दशैं र तिहार सँगसँगै सुनसान बनेको शहर बिस्तारै फेरि पुरानै अवस्थामा फर्किदैछ । उही भीडभाड, धूवाँ, धूलो र सवारी आवागमनमा असुविधाको पुनरावृत्ति हुँदैछ । दशैका लागि घर जानेहरु गाउँको घरमा बुढाबुढी र असक्त छोडेर शहर पस्नेको लर्को लागेको छ ।
कामकाजी र जागीरे आफ्नो पेशालाई निरन्तरता दिन शहर पस्नु त ठिकै हो तर हाम्रो समाजमा औकात देखाउँदै काम न काजका मान्छेहरु गाउँ छोडेर शहर पस्नु चाँही अचम्मको संस्कृति बन्दै छ ।
गाउँबाट शहर र शहरबाट यूरोप, अमेरिका मात्रै होईन रोजगारीको लागि अधिकांश हामी युवाहरु खाडी मुलुकहरुको श्रम बजारमा रगत र पसिना बेचिरहेका छौ। रेमिट्यान्सले काम गर्ने बानी बिगारी दिएको कारण बुहारीहरु काठमाडौं लगायत धरान, ईटहरी, दमक, बिर्तामोड, लसुने, थो बसन्तपुर, धनकूटा, आदि अत्यादि आफूलाई पायक पर्ने शहरी ईलाकामा बच्चाबच्चीकोको शिक्षाको बहानामा अनुत्पादक, खर्चिलो र बिलासी जीवनशैली बिताई रहेका छन् । रहर, बाध्यता र अवसरको लागि पनि गाउँ छोडने बाध्यता भएसँगै शहर जानु शान, मान र औकातको रूपमा समाजले अर्थ्यादिंदा उनीहरु शहर पस्नु बाध्यता भन्दा पनि देखासिकी बढि बन्न पुगेको छ । कारण केटाकेटी पढाउने बहाना, बहाना मात्रै बन्दै छन ।
यो रमिता हेरेर बस्ने सरकार पनि उनिहरुसँगै चोचोमोचो मिलाए झैं गर्दैछ नत्र शहरमुखी शिक्षालाई प्राथमिकता दिंदै गएर गाउँमा राम्रा बिद्यालय र कलेज बनाउने सोच नल्याउनु मात्रै होईन भएकाको पनि संरक्षण, संबर्धन र व्यवस्थापन गर्न तिर नलाग्नुको कारण के ? भौगोलिक विकटता र नीति निर्माताहरुको दुराग्रहपुर्ण सोचले मात्रै यो सब भईरहेको होईन । गाउँलेहरु आफ्नो गाउँप्रतिको दृष्टिकोण, जिम्मेवारी र कर्तव्यपरायणताबाट च्यूत भएका कारण नै गाउँ शिक्षा, स्वास्थ लगायत बिकास निर्माणको काममा पछाडी परेकोछ । चाडबाडको बेला सम्झिने गाउँलाई अरुबेला सम्झिनु पर्छ कि पर्दैन ? आदाङबासे...?
खान लगाउन प्रशस्त पुग्नेहरु पनि रोजीरोटीको खोजीमा शहर पस्नेकै हुलमा मिस्सिएर शहर पसेपछि गाउँ युवाबिहिन बनेको छ । चाडपर्व मात्रै होईन प्रथा र परम्परा क्रमश: लोप हुँदैछ । आधुनिक बन्ने होडमा करेसाबारीमा फल्ने साग, घरै उज्यालो हुने सयपत्री, मखमली र गोदावरी फ़ुल रोप्न छोडेर शहरबाट गाउँ जाँदा घर प्लास्टिकका फुल बोकेर जाने अवस्था सिर्जना भएको छ । यस्तो अवस्था सिर्जना गर्ने को ? तिनै गाउँलेहरु हुन् । जसले रेमिट्यान्सको मातमा गाउँको संस्कार , संस्कृति , प्रथा र परम्परा मात्रै होईन सामाजिक मूल्य र मान्यता पनि गुमाएर आफ्नो पहिचान बिर्सिदै छन् । परिचयमा आफ्नोपन र मौलिकता गुमाएपछिको औचित्य के बाँकी रहन्छ ?
हो गाउँमा गतिलो विद्यालय छैन, स्वास्थ्य उपचारको लागि राम्रो अस्पताल छैन, रोजगारको लागि अवसर पनि छैन सी सब नहुनुको कारण बिकास निर्माण नचाहेर शहर पस्न उद्धत गाउँलेहरु नै होईनन् ? बिकास निर्माणको माँग राखेर आबाज बुलन्द गर्ने कोही नभएकै कारण गाउँ ओझेलमा परेको कुराको आत्मसात कसले गर्ने ? चाडबाडमा मात्रै सम्झिने गाउँलाई अरुबेला किन सम्झिनन् ? शहरमा पैसा टिप्न आएका बेकारीहरुको मन गाउँमा मान्छे मर्दा घाट लाने मलामी नपाउँदा किन दुख्दैन ? गाउँलाई सबैभन्दा पहिला जसको गाउँ हो उसैले गर्नु पर्छ । गाउँलाई बसोबास स्थल बनाउनको लागि नीतिनिर्माताहरुसँग उनिहरु नै जोडिईनु पर्छ अनि पो बिकास निर्माणको थालनी हुन्छ ।
आफू केही नगर्ने अनि गर्न खोज्नेलाई पनि खुट्टा तानेर तल नै राख्नुमा ब्यस्त रहनेको कमि छैन! कामकाजी र जागीरे बाहेक रेमिट्यान्सले धानिएकाहरु शहर छोडेर गाउँ फर्कौं त किन बन्दैन प्रभावकारी योजना ?
कृषि र पशुपालन हाम्रो प्रमुख आयस्रोत हो त्यसैलाई निरन्तरता दिने हो भने पनि गाउँको उर्वर जमिन बाँझो बस्ने थिएन । त्यो सोच आएन भने धौले घरहरु खण्डहरुमा परिणत हुनेछ र परिचय सक्किनेछ र परिचयसँगै चाडबाड र रिति रिवाज तिथि पनि सक्किने हुँदा गाउँको बिकास निर्माणलाई गम्भीरता पूर्वक सोचेर सम्बन्धित सबैले परनिर्भरता त्यागी आफ्नो गाउँ आफै बनाउने तिर लागौं ।
विदेशी भूमिमा श्रम बेच्ने आफ्ना आफन्तको पसिनाको मूल्य रेमिट्यान्सलाई हावामा नछरौं । त्यसको सही सदुपयोग गरौं र गाउँको बिकासमा पहल गरौं । गरे नसकिने केही छैन । यो खोक्रो तामझामबाट पर आफ्नो गाउँ सुन्दर र बिकसित बनेपछि देश सुन्दर र स्वच्छ ऑउटोमेटिक बन्छ ।
फेरी पनि आउने बाचाका साथ बिदा हुन चाहान्छु,धन्यबाद, सेवारो ।। समाप्त....


