घरैमा उत्पादित तरकारी
डोकोभरि बोकेर
पारीपट्टी बजारसम्म
बेच्न जानु
एउटा कृषकका लागि कुन नौलो कुरा हो र,
तर म त छोरी हुँ,
पढ्ने,खेल्ने र रमाउने उमेर हो यो,
भर्खर एघार कक्षामा पढ्दै गरेका
सँगैका अरु साथिहरुको
चालढाल नै बेग्लै छ,
लवाइ, खवाइ, बोलाई, हिडाइ इत्यादी
मलाई ती शहरियाजस्तो
बन्ने अाकाङ्षा
नपलाएर हो,
या त वातावरण नमिलेर हो,
म मा कहिल्यै
यस्तो सोच अाएन,
कलेज जाँदा अलग कुरा
नत्र
छुट्टीको बेला
घरमै बसी
बुवाअामालाई सघाउँछु
म त कृषकको छोरी परेँ
तरकारीवाली भनेपनि रमाउँछु ।
मलाई
पौरख गर्न
कत्ति पनि सरम लाग्दैन,
चाहे सँगिहरुले जिस्काउन्,
छि यो त काम गर्दि रैछे भनुन्
उनिहरुको स्तरबाट तलै झारुन्,
कत्तिपनि मतलब गर्दिन,
मलाई
ती फेसेनेवल कपडाका
पछाडि दौडनु छैन,
बुवाअामा, दाजुभाइका अगाडि
ज्यूदै च्यात्तिसकेका
टाइट जिन्स पेण्ट
लगाउनु भन्दा
यि यस्तै सादा कुर्तासुरुवालमा नै
अाफूलाई सजाउछु
म त कृषकको छोरी परेँ हजुर
तरकारीवाली भनेपनि रमाउँछु
मलाई कहाँ फूर्सद मिल्छ र
मूख चुच्चो पारेर
सेल्फी भन्दै
बनावटी
तस्वीरहरु
छिनछिनमा
फेसबुकका भित्ताहरुमा टासीरहनलाई
र पनि मलाई
कुनै अफसोच छैन,
कसैलाई अाफ्नो सुन्दरता
जानाजान देखाउनु छैन
म त अाफ्नो
सक्कली अनुहार सहित
चौकमा बसेर तरकारी बेच्छु
र पनि अाजसम्म
कसैले
फलानी नराम्री भनेर
खोट लगाएका छैनन्
न त म कृम पाउडर नै लगाउँछु
म त कृषककी छोरी परेँ हजुर
तरकारीवाली भनेपनि रमाउँछु
भन्नेले त भन्छन्
यति राम्री मान्छेले
के यस्तो काम गरेको ?
छक्क पर्छु
कृषि पेशा नराम्राले
मात्र गर्ने हो र,
मेरो सुन्दरता
र
पेशालाई दाँजेर
खिल्ली उडाउनेहरुलाई
उदाहरण बन्न चाहन्छु,
ती बाउअामालाई
सताएर
दिनकादिन
डिस्को पार्लर धाउने
किशोर किशोरीहरुका लागि
शिक्षा बन्न चाहन्छु,
काम गर्दैमा
कोही सानो हुदैन
कुनै पनि पेशाले
पाकृतिक सौन्दर्यता माथि
अाँच अाउन दिदैन,
मलाई कृतिम बन्नु छैन
तर अरुभन्दा
अलि बढीनै लजाउँछु
म त कृषककी छोरी परेँ हजुर
तरकारीवाली भनेपनि रमाउँछु ।
गद्यमा पहिलो प्रयास हो, अग्रजहरुबाट प्रतिक्रयाको अाशामा
खगेन्द्र समर्पण न्यौपाने
कोशीहरैचा-८, मोरङ
हाल मुगलानबाट