सुन्दरीको खेती : प्रतियोगीकै गोजीबाट आयोजकलाई आम्दानी!

Sunday, 7 October 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

स्वच्छा राउत ,,

धरान := २०१७ जुलाई २० मा 'मिस ब्युटी क्विन २०१७' को फिनाले भयो। बेस्ट स्टाइलिस्टको टाइटल पाइन् एल्जिना राईले। भोलिपल्ट सबैतिर समाचार। टाइटल जितेको वधाईका खबरले उनको फेसबुक वाल भरिए। तर, त्यहाँ वर्षिएका वधाईका संदेशले उनलाई मख्ख बनाउनै सकेन। टाइटल अवार्ड हुँदा पनि खुशी बन्न नसक्नुका धेरै कारण रहे, एल्जिनासँग। 

भक्तपुरस्थित एल्जी ब्युटी पार्लरकी संचालक हुन् एल्जिना। त्यहीँ पुगेर आयोजकले प्रतियोगिताका लागि फर्म भराएका थिए। उनलाई भनियो- 'मिस ब्युटिसियन नेपाल' हुँदैछ।' त्यसैका लागि फर्म भरेकी उनले टाइटल भने मिस ब्युटी क्विनबाट जितिन्। अनौठो लाग्नेगरी एउटा प्रतियोगिताबाट अर्को प्रतियोगिताको टाइटल हासिल गर्दाको घटनाक्रम रोचक छ।  

'भाग लिनुस्, फाइदा हुन्छ' भन्दै ढोकामै आएकालाई सोझै फर्काउन मन लागेन उनलाई। अनि चर्चामा आउने लोभ कसलाई नहोला र? त्यसमाथि नयाँ कुरा जानिने लोभ पनि। फर्म भरिन् - शुल्क ५ सय रुपैयाँ। त्यसपछि प्रशिक्षण, भ्रमण आदिका लागि भनेर १२ हजार रुपैयाँ पनि बुझाइन्। र, मिस ब्युटिसियन बन्ने सपना देख्न थालिन्।
 
प्रशिक्षण सुरु भयो। त्यही बीचमा उनीसँग थप ३ हजार मागियो। 

'किन त?' उनले सोधिन्।  

'तपाईंले त झुक्केर मिस ब्युटिसियन होइन मिस ब्युटी क्विनको फर्म भर्नुभएछ।' 

एल्जिनाले ३ हजारको मुख हेरिनन्। तर, कहिले फिल्ड भिजिटको नाममा त कहिले थप प्रशिक्षणको नाममा छुट्टै रकम तिर्नेक्रम जारी रह्यो। 

'र्‍याम्पमा यसरी हिँड्ने र यसरी बोल्नेबाहेक केही पनि सिकाएनन्। मलाई त लागेको थियो ट्रेनिङमा धेरै कुरा सिकिनेछ,' केही आक्रोशित हुँदै थपिन्, 'भाग लिएको १५/२० जना सबैले एउटा एउटा उपाधिबाहेक केही पाएनन्।'  

उक्त प्रतियोगिताको शीर्ष विजेता मनीषा पाण्डेलाई २५ हजार नगद रुपैयाँ दिने भनिएकोमा १० हजारमात्र दिइएको उनले बताइन्। भनिन्, 'फर्म भर्दा विजेतालाई उपलब्ध गराउने भनिएको ब्युटिसियन सम्बन्धि तालिमसमेत दिएनन्। बेक्कार दु:ख गरेर कमाएको पैसा खर्च भयो।'


‘सुन्दरी खेती’

एल्जिना सहभागी भएको प्रतिस्पर्धा अमेजन इन्टरटेन्मेन्टले आयोजना गरेको हो। अमाजोन त्यही कम्पनी हो जसले ६ वर्षयता हरेक वर्ष यस्तैखाले  ६/७ वटासम्म इभेन्ट संचालन गर्दै आएको छ। 

यो कम्पनी यति सक्रिय छ कि, एकै दिन दुईवटा प्रतियोगिता समेत आयोजना गर्न सक्छ। त्यसको उदाहरण हो गत सेप्टेम्बर १९ मा राष्ट्रिय नाचघरमा आयोजित दुई प्रतियोगिता। एउटा विवाहित महिला केन्द्रित ‘मिसेस ग्लोबल नेपाल २०१८’ र अर्को अविवाहित युवक केन्द्रित ‘मिस्टर ह्यान्डसम २०१८’।

एउटा हलमा दुई कार्यक्रम, एकपछि अर्को। अस्वभाविक तर ‘सफलताका साथ’ सम्पन्न भएको दाबी आयोजक अमेजनको छ। कम्पनीका व्यवस्थापक कमल खतिवडा भन्छन्- ‘समय र स्थानको उपयोगका लागि दुई कार्यक्रम एक साथ गरेका हौं।’ 

मिसेस ग्लोबल नेपाल, मिसेस नेपाल आइडल, नर्सिङ आइडल, मिसेस नेपाल एसिया प्यासिफिक, ब्युटिसियन नेपाल, मिसेस मंगोल नेपाल, मिस एण्ड मिसेस धादिङ नेपाल, मिसेस ब्युटी क्विन नेपाल, मिसेस हिमालयन नेपाल, क्यापिटल क्विन नेपाल, कोशी क्विन आदि अमेजन इन्टरटेनमेन्टले आयोजना गरेका सौन्दर्य प्रतियोगिताका नामहरु हुन्।

आयोजक कमल खतिवडा भन्छन्, 'हामी विवाहित र पेशा विशेष क्षेत्रमा लागेका महिलाहरुको क्षमता अभिवृद्धि र व्यक्तित्व विकासका लागि मञ्च दिन चाहन्छौं। टेक्निकल्ली हामीलाई पनि गाह्रो छ। तर, पनि सकेसम्म स्तरीय प्रतियोगिता गर्न कोसिस गर्छौं।' 

मिस नेपाल ग्लोबल २०१२ की शीर्ष विजेता निलम चन्द अहिले आफैँ सौन्दर्य प्रतियोगिता संचालन गर्छिन्। मिस फारवेस्ट नेपालका आयोजक चन्द एउटै कम्पनीले छोटो समयको अन्तरालमा धेरै कार्यक्रम गर्दा स्तरीय नबन्ने दावी गर्छिन्। 

'प्रतियोगिता प्ल्याटफर्म हो। आफूमा भएको कला देखाउने, क्षमता बढाउने। तर, त्यसो भन्दैमा जति पनि कार्यक्रम हुनु, जस्तो पनि हुनुलाई ठीक भन्न सकिँदैन,' उनले भनिन्, 'स्तर कायम राखे र साँच्चै राम्रो प्रशिक्षण दिन सके मात्र आयोजक र प्रतियोगी दुवैलाई राम्रो हुन्छ।'
 
कला प्रस्फुटनका लागि ठाउँ खोज्नुलाई केही आयोजकले व्यापारका लागि प्रयोग गरेको उनको दावी छ। भन्छिन्, 'केही आयोजकले गर्दा सबै सौन्दर्य प्रतियोगितालाई गलत रुपमा हेर्न थालियो।
 

प्रायोजक नै निर्णायक

शहर, समुदाय, जात विशेष सौन्दर्य प्रतियोगिताहरु बढ्दो छ। तर, यस्ता कार्यक्रम केही वर्षसम्म निरन्तर हुन्छ त केही सीमित संस्करणपछि सधैका लागि बन्द। केही भने एकपटक हुन्छ र आयोजकले नयाँ नाम दिएर उस्तै प्रतियोगिता गराउँछन्। नेपाल राष्ट्रिय मोडलिङ संघका अध्यक्ष दिनेश शाही भन्छन्, 'सौन्दर्य प्रतियोगिताको नाममा मौलाएको यस्तो धन्दा रोकिनु पर्छ। आजसम्म यस्ता प्रतियोगिताहरुको नियमन गर्ने निकाय नै छैन।' 

प्रतियोगिता र प्रशिक्षणको नाममा १०/१२ जना जम्मा गरेर सबैलाई टाइटल बाढ्नु यस्ता आयोजकका विशेषता बनिसकेको छ।
'यहाँ मनलाग्दी चलेको छ,' शाही प्रश्न गर्छन्,'प्रायोजकलाई निर्णायक बनाइन्छ। विषय, क्षेत्रको आवश्यक जानकारी र ज्ञान नभए पनि केही फरक छैन।' 

उनले यो मनोमानी नरोकिएसम्म प्रतिस्पर्धी स्वयं सचेत रहन पर्ने जनाए। यस्ता प्रतियोगितामा घोषणा गरिएको पुरस्कार नदिने, टाइटलको लागि बार्गेनिङ हुने, प्रतियोगीलाई टिकट बिक्री गर्न लगाउने आदि ट्रेन्ड मौलाएको जानकारी दिए। यसअघि फेस अफ दि वर्ल्ड प्रतियोगिताका लागि आयोजकले १० लाखसम्मको बार्गेनिङ गरेको बारे एक्सक्लुसिभ रिपोर्ट पहिलोपोस्टमा प्रकाशित थियो। 

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu