थारु नेता,अगुवाहरुको फेसबुके राजनीति[बिचार:-किशोर चौधरी]

Monday, 16 January 20170 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

किशोर चौधरी,,
आजको युगलाई विज्ञान प्रविधिको युग भनिन्छ । विज्ञान प्रविधिले मुलुकको मात्रै नभएर त्यस देशको जनताको जीवनस्तरमा समेत परिवर्तन ल्याई दिएको सवैलाई अवगत छ । हो हामी त्यो बेलाको ढुङ्गे युग र आजको विज्ञान प्रविधिको युगसंग तुलना गर्ने हो भने या त्यो बेलाको मानव र अहिलेको मानवबिच तुलनात्मक भिन्नता छुट्याउने हो भने एउटा होईन दुईवटा होईन, लाखौ भिन्नताहरु छरपष्ट हुन्छ । विज्ञान प्रविधिकै युगमा सही तर हामी विश्वको सामु ढुङ्गेयुगमा जस्तै मडारिराखेका छौ भन्दा गलत हुदैन् । यी सव भनिरहदा हाम्रो मुलुक विज्ञान प्रविधिमा केही गरेको छैन भन्दा जायज त नहोला तर त्यति ठुलो फड्को पनि मारेको छौ भन्नु सरासर गलत ठहरिने छ ।हो हामी ढुङ्गे युगबाट बाहिर त आएका छौ तर अझै हामी अधिकारको लागि लडिराखेका छौ । अधिकारको लागि लड्नु नजायज भन्न खोजेको होईन यहा तर अधिकारको लागि लड्न आउने नेतृत्वकर्ताहरु नै एकातिर अधिकारलाई बलि दिएर आफ्नो व्यक्तिगत स्वार्थसंग सम्झौता गर्दा बर्षौ देखि निमुखा जनताहरु अधिकारबाट बन्चित हुदै आएको यथार्थ घाम जस्तै छर्लङ्ग छ । म यो मानेमा यी प्रसंगलार्ई कोट्याए आजको युगमा थोरै मानिसहरु विज्ञान प्रविधिबाट अलग छन् या त कुनै न कुनै माध्यमबाट ती व्यक्तिहरु पनि विज्ञान प्रविधिसंग सात्क्षातकार गरेकै छन् । झन हाम्रो देशको नेता कार्यकर्ता विज्ञान प्रविधिबाट अलग रह्ने कुरै भएन सवै सामाजिक सञ्जाल मार्फत जोडिएकै छन् ।

अहिले थारु समुदायबाट नेतृत्व गर्ने नेता तथा नेतृहरु पनि यसको उपज हुन् ।वि.सं.२०७२ साल भदौ ७ गते धनगढीको टीकापुर घट्ना पछि थारु नेताहरु यसरी सेलाए की तीनिहरु फेसबुक, ट्वीटरबाहेक देखिनै छोड्यो । राजनीति पनि फेसबुक र ट्वीटरका भित्ताहरुमा देखिन थाल्यो । हुन त ती नेताहरु कुनै बेला आन्दोलनबाटै सबैथोक परिवर्तन गर्ने मनसाय बनाएकाहरु एकाएक सेलाएपछि अहिले फेसबुके राजनीतिमा जमेको देखिन थालेका छन् । राजनीति गर्ने अखडामा होईन तीनीहरु अहिले फेसबुक र ट्वीटरमा जमेको देखिन्छ । त्यतिमात्र हो र एकले अर्कालाई खोट देखाउदै त भन्दा म के कम भन्दै एकले अर्कालाई तल देखाउनमा ठिक्क छन् । थारु आन्दोलनको ठेक्केदार सम्झिनेहरु आज निरिह बनेर कुन दुलोमा लुकेर बसेको छ कुनै अत्तोपत्तो छैन् ।टीकापुर घट्ना पश्चात आन्दोलनकारीमाथि धरपकड हुन थालेपछि आन्दोलनलाई उत्कर्ष बिन्दुमा पुर्याउने ती कथित आन्दोलनमा प्रत्यक्ष र अप्रत्यक्षरुपमा संलग्न नेता तथा नेतृहरु आफुलाई चोख्याउदै दुलोभित्रको बास बनाएको छ यतिखेर । सायद आन्दोलन सफल भएको भए ती कथित आफुलाई महान सर्वेसर्वा ठान्ने नेताहरु सवै श्रेय आफैमाथि लाद्थे होला तर विडम्बना जसको आड र भरोसामा आन्दोलनमा उत्रे अगाडी बढे तिनै निर्दोषहरु आज जेल जीवन या त निर्वास जीवन बिताईरहेका छन् । यी पीडा मनावता हराएका हाम्रा ती कथित नेताहरु देखेका छैनन् । बरु ती निर्दोषहरुलाई बलिको बोको बनाएर आज कोही मन्त्री बनेका छन् त कोही सरकारी भत्ता खाएर ऐस आरामको जीवन विताइरहेका छन । यो भन्दा विड्म्बना अरु के हुन सक्छ ।विचारा ती निर्दोषहरुको त अझै जेलको हावा खाँदै दिनरात घर परिवारको वियोगमा तड्पििनुको शिवाय केही छैन् । टीकापुर घट्नापछि अहिले पनि कैयन निर्दोषहरु जेल जीवन बिताउन बाध्य छन् । तर खोइ त तिनीहरुलाई निकाल्ने कुनै प्रयास भएको ?  कोही मन्त्री बने, कोही सरकारी ढुकुटीमा रमाउँदै छन् ं। कोही एनजिआ,े आइएनजिओको पैसामा रमाउँदै छन् । तर ती बलीको बोका बनेकाहरु त यो पुष माघको कठ्याङ्ग्रीडो जाडोमा जेल जीवन विताईरहेका छन् कसलाई प्रवाह छ ती निर्दोष कैदीहरुको ? ती निर्दोहरुलाई बलिको बोको बनाएर आफ्नो स्वार्थ पुर्ती त गरिहाले तर ती बाड्ेको हक अधिकार दिलाउने सपना, सपनामै सिमित हुने जस्तो देखिएको छ नि होईन र ?थारु समुदायको माग पूरा नभएसम्म आन्दोलन जारी रहन्छ भन्ने ती तिम्रा खोक्रो भाषण आज कता हराए । आखिर मुखमा राम राम बगलीमा छुरा भनेजस्तै भयो नि होइन र ? टीकापुर घट्ना पछि आन्दोलन नै गरेनौ भन्दा सायद म गलत हुन सक्छु तर आन्दोलनको उपलबधि के त ? आज पनि आन्दोलन गरिराखेकै छौ तर तिमीहरुले गर्ने आन्दोलन त छेउ न टुप्पोको जस्तो देखिएको छ । नाङ्लो ठट्टएर हात्ती तर्साए जस्तो त देखियो नि होईन र ? अनि मैले त्यस्तो आन्दोलनलाई थारु समुदायको हक अधिकारलाई स्थापित गर्ला भन्न कसरी सक्छु ।आज फेसबुक, ट्वीटरबाट ती नेता भनौदाहरु राजनीति गरिराखेका छन् ।  फेसबुके राजनीतिबाट केही लछारपाटो लाग्नेबाला छैन् यहाँ ।

मैले माथि उल्लेख गरे विज्ञान प्रविधिको युग भनेर तर थारु नेताहरु यसमा भिज्नु नराम्रो भनेको होईन । विज्ञान प्रविधिसंगको युगमा सवै विज्ञानप्रविधिको सदुपयोग गर्न जरुरी छ । तर फेसवुकको बाल र ट्वीट गरेर थारु समुदायको हक अधिकार प्राप्त नहुने निश्चित छ । आज नेपाली समाजमा निकै पिछडिएको समुदाय मध्ये थारु समुदाय पनि एक हो । तर नेतृत्व गर्ने नेताहरु थारु समुदायको हक अधिकार स्थापित गर्न देखाएको हुंकार एकाएक स्खलित भएको देखिन्छ।
          
      लेखक=एभिन्युज च्यानलका पत्रकार किशोर चौधरी हुन।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu