कैलालीके पुर्वी क्षेत्र (मलह्वारा) ओर अष्टिम्की अटवारी हस बर्षौसे धुमधाम मनैती आईल थारूनके विषेश टिहुवार(खास पूजा) अन्नत्त/अनत्तर कुछ झलक संगे दिल बहादुर चौधरीसे लिखित अननत/ अनत्तर लेख।
अनत्तर (अनन्त) ब्रत
दिल बहादुर चौधरी,,
अनत्तर ब्रत (अनन्त ब्रत)नेपालको आदिवासी भुमीपुत्र थारु समुदायले मान्ने तराईको बारा,पर्सा,रौतहट,सर्लाही,सप्तरी,सिरहा,धनुषा,सुनसरी,मोरङ,झापा,नवलपरासी,चितवन लगायतको गरि कैलाली जिल्लाका पूर्बी क्षेत्रका थारुहरुले मान्ने एक पर्व हो ।
जहाँ गाउँका धेरै महिला, पुरुष, केटी, केटा सँगै बसी बडो हर्षोल्लासपूर्वक मान्ने गर्दछन् । पहिले पहिले लोग्ने मानिसहरु मात्रै बस्ने यो ब्रतलाई आईमाई, केटीहरुको सहभागिताले झन रमाइलो बनाइदिएको छ । त्यसैले जिल्लाको पूर्बी क्षेत्रमा यसलाई कृष्ण जन्म अष्टमी र अतवारी जस्तै ब्यापक रुपमा मान्ने गरेका छन् भने जिल्लाको पश्चिमी भेकका थारुहरुमा यो ब्रतबारे जानकारी छैन ।
(ब्रतको शुरुवात)
हिन्दू धर्मग्रन्थहरुका अनुसार द्वापर युगमा महाराज युधिष्ठिरले राजसूर्य यज्ञ गरेका थिए । त्यतिबेला यस्तो सुन्दर र मनोरम यज्ञ मण्डपको निर्माण गरिएको थियो कि त्यहाँ तलाउ र जमिन छुट्ट्याउन निकै गार्हो थियो । त्यही बिचमा एकदिन दुर्योधन कतैबाट घुम्दै त्यहाँ पुगे र तलाउलाई भुईं मानेर हिंड्दा लडे । त्यतिबेला हाँस्दै द्रौपदीले ‘अन्धाको छोरा अन्धा’ भनी खिल्ली उडाइन् । दुर्योधनको मुटुमा त्यो बचनबाण बिझ्यो । त्यसैको बदला लिन दुर्योधनले पाँच पाण्डवहरुलाई एक दिन हस्तिनापुरमा डाके र छल, कल र बलले जुवापासामा पराजित गरे । प्रतिज्ञा अनुसार पाण्डवहरु १२ बर्ष बनवास बसे । बनबास बस्ने क्रममा पाण्डवहरु निकै दुःख, कष्ट सहे । बनबासकै क्रममा श्रीकृष्ण पाण्डवहरुलाई भेट गर्न गए र भलाकुसारी गरे । युधिष्ठिरले सो अवधिमा धेरै दुःख–कष्ट सहनु परेको खबर सुनाए । उनले दुःख कसरी कम गर्न सकिन्छ भनी उपाय सोधे । श्रीकृष्णले पाँच भाई पाण्डवहरुलाई अनन्त भगवानको ब्रत बस्ने सल्लाह दिए र कथा सुनाए।
‘सत्य युगमा सुमन्त नामका एक मुनि थिए । उनको पत्नीको नाम दीक्षा थियो । उनीहरुको एक छोरी थिई, छोरीको नाम सुशीला थियो । सुशिला जवान नहुँदै दीक्षाको मृत्यु भयो र मुनिले कर्कशासँग दोश्रो बिबाह गरे । ठूली भएपछि ऋषिले छोरीको बिबाह कौडिन्य ऋषिसँग गरिदिए । बिदाईको बेलामा सुशीलाकी सौतेनी आमा कर्कशाले कौडिन्यलाई केहि ईट्टा र ढुङ्गाका टुक्राहरु पोको पारी दिए । ससुरालीले दिएको दाइजो भनी कौडिन्य ऋषि पत्नीसहित घर हिंडे । बाटोमा एक नदी थियो, त्यहाँ पुग्दा उनीहरु थाके र बिश्राम गर्न लागे । सुशीला, नदीको अर्को छेउमा सिंगारपटार गरेर केहि महिलाहरु कुनै देवताको पूजा गरिरहेको दृश्य देखिन् र जिज्ञासा राखिन् । उनीहरुले अनन्त भगवानको पूजा गरिरहेको जानकारी गराए र अनन्त ब्रतको महत्व बताए । सुशीलाले उनीहरुसँगै अनन्त भगवानको पूजा गरिन् र चौध वटा गाँठा भएको अनन्त धागो हातमा बाँधिन् । त्यो भाद्र महिनाको शुक्ल चतुर्दशी थियो । घर पुग्दा उनलाई दिइएको ईट्टा ढुङ्गा हीरा–मोती भयो । ऐशआरामको जिन्दगी बित्न थाल्यो । केहि दिनपछि ऋषि कौडिन्यले सुशीलाको बायाँ हातमा बाँधेको पहेंलो रंगको धागो देखे । उनलाई लाग्यो, सुशीलाले आफूलाई बशमा राख्न टुनामुना गरेको धागो बाँधेकी छ । उनले सोधिहाले, तिमीले मलाई बशमा राख्न यो टुनामुना गरेकी छ्यो कि क्या हो ? सुशीलाले थाहा पाएको कुरा बताइन् । तर धनदौलतमा मस्त कौडिन्य, बशीकरण गर्नलाई बाँधिएको डोरो भनी चुँडेर आगोमा जलाइदिए । यसले भगवान अनन्त अपमानित भए र कौडिन्य केहि दिनमै गरिब हुँदै गए, कष्ट झेल्न थाले । कौडिन्य ऋषि, सुशीलासँग किन यति धेरै दुःख कष्ट आउन थाल्यो भनी कुरा गरे । सुशीलाले अनन्त भगवानको अनन्त डोरी जलाएकोले यस्तो भएको कुरा बताइन् । ऋषिले त्यसपछि पश्चाताप गर्दै भगवान अनन्तसँग क्षमा माग्नलाई भगवानको खोजीमा जंगल पसे । तर भगवानलाई फेला पार्न सकेनन् । धेरै दिनपछि उनी कमजोर भए, एक दिन भुईमा लडे । दर्शन नपाएपछि उनी प्राण त्याग गर्ने निर्णय गरे । त्यही बेला भगवान अनन्त प्रकट भए र भने ‘ऋषि, तिमीले जुन अनन्त धागोलाई आगोमा पोल्यो, यो उसैको फल हो, तिमी चौदह बर्ष यसको प्रायश्चित गर । कौडिन्यले त्यसै गरे र अन्तमा उनको अवस्थामा सुधार आयो । उनी फेरी सुखी जीवन जिउन थाले । त्यसैले हे पाण्डवहरु हो, तिमीहरु अनन्त भगवानको अनन्त ब्रत बस भनी श्रीकृष्णले पाण्डवहरुलाई सल्लाह दिए । भगवान कृष्णको सल्लाह अनुसार पाँच पाण्डव पनि दौपदीसहित अनन्त भगवानको ब्रत बसे र कष्टबाट मुक्ति पाए । यसरी अनन्त ब्रतको शुरुवात भएको हो ।
हो ।
( ब्रत बस्ने बिधि )
यो ब्रत नेपालका कुन कुन ठाउँमा, कुन कुन समुदाय बस्छन्, यकिन थाहा छैन, तर पनि तराईका अधिकाँश जिल्लाहरुमा र कैलालीका पूर्वी क्षेत्रका थारुहरु यो ब्रत बस्ने गरेका छन् । ब्रतालुहरु यस दिनमा बिहान काम गरी दश, एघार बजेतिर नुहाई धुवाई गरी थालमा गोबर गणेश, चामल, हल्दी, कच्ची धागो या सेतो पातलो धागो, काँक्रा, फलफूल लिएर गाउँको कुनै एक घरमा जम्मा हुन्छन् । त्यहाँ कलशमा कुशको अनन्त भगवान स्थापित गरिएको हुन्छ र लोटामा कुशको औंठी र आँपको सानो पातसहितको हाँगा राखिएको हुन्छ । गोबरको कन्डा (सुकेको गुइँठा) को आगो एक ठाउँमा बालिएको हुन्छ र धूपी सल्ला, घिउको मिसावटसहितको धूप तयार गरी आगोमा धूप हाली, पानी चढाई पालैपालो पूजा गरिन्छ । ब्रतालुहरु जति चोटी दिसा–पिसाबका लागि बाहिर जान्छन्, त्यति नै पटक उनीहरु अग्यारा (तयार पारिएको धूप चढाउँछन्) गर्छन् । कच्ची धागोको चौध सूत (लर) धागोको रस्सी बनाउँछन् र बिशेष प्रकारले चौध वटा गाँठो पारी अनत्तर (अनन्त) धागो बनाउँछन् र हल्दीमा पानी हाली रंगाउँछन् । सबैले आफ्नो अनन्त धागो (रक्षा सूत) र गोबर गणेशमा टीका टाला गरेर पालैपालो सबैको अनन्त धागोमा टीकाटाला गर्छन् । त्यसपछि पुरुषले दायाँ हातमा र स्त्रीले बाँया हातको पाखुरामा अनत्तर (अनन्त) धागो बाँध्छन् । हवनका लागि आँपका सुकेको दाउराले कुवा बनाउँछन् र एकजनाले सबैका तर्फबाट हवन कुवामा हवन सामाग्री हाल्दै सबैको दुःखदर्द नाश होस्, सबैको मनोकामना पुरा होस्, चिताएको फल प्राप्त होस् भनी पुजा गर्दछन् । अनि पालैपालो कलशमा राखेको लोटाको पानी, हातमा कुशको औंठी लगाई चलाउँछन् । जसलाई समुद्र मन्ठन गरेको भन्छन् । नजिकै बस्नेले लोटाको पानी चलाउने ब्यक्तिलाई ‘के माग्दैछौ भनी सोध्छन् ।’ उनले ‘अन, धन, बल, बुद्धि, पुत, परिवार, गौलक्ष्मी, बडे अनत्तर (अनन्त) के फल’ भनी जवाफ दिन्छन् । अथवा मनमा लागेको कुरा सबैसामु सुनाएर माग्छन् । जसलाई यो क्षण बडो रमाइलो हुन्छ । यो प्रक्रिया सकिएपछि आफूले भगवानको प्रसादको रुपमा लगेको काँक्रो, फलफूल भगवान अनन्तलाई चढाउँछन्, प्रसादको रुपमा सबैलाई दिन्छन् र आफूले पनि ग्रहण गर्दछन् ।
उता हरेकको घरमा पकाउनेले नुहाई धुवाई, सफासुग्घर भएर अन्दी धान (बिशेष प्रकारको धान) को चामलको रोटी पकाएको हुन्छ । सूर्यास्त हुनु अगावै उक्त तयार गरिएको रोटी, ब्रतालुले पूजा गरी, अग्राशन निकाली आफू सेवन गर्छन् । सूर्यास्त भएपछि खान मनाही हुन्छ । कसै कसैले पानीसम्म सेवन गर्छन् । बिहान नुहाई, धुवाई गरी पूजाआजा गरी घरमा लिपपोत गरिएको ठाउँमा बस्छन् । तयार भएको खाना– पकवान एक आफ्नो भाग र अर्को अनन्त भगवानको भाग अग्राशनको रुपमा अगाडि निकाल्छन् । खानलाई तयार गरेको हरेक कुरा अलिअलि धूपसँगै आगोमा चढाउँछन्, अग्राशनलाई अनन्त भगवानलाई चढाउँदै अलि पर सार्छन् र तीन देखि ५ गास खाएपछि हात धोई, हातमा बाँधिएको अनन्त सूत निकाल्छन् र गाईको दूधमा धुन्छन् र खाना खान्छन् । भगवानलाई भोग लगाइसकेको अग्राशन, बिहा भएका चेली–बेटीको घरमा दिन जान्छन् ।
यो ब्रतमा चौध सुत (लर) धागोको रस्सी तयार हुन्छ र रस्सीमा बिशेष प्रकारले चौध वटा गाँठो तयार गरिन्छ । यसमा यो अनन्त सूत धागोको ठूलो महत्व हुन्छ, यसलाई रक्षा सूत पनि भनिन्छ । भनिन्छ, ब्रतालुले यो ब्रत १४ बर्षसम्म बस्न अनिवार्य हुन्छ । ब्रत बस्दा भगवानले मनमा चिताएको फल, बरदान दिन्छन् भन्ने समुदायको मान्यता छ ।