सहदेव चौधरी/देश सञ्चार,,
काठमाडौं:= थारु समुदाय यस वर्षको नयाँ वर्ष ‘थारु राष्ट्रिय माघी महोत्सव’ चाबहिलस्थित ह्यात होटलसँगै रहेको तारा गाउँ पार्कमा मनाउने भएका छन्।नेपाली सेनाले टुँडिखेल मगर समुदायलाई दिएपछि आक्रोसित बनेको थारु समुदाय राष्ट्रिय चाड माघीलाई यस वर्ष चुच्चेपाटीमा मनाउन लागिएको थारु कल्याणकारिणी सभाका प्रचार प्रसार संयोजक किशोर चौधरीले जानकारी दिए।
यस्तै थारु कल्याणकारिणी सभाका उप-महामन्त्री मिनराज चौधरीका अनुसार थारु समुदायले यस वर्ष सेनाका टुँडिखेल नदिएपछि चाबहिलस्थित चुच्चेपाटी मैदानमा मनाउन लागिएको हो।
माघीलाई सभ्य र भव्य बनाउन सास्कृतिक झाँकी तथा र्याली प्रदर्शनी गरिनेछ जसको लागि विहान १०: ३० बजे चाबहिल चौकमाजम्मा भइ चुच्चेपाटी बौद्धस्थित ह्यात रिजेन्सी होटलको फिल्डमा आयोजना गरिएको मूल समारोहमा सरिक हुन सकिने उनले बताए। उनले भने, ‘माघी महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रम समेत राखिएको छ। माघी महोत्सवमा १ सय ५० वटा स्टल राखिने छन्। जसमा थारु परिकारहरुको स्टल, भेषभूषा, कला संस्कृति समेत हेर्न पाइन्छ।’
सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारू समुदायको नयाँ वर्ष माघी पर्व पर्दछ । माघ १ गतदेखि पाँच दिनसम्म धुमधामका साथ तराई क्षेत्रमा यो पर्व मनाइन्छ। पुसको अन्तिम दिन रातभर जाग्राम बसेर रमाइलो गरी माघीका दिन बिहानै नयाँ वर्षलाई स्वागत गर्ने परम्परा छ।
आफूभन्दा ठूलासँग आशीर्वाद लिइन्छ भने सानालाई आशीर्वाद दिने गरिन्छ । बहिनी र छोरीलाई विशेष दान दिने संस्कृति थारू समुदायमा छ । माघ १ गते बिहानै जलाशयमा गई स्नान, पूजा गरी ठूलाबडा कहाँ गएर आशीर्वाद लिने परम्परा थारू समुदायको छ ।
बेलुका घरमा ठूला मुढा बालेर धुनी जगाउँछन् । धुनीको चारैतिर घरपरिवार र पाहुना बसेर खानपिन गर्छन्। यस दिनदेखि पाँच दिनसम्म उनीहरुले आफू स्वतन्त्र भएको अनुभव गर्छन् ।
यस अवसरमा सक्नेहरु चारधाम जाने र नसक्नेले नजिकको तीर्थमा गई गच्छेअनुसार दीनदुःखीलाई दान गर्ने चलन छ। कुनै कारणवश श्राद्ध कर्म रोकिएकाले आजैका दिन श्राद्ध गर्नुपर्छ भन्ने मान्यता पनि यस समुदायमा छ।
तिलले स्नान गर्नु, तिलको तेल घस्नु, पितृलाई तिलयुक्त जल दिनु, तिल हवन गर्नु, तिल दान गर्नु र तिल खानु गरी जम्मा छ प्रकारले तिलको प्रयोग यस दिन जसले गर्छ त्यो असफल हुँदैन भन्ने विश्वास थारू समुदायमा पनि छ। तिलको तेल घस्नाले शरीरको तापक्रम बढ्न गई जाडो कम हुन्छ भन्ने वैज्ञानिक मतसमेत छ।
गाउँका मुखिया, महतो, गुरुबा, पूजारी, धामी, झाँक्री, चौकीदार, कमैया, हली, गोठालो, घरायसी काम गर्ने आदि सबैले माघीका दिन आपसी सहमतिबाट एक वर्षका लागि नाइके छनोट गर्छन्। थारू जातिमा यस दिन गरिएको सहमति एक वर्षका लागि अकाट्य हुन्छ। बीचमा फेरबदल हुँदैन।यस प्रथालाई माघी देवानी भनिन्छ।
विशेषगरी तराईका थारूले चामल र मासको दालबाट बनाइएको खिचडी खाने हुनाले यस चाडलाई तराई क्षेत्रमा खिचडी भन्ने चलन पनि छ। थारू समुदायका मानिसले माघीका दिन खानका लागि पुसकै दिन अनदी चामलको जाँड बनाएर राख्ने गर्छन्। विवाह, यात्रा, बसाइँसराइका लागि माघीका समयमा साइत हेर्न नपर्ने विश्वास पनि थारू समुदायमा छ।