आएर हेर टिकापुरमा ! [ इन्दु थारुको कविता तलको लिङ्क क्लिक गरेर हेरेर,सुनेर सेयर गर्नुस ।

Monday, 1 July 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
लेखिका/बाचिका :- इन्दु थारु ,,
एउटा जीन्दगी शिर उठाएर बाँच्न पाउँ भन्दै
एउटा मन्दारी सखिया झुमरा नाच्न पाउँ भन्दै
जसलाई,
जबरजस्त शालीभाटुको भाका खोक्न लगाइयो
मलिक्‍वाको अट्टहासमा मादल ठोक्न लगाइयो
अब त अति भो को अनुभुतिमा,
समानताको गीत गाउँछु भन्दा
आफ्ना वीर पुर्खाका गाथा सजाउछु भन्दा,
मुक्तिको ट्रासन ठोक्नेहरु जेल कोचिन्छन् कसरी
हातमा हतकडी खुट्टामा नेल ठोकिन्छन् कसरी
आएर हेर टीकापुरमा ।
भिडियोमा सुन्नुस्

विभेदको कुहिरोमा कठ्यांग्रिएका, जनताका चित्कार सुन्दै
परम्परामा रुमल्लिएका बरघर, कार्यक्षेत्र बिस्तार खोज्दै
जसलाई,
गाँउको खेल कुलाही गर्न सिमित राखियो
जमिन्दारको बेगारी डाक्न मात्र जीवित राखियो
अब त अति भो को अनुभुतिमा,
चलो रेउ आन्दोलनमे जाई भन्दा
देशके सत्ता मिलके चलाई भन्दा,
जाती विशेषका निम्ति मात्र कर्फ्यु लगाइन्छन् कसरी
तेईबीचमा घरपसल एफएम रिसोर्ट जलाइन्छन् कसरी
आएर हेर टीकापुरमा ।
भेग्वा धोती लेहंगा चोली आयो सडकमा
मौनता तोड्दै बुलन्द बोली आयो कडकमा
जसलाई,
बुक्रही कम्लहरी गरिब ऋणी कमैया बनाइयो
तिनैलाई कुट्ने पिट्ने लुट्ने मालिकको रवैया बनाइयो
अब त अति भो को अनुभुतिमा,
कफन बाँधेर स्वतन्त्रताको झण्डा फहराउँदा
बन्दुकको आडमा सत्ताधारीले वितण्डा मच्चाउदा,
बर्दिधारीहरु विशाल भिडसँग जिस्कन्छ कसरी
क्रान्तिकारीको लठ्ठीबाट बन्दुकको गोली निस्कन्छ कसरी
आएर हेर टीकापुरमा ।
( इन्दु थारु )
शब्दार्थ :- 
मन्दारीः मादल बजाउने व्यक्ति
सखियाः थारु नाच
झुम्राः थारु नाच
भाटु: भिनाजु
मलिक्‍वा: मालिक
ट्रासनः मादल बजाउदाको सुरुवातको ताल
बरघरः गाउँको मुखिया
खेलः थारु गाउँको बैठक
कुलाहीः गाउँभरिका किसानहरु मिलेर बाटो,कुलो खन्ने काम, बाँध बाध्ने काम
बेगारीः बिना पारिश्रमिक काममा लगाउनु
चलो रेउ आन्दोलनमे जाइः जाउँ हिड आन्दोलनमा भनि डाक्नु
देशकेः देशको
मिलके चलाईः मिलेर चलाउ
भेग्वाः थारु पुरुषहरुले कम्मरमुनिको भाग छोप्न लगाउने पहिरन
लेहेँगाः थारु महिलाहरुले लगाउने पहिरन
बुक्रहीः जमिन्दारको घरमा काम गर्न बसेकी कमैयाको श्रीमती
कम्लहरीः दासजस्तै जमिन्दारको घरमा काम गर्न बाध्य पारिएकी थारु बालिका
कमैयाः दासजस्तै जमिन्दारको घरमा काम गर्न बाध्य पारिएको थारु पुरुष
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu