थारु समुदायकी एक होनहार,निडर र साहसी युवती : इन्दु थारुको कथा (पढेर एक सेयर अनिवार्य गर्नुस्)

Wednesday, 12 June 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
इन्दु थारु,,
जीन्दगीले मलाई कुनै पनि कुरा थालमा पस्किएर दिएन । म सानै हुँदा बाबा भूमिगत हुनुभयो । मलाई उहाँको अभाव सामना गर्न प¥यो । मेरो पेटलाई भोक लागिरहेको हुन्थ्यो, म चुपचाप सहेर बस्नपथ्र्यो । किताब किन्ने पैसा थिएन, मैले अरुको मागेर पढेँ । हजुर बुबा, बाबा र अंकल सबैलाई गुमाइसकेपछि हामीले दशैं मनाउन छोड्यौं, दिपावलीमा दियो बाल्न छोड्यौं । हाम्रो जीवन यस्तो सन्नाटाले छायो, म वर्णन गर्न सक्दिन ।
तलको लिङ्क क्लिक गरि डकुमेन्ट्री हेर्नुस् :- 

  धेरै कुरा याद छैन मलाई तर आमा भन्नुहुन्छ, बाबा धेरै मेहनती हुनुहुन्थ्यो । आफ्नो मेहनतले धनगढीमा घर बनाउनुभयो । मेडिकल खोल्नुभयो । टोल छिमेकमा सबैले माया गर्थे हामीलाई । सबकुछ राम्रो थियो । अचानक बाबा घर आउन छोड्नुभयो । घरमा पुलिसहरु आउन थाले । पुलिस र शाही सेनाले धनगढी र हसुलिया दुवै घर घेर्न थाल्यो । छिमेकीहरु डरले हाम्रो घर आउन छाडेका थिए । सेनाले तिमीहरुको घर बमले उडाइदिन्छौं, तिमीहरु सबलाई मारिदिन्छौं भन्थे । आफ्नो छोराहरुलाई माओवादी बनाइस्, तेरो छोराहरुलाई मारिदिन्छौं भन्दै हजुरबुबालाई कुट्थे । हजुरआमाले ती दिन सम्झिँदा गहभरि आँशु निकाल्नुहुन्छ । हजुरबुबालाई कुट्दा हजुरआमा बचाउन जानुहुन्थ्यो अनि उहाँ पनि कुटाइ खानुहुन्थ्यो । धनगढीमा पनि पुलिसले सताउन थालेपछि सबैजना संगै बस्ने सल्लाह भयो । बाँच्ने आशा त थिएन, त्यसैले मरे सँगै मरौला भनेर गाउँ बस्न थाल्यौं ।
…..
धनगढीमा म बाबाको साथी राज अधिकारीको बोर्डिंग स्कुलमा पढ्थे । बाबा भूमिगत भएपछि उहाँले मलाई फ्रिमा पढाउनुभयो । फि तिर्नसक्ने स्थिति पनि थिएन । गाउँ गएपछि भाइहरु स्थानीय स्कुलमा पढ्ने भए । म भने अर्को स्कुलमा । नजिकैको प्रहरी चौकीबाट त्यो माओवादीको छोरी हो, पढ्न दिइस् भने गाह्रो पर्ला भनेर धम्काएपछि मेरो भर्ना लिइएन । त्यहीबेला सपरिवार भूमिगत हुने छलफल भयो । भूमिगत हुने हो भनेर मलाई जगत अंकलले सोध्दा, म पढ्न चाहन्छु, धेरै पढ्न मन छ भनेको थिएँ । गाउँमा पढ्न नदिइएपछि म फेरि धनगढी आएँ । र, फेरि बाबाको साथीको बोर्डिंङ स्कुलमा पढ्नथाले । धनगढीमा सानी छोरी एक्लै बस्ने भएपछि उहाँले मलाई आफ्नो घरमा राख्नुभयो । तर उहाँको घरमा पनि राति पुलिस आए । माओवादीको छोरीलाई घरमा किन राखेको भन्दै हप्काए । रिस्क लिएर मलाई राख्ने स्थिति नभएपछि उहाँको घरमा बस्न छोडे, तर पढाइ छोडिन ।
……
