राम दहित/कैलारी अनलाईन,,
धनगढी:= नेपाल आइस विन्दास म्युजिक आवार्ड २०७६ को टपलिष्टमाा पर्न सफल सर्वोत्कृष्ट गीतकार विधाको ‘छमछम बोले पायल’ गीतलाई टपलिष्टबाट हटाइएको छ ।
बास्तविक रचनाकारको स्थानमा फरक व्यक्तिको नाम पर्न गएकोले उक्त गीतलाई हटाइएको कार्यक्रम संयोजक हरेन्द्र चौधरीले जानकारी दिए । उक्त गीतका गीतकार मनोज बन्धक हुन् । तर, गीत गायक बसन्त महतोको नाममा सर्वोत्कृष्ट गीतकार विधाको टपलिष्टमा राखिएको थियो । उक्त गीतले विवाद आउन लागेको भन्दै लिष्टबाट हटाएको संयोजक चौधरीले जानकारी दिए ।
लोप हुंदै गएको थारु मौलिक कला, संस्कृति एवम संस्कारलाई संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले आगामी चैत १ र २ गते धनगढीमा आयोजना गरिने कार्यक्रममा १८ विधामा कलाकारहरुलाई अवार्ड बितरण गरिने संयोजक चौधरीले जनाए ।
टप १० को भोटिङ फागुन ५ गतेदेखि शुरु हुने जानकारी दिदै संयोजक चौधरीले अन्तिम भोटिङ फागुन महिनाको २९ गते राति १२ बजे बन्द हुने बताए । अवार्डको प्रत्येक बिधाका ४० प्रतिशत भोटिङ, ५० प्रतिशत जुरी मेम्बर र १० प्रतिशत आयोजकको तर्फबाट गणना गरी फाइनल छनोट गरिने संयोजक चौधरीले बताए ।