काठमाडौं:= नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका ११ जना नेताहरूलाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन् ।
सभापति देउवाले शुक्रबार विज्ञप्ति जारी गरेर विजयकुमार गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरमका नेताहरूलाई केन्द्रीय सदस्यमा मनोनीत गरेका हुन् ।
केन्द्रीय सदस्य मनोनीत हुनेमा रामजनम चौधरी (कैलाली), मोहम्मद नसिर सिद्धिकी (सिराहा), भारतेन्दुकुमार मल्लिक (झापा), हेमराज तातेड (सप्तरी), डा. श्री गोपाल दहित (बर्दिया), मंगलप्रसाद थारु (बर्दिया), योगेन्द्र चौधरी (दाङ्ग), हरिप्रसाद न्यौपाने (मोरङ्ग), सुमित्रा थरुनी (सुनसरी), कल्पना चौधरी (सुनसरी) र पवनकुमार सारडा (मोरङ्ग) रहेका छन् ।
‘नेपाली कांग्रेस पार्टीमा तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका सांगठनिक संरचना समायोजन गर्नका लागि गरिएको सहमति अनुसार, नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ४ (१०) (ग) बमोजिम नेपाली कांग्रेस पार्टीमा प्रचलित नेपाल कानून बमोजिम एकीकृत भएको तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका एघार जना सदस्यलाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य पदमा समायोजन गर्ने गरी निर्णय गरेको र उक्त निर्णय अनुसार पार्टी सभापति श्री शेरबहादुर देउवाद्वारा तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका देहाय बमोजिमका सदस्यहरुलाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनयन गर्नु भएको छ’, विज्ञप्तिमा भनिएको छ ।
तत्कालीन नेपाल लोकतान्त्रिक फोरम लगायत अन्य राजनीतिक दलको सांगठनिक संरचना समायोजनका लागि पार्टीद्वारा गठित समायोजन समितिको बैठकको निर्णयबाट यस सम्बन्धमा सिफारिस गरिएको थियो ।