सानो छँदा आमाले पढाउनका लागि धेरै दुःख गर्नुभयो । घरको खर्च जुटाउनका लागि आमा मजदुरी गर्न अर्काको धान रोप्न त कहिले चामल केलाउन जानुहुन्थ्यो । कहिले छिमेकको घरमा काम सघाइदिनुहुन्थ्यो, त्यो बापत थोरै पैसा पाउनुहुन्थ्यो । उहाँ सानो छँदा कहिल्यै स्कुल देख्नुभएन, तर हामीलाई पढाउन उहाँ बोर्डिङ स्कुलमा झाडुपोछा लाउनुभयो । बाबा छँदा उहाँले अर्काको घरमा काम वा मजदुरी पनि गर्नपर्ला भन्ने कहिल्यै सोच्नु भएको थिएन सायद । आमा मलाई भेट्न हिँडेर हसुलियाबाट धनगढी आउनुहुन्थ्यो, बस चढ्ने पैसा नभएर । उहाँसंग भएको थोरै पैसा मलाई दिनुहुन्थ्यो कापीकलम किन्नु भनेर । एउटा कमजोर र रोगी शरीरमा मेरी आमाले धेरै दुःख गर्नुभयो । उहाँ यति धेरै दुब्लाउनु भयो कि शरीर अस्थिपञ्जर जस्तो देखिन थाल्यो । पीडाले यति धेरै रन्थनिनुभयो कि लामो समयसम्म उहाँ मानसिक असन्तुलनको बिरामीजस्तै हुनुभयो । उहाँ सधैं एउटै कुरा रट्नुहुन्थ्यो फेरि लडाइँ हुन्छ, फेरि गोली चल्छ, फेरि मान्छे मर्छन् । हे भगवान् बचाउ, मेरा छोराछोरीलाई बचाउ ।

धनगढीमा म एक्लै बस्थे । मर्निङ स्कुल थियो । कसले नास्ता बनाइदिने ? म भोकै स्कुल जान्थे । टिफिन टाइममा सबै साथीहरु केही न केही खाइरहेका हुन्थे । म भोकले चुपचाप कक्षाकोठामा बस्थे । ११ बजेतिर छुट्टी हुन्थ्यो । स्कुल भ्यान पाएन भने म हिँडेर आउनपथ्र्यो । घर पुगेर अरु साथीहरुले मिठो खाना पाउँथे होलान् । तर म घर पुगेर खाना पकाएर खान्थे । खाना पनि दाउरामा बनाउन पथ्र्यो । त्यो गर्मीमा दाउराले खाना बनाउन बहुत झ्याउ लाग्थ्यो । अल्छी लागेको दिन त खाना नबनाई सुतिदिन्थे ।
स्टेपिङमा म एक वर्षमात्र पढ्न पाएँ । बाबाले सरकारी स्कुलमा पढ्नपर्छ भन्नुभयो । पार्टीको निर्णय थियो रे । त्यो निर्णय कति माओवादीले आत्मसात गरे मलाई थाहा छैन, तर मेरो बाबाले मलाई सरकारी स्कुलमा पढ्न भन्नुभयो । त्यसपछि म धनगढी माध्यमिक विद्यालयमा पढ्न गएँ । एउटा कक्षामा २ सेक्सन हुन्थ्यो । एउटै सेक्सनमा १०० बढी विद्यार्थी । मेरो पढाई राम्रो छ भन्दै स्कुलले भर्ना शुल्क मिनाहा ग¥यो, तर परीक्षा शुल्क भने तिर्नपथ्यो । किताबचाहिँ अर्काको पुरानो मागेर पढे ।
९ र १० कक्षामा पुगेपछि मेरो क्लासका ५–६ जना साथीहरु म कहाँ हिसाब सिक्न आउँथे । जानेको सिकाइदिन्थे । साथीहरुले सिकाएबापत केही पैसा दिन थाले । लिन्न भन्न सकिन, मेरो आफ्नो घरमा कुनै आयस्रोत पनि थिएन । एसएलसीपछि सुदूरपश्चिमाञ्चल उच्च माविमा प्लस टु पढेँ र नेपाल आदिबासी जनजाति महासघंका डा. ओम गुरुङको पहलमा मलाई त्यसबेला २५ हजार रुपियाँ छात्रवृत्ति मिलेको थियो । ब्याचलर पढ्न भने कैलाली बहुमुखी क्यापस गएँ । विद्यार्थी राजनीति गर्ने र विद्यार्थी नेताका पछि लाग्नेहरु धेरैले छात्रवृत्ति पाउँछन् त्यहाँ । तर गुहार माग्दा पनि मैले कुनै छात्रवृत्ति पाइन । परीक्षामा सहभागी हुन धान बेचेर क्याम्पसको फि बुझाएँ । पछि धनगढीको बोर्डिङ स्कुलमा पढाउन सुरु गरे र मास्टर्ससम्मको पढाई पूरा गरे ।
क्याम्पस लेबलको पढाई पुगिसक्दा पनि अभावमा बाँच्नपर्दा मलाई जिउन बेकार लाग्थ्यो । यस्तो जिउनु पनि जिउनु हो र ? यो त मृत्युभन्दा दुःखद जिउनु रहेछ । म किन बाबा भएको ठाउँ जान सक्दिन, मलाई के ले रोकेको छ ? सेना पुलिसले द्वन्द्वकालमा धेरैको परिवार सखाप पारेको सुनेको थिएँ । हामीलाई चाहिँ किन बाँकी राखेको, यही पीडा भोग्नलाई ? यस्तै यस्तै सोचेर मेरा दिन र रातहरु बित्थे । मैले कोठाको सिलिङतिर कैयौं पटक आँखा नपुगाएको होइन । तर म डराउँथे । अनि लाग्थ्यो म कति कायर रहेछु । अलिकति हिम्मत जुटाउन सकेको भए आज म बाबाकहाँ पुगिसक्थे । कायरहरु यसरी नै बाँच्छन् सायद, सधैं भोलिको आशामा । तर राम्रो, अहँ कहिल्यै भएन ।
अभिभाकत्वको अभावमा म आफैं भित्रबाट आवाज आउँथ्यो । हजुरबा, बाबा र अंकललाई गुमाए पनि हजुरआमा र आमा हुनुहुन्छ । उहाँहरुका लागि भएपनि म बाँच्नपर्छ । मेरी हजुरआमाले हजुरबा गुमाउनुभयो, आफ्ना २ होनहार छोराहरु गुमाउनुभयो र पनि बाँचिरहनुभएको छ केवल मेरा लागि, परिवारका लागि । म पनि बाँच्नपर्छ । म त रक्तबिज हो । जस्तोसुकै पीडामा पनि कमसेकम बाँच्नपर्छ भलै यो जिउनु जिउनु समान छैन ।
म आफू पूजा गर्नकै लागि मन्दिर जाँदिन तर भगवानमाथि आस्था राख्नेहरुलाई एउटा प्रश्न सोध्न मन लागिरहन्छ । किन हामीमाथि यस्तो ज्यादती गरे भगवानले । त्यो पनि बारम्बार । मलाई सधैं लागिरह्यो यदि ईश्वरको अस्तित्व यो दुनियामा हुन्थ्यो भने ममाथि यस्तो ज्यादती कदापी हुँदैनथ्यो ।
…..
म निकै सानो भएर होला बाबासँगको धेरै सम्झना याद छैन । तर घरमा धेरै पुस्तकहरु राख्नुभएको याद छ । नेपाली र थारु भाषाका विभिन्न किताबहरु घरमा थिए । बाबाको सम्पादकत्वमा निस्किने मुक्तिक डगर, बाबाले निकाल्नुभएको चोराइल मन गजल संग्रह पनि पढे मैले । घरमा पुलिसहरु सधैं आएर सताउन थालेपछि सबै किताबहरु माटोमुनि गाड्न विवश भयौं । म ४–५ मा पढ्दा कहिलेकाही गाउँ जान्थे र ९–१० मा पढ्ने गोटियार घरका फुपू र अंकलका सबै किताबहरु पढेर भ्याउँथे । पढाईप्रतिको मेरो रुचि कुनै पुलिस सेनाको धम्की वा किताबकापी किन्न नहुने पैसाको अभावले पूर्णविराम लगाउन सकेन ।
घरमा छोरा सरह माया पाएको थिएँ मैले । तर द्वन्द्वकालमा पढाईका निम्ति अर्काको घरमा आश्रय लिँदा मलाई भाँडा मझाए, पोछा लाउन लगाए त कहिले तिनका र तिनका बच्चाका कपडा धुलाए । फेरि पनि सेना, पुलिसका नजरबाट बच्दै छोरीले पढ्न सकेकोमा आमा र हजुरआमा खुसी हुनुहुन्छ । मलाई थाहा छ यस्ता खुसीले उहाँहरुको मनभित्रको पीडा कहिल्यै मेटाउन सक्नेछैन । मलाई त लाग्छ हजुरआमा र आमा बस सास फेरिरहनुभएको छ ।
