शिशु पाउने सम्भावना रहेकोबारे हरेक महिना गाउँघर क्लिनिकमा जानकारी दिन्छिन् ।

उनको विगत भने निकै पीडादायी छ । दुई दशकअघि श्रीमान्को निधनपछि सुखमायालाई आर्थिक रूपले कठिनाइ भयो । दुई छोरा र एक छोरीको जिम्मेवारी बेहोर्नुपर्यो । उनले डेढ किमि पश्चिम दक्षिणको सहर विराटनगरस्थित एक गार्मेन्ट कारखानामा दैनिक ४० रुपैयाँ ज्यालादारीमा काम गर्न थालिन् ।

फुर्सदमा साँझबिहान आफ्ना गाउँलेलाई कण्डम एवं जीवनजल बाँड्थिन् । ‘त्यतिखेर दैनिक ५/६ जनाले कण्डम लान्थे,’ उनले भनिन्, ‘अहिले पिल्स र तीन महिने सुईको बढी माग छ, पुरुषले कण्डम प्रयोग गर्न नमान्नाले हो ।’ सुखमाया यो कामबाट त्यो बेला कहिलेकाहीं गाविसले बैठक डाकेको बेला ३० रुपैयाँ भत्ता पाउँथिन् ।
अहिले पनि उनी गाउँघर क्लिनिकबाट मासिक ५ सय रुपैयाँ, महिनामा दुई पटक हुने खोप क्लिनिकबाट हजार रुपैयाँ र महिनामा हुने तीन बैठकबाट १ हजार २ सय रुपैयाँ गरी कुल २ हजार ७ सय रुपैयाँमात्र पाउँछिन् । ‘यो पूर्णतया सेवामूलक काम हो, मैले थाहा पाएरै रोजेको हो, त्यही भएर यसमा आम्दानी हेर्ने कुरा भएन,’ उनले भनिन् ।

अहिलेसम्म कुनै पनि दलसँग आबद्ध नरहेकी उनी गाउँकै न्यायाधीशझैं मानिन्छिन् । कसैको घरमा स्वास्थ्य एवं झैझगडाका समस्या भए सूचना पाउनेबितिकै साइकल लिएर पुगिहाल्छिन् ।‘कसैको घरमा सम्पत्ति विवाद र बूढाबूढीबीच किचलो भए उहाँलाई नै बोलाउँछौं,’ स्थानीय अवधनारायण चौधरीले भने, ‘घरायसी समस्या लिएर प्रहरी वा अदालत जानुपरेको छैन ।’

तर यो गरिमामय स्थानसम्म सुखमाया सहजै पुगेकी होइनन् । श्रीमान् बितेपछि छोराछोरीलाई अप्ठ्यारो गरी हुर्काइरहेकी उनलाई स्वयंसेविका भएर काम गर्न निकै गाह्रो भयो । ‘बूढा नभएकी फोकटिया काम गर्ने महिला भन्थे,’ सुखमाया सम्झिन्छिन्, ‘कोही पुरुषसँग बोल्दा वा हिंड्दा पनि चरित्रमाथि टीकाटिप्पणी गरिन्थ्यो ।’ हिम्मत नहारी निष्ठा एवं समर्पणका साथ लागेपछि गाउँले आदर गर्न थालेको उनले सुनाइन् ।

एकल संघर्षको बलमा तीन छोराछोरीलाई पढाइन् र आत्मनिर्भर बनाइन् । सबैको बिहे भयो । अहिले सन्तानहरूको पौरखले निर्मित आफ्नै घरमा उनी बसेकी छन् । हिंडेरै काम गर्दै आइरहेकी सुखमायाले तीन वर्षअघि आफ्नै पहलमा ९ वटै वडाका स्वयंसेविकाका लागि गाविसबाट साइकल झिकाइन् ।

नयाँ पुस्ताका महिला र युवायुवती पनि उनीबाट प्रभावित छन् । ‘उहाँलाई देखेर हामी पनि अगाडि आयौं,’ माहावती माझीले भनिन् । उनी पनि गाउँपालिकाको निर्वाचित महिला वडा सदस्य, कार्यपालिका सदस्य, न्यायपालिका सदस्य एवं दुर्गा महिला कृषि संघकी अध्यक्ष हुन् ।
प्रकाशित : आश्विन १८, २०७५ ०७:४९
            ( साभार- ekantipur.com )

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu