लखन चौधरी
धनगढी:= कैलालीको कैलारी गाउँपालिकाले थारु भाषालाई कामकाजी भाषा बनाउने निर्णय गरेको छ । थारु बाहुल्य रहेको सो गाउँपालिकाको विहिवार बसेको गाउँ सभाबाट थारु भाषालाई कामकाजी बनाउने निर्णय गरेको हो ।
गाउँसभाको बैठकमा जनप्रतिनिधिले पनि थारु भाषामा बोल्न पाउने निर्णय गरेका छन् । लिखितमा भने नेपाली भाषा रहने जनाइएको छ । थारु भाषालाई कामकाजी बनाउने जिल्लाको पहिलो गाउँपालिका हो ।
गाउँपालिकामा ९५ प्रतिशत थारु जाति र बाँकी पाँच प्रतिशत अन्यको बसोबास रहेको छ । त्यस्तै यो गाउँपालिकालाई थारु स्वायत्त क्षेत्र बनाउनका लागि पनि प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको छ ।
स्थानीय सरकार सञ्चालन ऐनको परिच्छेद १४ को दफा ९९ (२) ग बमोजिम सामाजिक, साँस्कृतिक र आर्थिक विकासका लागि स्वायत्त क्षेत्र बनाउन अनुरोध गर्ने गाउँसभाले सर्वसम्मतका साथ निर्णय पारित गरेको गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले जानकारी दिए ।
यतिमात्रै होइन सो गाउँसभा बैठकले ५ वटा सडकलाई थारु समुदायका लागि योगदान पु¥याएका पूर्वज तथा शहीदको नाममा नामाकरण गर्ने निर्णय पारित गरेको छ ।
सुर्मीनालादेखि बेनौलीसम्मको सडक खण्डलाई ‘छिमानन्द महतो डगर’, बैनौलीदेखि पृथ्वीपुर हुँदै भगतपुरसम्मको सडकलाई ‘विनोद चौधरी डगर’, सडकपुरबाट कुकुरभुक्का हुँदै लोहरपुरसम्मको सडकलाई ‘चक्रबहादुर डंगौरा डगर’ नामाकरण गर्ने निर्णय गरिएको छ ।
यस्तै, हसुलियादेखि रानामुडा हुँदै कुकुरभुक्कासम्मको सडकलाई ‘जोखन रत्गैंया डगर’ र बैजपुरदेखि बसन्ता हुँदै भुईयाँफाँटा गाउँसम्मको सडकलाई ‘रामप्रसाद पल्परिया डगर’ नामाकरण गर्ने निर्णय गरिएको छ ।