उहाँहरुले त्यही दिन जिउन छोड्नुभयो, जतिबेला हामीले सबैलाई गुमायौं । हजुरआमा र आमालाई जस्तै मभित्र पनि केवल रक्तसञ्चार मात्र बाँकी रह्यो, बाँकी त सबै गुमाइसकेका छौं । तर आज पनि हामीले मुस्कुराउन भने छाडेका छैनौं । हजुरआमा मुस्कुराउनुहुन्छ, आमा मुस्कुराउनुहुन्छ ताकि म मुस्कुराउन सकु अनि म मुस्कुराउँछु ताकि हजुरआमा मुस्कुराउन सकुन् अनि आमा मुस्कुराउन सकुन् ।
……
माओवादी शान्तिप्रक्रियामा आइसकेपछि बाबा र अंकलबारे सोधीखोजी गर्न मन लाग्यो । ममीले बाबाले छोड्नुभएको एउटा डायरी मलाई दिनुभयो । जब जब बाबाको याद आउँछ, डायरीमा म घन्टौं बिताउँछु । डायरी पढ्दा मेरा आँखा अनायासै रसाएर आउँछ । उहाँले देख्नुभएको सपना मैले पूरा गर्न सकौँला या नसकौँला, तर उहाँले देखाएको बाटोमा हिँड्नपाए मात्र पनि जीवन सार्थक बन्थ्यो झैँ लाग्छ । त्यही भएर बाबाबारे मलाई धेरै जान्नु, बुझ्नु छ । त्यसको लागि मैले बाँचेका उहाँका सहकर्मीहरु खोज्दै भौँतारेको छु । सबैले उहाँ थारुको नम्बर एक नेता हुनुहुन्थ्यो, पढाईमा तेज, साहित्य लेखनमा उत्कृष्ट, इमान्दार, अनुशासित व्यक्ति भन्नुहुन्छ, यी शब्दहरु सुनेर बाबाप्रति गर्व महसुस हुन्छ । उहाँले वीरगति प्राप्त गरेको लालबोझीको करमदेउ गाउँ पुग्न नसकेपनि जगत अंकल वीरगति प्राप्त गरेको ठाउँ पुगे । उहाँलाई कसरी छतविछत हुनेगरी मारिएको रहेछ, सुनेर धेरै बेर रोएँ ।
बाबा र अंकलको सम्झानामा मैले पत्रकारिता पुरस्कार स्थापना गरेको छु । बाबाको नाममा शहिद स्मृति प्रतिष्ठान पनि दर्ता भएको छ । अब एउटै इच्छा बाबाको मुक्तिक डगर प्रकाशनलाई निरन्रता दिनु हो । बाबा बाँचुन्जेल ९ वर्षमा ७ अंक निकाल्नुभयो, म चाहन्छु, वर्षमा १२ वटा अंक निकाल्न सकुँ । जसको सुरुवात मैले आफ्नै सम्पादकत्वमा गरेको छु । जसको विमोचन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालबाट विमोचनसमेत भयो ।
जीन्दगीले धेरै रुवायो, धेरै सिकायो, अब मुक्तिको बाटोमा हिँड्न चाहन्छु । बाबाले देखाउनुभएको स्वतन्त्रताको बाटो अंगाल्दै । हजुरबा बित्दा बाबा आउनुभएन तर हजुरआमालाई चिठी पठाउनुभयो।चिठीले ममा उर्जा थपिरहन्छ ।
डाई टुँ रोऊ मने आँश ना गिराऊ
साहस व विवेकसे नेगटी जाऊ
डाई टुँ सुनो मने सुनैती जाऊ
आँश चुहाके दुश्मनहे खुशी ना कराऊ
दुखके समुद्र नघलो समुद्र बाँकी बा
अभिनटे कपारिम पहार उठैना पाली बा
तोहार ठे लोह चबाइ सेक्ना दाँत बा
मृत्युहे फेन आज पचाई सेक्ना आँट बा
डाई टुँ रोऊ मने आँश ना गिराऊ
दुखके सागरमे चलैना बा लाऊ
           ( प्रस्तुती : मदन चौधरी/थारुवान ड्टकम )
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu