दानवीर सांसद चन्द्रकाँत चौधरीद्वारा नगरपालिकालाई पाँच करोडको जग्गा दान

Wednesday, 12 December 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

सप्तरी := सप्तरीको डाक्नेश्वरी नगरपालिकाको कार्यालय भवन निर्माणकालागि प्रतिनीधि सभा सदस्य चन्द्रकान्त चौधरीले करिब पाँच करोड रुपैयाँ भन्दा बढी मूल्यको १० कट्ठा जग्गाको लालपूर्जा मङ्गलवार हस्तान्तरण गरेका छन् ।

पातो बजार स्थितको उक्त जग्गा दान गरी सोको लालपूर्जा डाक्नेश्वरी नगरपालिकामा आयोजित एक समारोहका बीच मेयर शिवनारायण साहलाई हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बोल्दै पातो निवासी सांसद चौधरीले आफु विद्यार्थी जीवनकालमा राजा हरिश्चन्द्रको नाटक हेरेर आफु दान गर्नकालागि उत्साहित भएको बताउँदै बाँचुञ्जेल जनताको सेवामा लागिरहने प्रतिवद्धता व्यक्त गरे ।

भारतको दरभङ्गा स्थित मारवाडी कलेजमा अध्ययनरत रहँदा आफ्नै गाउँमा सर्वसाधारण एवम् विपन्न जनताका छोराछोरीले समेत पढ्न पाउन् भने संकल्पका साथ आफ्नै जग्गा दान दिएर विद्यालय खोलेको जानकारी दिँदै उनले भने ‘गाउँमै बजार बसाउन, स्वास्थ्य संस्था, कृषि उपकेन्द्र, पशु सेवा केन्द्र, डाक्नेश्वरी भगवती स्थल, सशस्त्र प्रहरी क्याम्प, प्रहरी चौकी, खानेपानी लगायतमा गरी हालसम्म करिब ७० बिघा जग्गा दान गरिसकेको छु ।’

वि.सं. २०१८ सालदेखि राजनीतिमा लागेका ७२ वर्षिय सांसद चौधरीले डाक्नेश्वरी नगरपालिका अझैं विकास निर्माण एवम् सेवा सुविधाको दृष्टिकोणले पछाडी रहेको भन्दै उप–प्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले गरेको प्रतिवद्धता अनुसार २५ बेडको अस्पताल निर्माण कार्य यसैवर्षदेखि शुभारम्भ गरिने बताए । अस्पतालका लागि समेत आफुले थप १३ कट्ठा जग्गा दिने प्रतिवद्धता व्यक्त गर्दै उनले भने ‘आफ्नो लागि त सबै बाँच्छन्, अरुकोलागि पो बाँच्नुपर्छ त्यसैले जिन्दगी रहुञ्जेल जनताको सेवामा जुटिरहन्छु ।’

सोही कार्यक्रममा बोल्दै प्रदेश नम्वर २ का सांसद विदेश्वर यादव ‘विक्की’ले राष्ट्रिय जनता पार्टीका नेता समेत रहेका चौधरीले पुर्याएको योगदान शब्दमा वर्णन गर्न साध्य नरहेको बताए । जनताले आफुलाई विश्वास गरेर मत दिएको भन्दै जनताको सेवामा आफु तत्पर रहेको प्रतिवद्धता व्यक्त गर्दै उनले भने ‘यो क्षेत्रमा ठूलो कोल्ड स्टोर सञ्चालनकालागि प्रयासरत छौं, जनताको आधारभूत आवश्यकतालाई महशुष गर्दै सोही अनुसार हामी काम गर्न अगाडि बढेका छौं ।’

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य अवधेश कुमार झाले सांसद चौधरी जिल्लाको पश्चिमी भेगका जनताकालागि वरदान नै साबित भएको बताए । डाक्नेश्वरी नगरपालिकालाई नमूना बनाउने उद्देश्यका साथ अगाडि बढ्नुपर्नेमा उनले जोड दिए ।
नगरपालिकाका मेयर साहको अध्यक्षतामा आयोजित समारोहमा जग्गादाता चौधरीलाई विशेष सम्मान गरिएको छ । उनले नगरपालिकालाई उदाहरणीय एवम् सुविधासम्पन्न बनाउने संकल्पका साथ आफु अगाडि बढेकोले सहयोग गर्न सबैपक्षसँग आग्रह गरे ।

सोही अवसरमा सांसद चौधरी नव निर्मित नगर सभा हल र हाटबजार सेडको रिबन काटेर उद्घाटन गरेका छन् । कार्यक्रममा उप–प्रमुख ईन्दू देवी यादव, प्रमुख प्रशासकीय अधिकृत मिलन दाहाल, वडा नम्वर–५ का अध्यक्ष दुःखहरण मण्डल लगायतले मन्तव्य व्यक्त गरे।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu