काठमाडौं := नेपालमा आदिवासी जनजातिहरुको सूचीमा रानाथारु पनि थपिएका छन् । रानाथारू सूचीकरणको सम्पूर्ण कानूनी प्रक्रिया पूरा भएसँगै राजपत्रमा प्रकाशित पनि भएको छ । योसँगै नेपालमा सूचीकृत आदिवासी जनजाति ६० वटा भएका छन् । यसअघिसम्म ५९ वटा आदिवासी जनजाति सूचिकृत थिए । छुट्टै सूचीमा सूचीकृत भएसँगै आफ्नो समुदायको भाषा, संस्कृति, चाडपर्व, पहिरन, गहना लगागत संरक्षण हुनेमा रानाथारूहरू विश्वस्त देखिएका छन् ।
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन २०५८ को परिच्छेद ५ को दफा २५ बमोजिम नेपाल सरकारको सिफारिसमार्फत आदिवासी जनजातिको अनुसूचीमा थपघट गर्न सक्ने व्यवस्थाअनुरुप रानाथारु सूचीकरण भएको हो । रानाथारू जनजातिमा सूचीकरण भएसँगै अब हुने जनगणनामा उनीहरुको छुट्टै तथ्यांक रहने भएको छ ।
यसअघि डा. ओम गुरुङ संयोजकत्वको आदिवासी जनजाति सूची परिमार्जन उच्चस्तरीय कार्यदलले २०६४ सालमै रानाथारू समुदायलाई अलग सूचीकरण गर्न सरकारलाई सिफारिस गरेको थियो ।
सोही सिफारिसको आधारमा गत माघ २० गते बसेको मन्त्रिपरिषद् बैठकले सो समुदायलाई अलग सूचीकृत गर्ने निर्णय गरेको प्रतिनिधि सभाका सदस्य नारदमुनि रानाथारूले बताए । वि.सं. २०५७ देखि आफूहरू अलग सूचीकरणका लागि सङ्घर्ष गर्दै आउँदा कम्युनिस्ट नेतृत्वको सरकार आएपछि मात्र त्यो साकार भएको सांसद रानाथारूले बताए ।
आफूले निर्वाचनताका जनताको बीचमा रानाथारू समुदायको अलग सूचीकरण गराउने प्रतिबद्धता गरेको स्मरण गर्दै उनले अब रानाथारू समुदायको अधिकारको ढोका खुलेको दाबी गरेको खबर गोरखापत्र दैनिकमा लक्की चौधरीको बाइलाइनमा प्रकाशित रहेको देख्न सकिन्छ।
कैलाली र कञ्चनपुरमा गरी कूल करीब साढे तीन लाख रानाथारूको बसोबास छ । हालसम्म सो समुदायलाई थारू जनजातिको समग्र पहिचानमा समावेश गरिएको थियो । वि.सं. २०६८ को राष्ट्रिय जनगणनामा रानाथारूसहित गणना गर्दा हाल थारू समुदाय कूल १७ लाख ३७ हजार ४७० (जनसंख्याको ६ दशमलव ६ प्रतिशत) मानिएको छ ।