चौधरी ग्रुपको वाईवाई चाउचाउ उद्योग अब सुनसरीमा पनि/१ हजार ९ सय जनालाई रोजगारी

Thursday, 1 February 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

सुनसरी:=उद्योगपति विनोद चौधरीले युवा अवस्थामै व्यवस्थापन सम्हालेको पहिलो उद्योग हुन्–पशुपति बिस्कुट र महालक्ष्मी मैदा मिल । वि. सं. २०२८ र २०३१ मा उनका पिता लुनकरणदास चौधरीले स्थापना गरेका यी उद्योगको नेतृत्व सानै उमेरमा चौधरीले नै गरेका थिए । चौधरीलाई उद्योगको कखरा सिकाउने यी दुवै उद्योगले ‘छलाङ’ मार्न नसके पनि झन्डै साढे ४ दशक अवधिमा चौधरीको ख्याती राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चुलिइसकेको छ । चौधरीको व्यावसायिक क्षितिज स्वदेशमा मात्र सीमित रहेन भने उनी पनि उत्पादनमूलक उद्योगमा मात्र सीमित रहेनन् । 
फोब्र्समा सूचीकृत एकमात्र नेपाली अर्बपति चौधरीले पुराना दिनभने चटक्कै भुल्न सकेका छैनन् । आफूलाई उद्योगको कखरा सिकाउने सुनसरीमा ४३ वर्षपछि चौधरी नयाँ योजना र बृहत् लगानीसहित फर्किएका छन् । नवलपरासीको दुम्कौलीमा नेपालकै नमुना औद्योगिक ग्राम सञ्चालन गरेर औद्योगिक क्रान्तिलाई नयाँ उचाइमा पु¥याएका चौधरीले यसको दोस्रो संस्करण सुनसरीमा निर्माण गर्दैछन् । क्षेत्रफलको हिसाबले नवलपरासीको चौधरी उद्योग ग्रामभन्दा केही सानो नै भए पनि २२ बिघामा फैलिएको यो इन्डस्ट्रियल पार्कबाट ९ महिनामै पहिलो चरणको उत्पादन थाल्ने महत्वाकांक्षी योजनामा छन् चौधरी । जहाँ उनले १ अर्ब खर्चेर १ हजार ९ सय जनालाई रोजगारी पनि दिँदैछन् । अधिकांश थारु बस्ती रहेको यस क्षेत्रमा रोजगारीको प्राथमिकतामा पनि उनीहरू नै पर्नेछन् भने उद्योगपति चौधरी मुलुक संघीय व्यवस्थामा गइसकेपछि यसलाई पहिलो प्रादेशिक उद्योग भन्न रुचाउँछन् । 

सिजी इन्डस्ट्रियल पार्कबाट पहिलो चरणमा वाईवाई तथा भुजिया उत्पादन हुनेछ । जसले पूर्वी नेपालको माग पूरा गर्नेछ भने दोस्रो चरणमा ब्रुअरीको फ्याक्ट्रीसमेत स्थापना गर्ने समूहको लक्ष्य छ । चौधरी समूहले हरेक प्रदेशमा उद्योग व्ययवसायमा लगानी गर्ने योजना गरेको छ । यसअघि बर्दियामा समेत यस्तै प्लान्ट स्थापना भइसकेको छ । 
प्रदेश नम्बर १ मा स्थापना गर्न लागिएको पार्कले यस क्षेत्रमा औद्योगिक तथा व्यावसायिक वातावरण बनाउन महत्वपूर्ण योगदान पु¥याउने चौधरीको विश्वास छ । अबका दिनमा प्रदेश सरकारहरूले अधिकतम सुविधा दिएर यसरी नै उद्योग भिœयाउन सके मात्र संघीयता दिगो हुने उनको बुझाइ छ । “यस क्षेत्रमा सञ्चालित उद्योग जेनतेनमात्र चलिरहेका देखिन्छन्,” उनी भन्छन्, “प्रदेशलाई आर्थिक रूपमा सक्षम बनाउन नयाँ लगानी बढाउनुपर्छ, साथै पुराना बल्लतल्ल चलिरहेका उद्योगको पुच्छर निमोठेर पूर्ण क्षमतामा चलाउन पहल गर्नुपर्छ ।” उनले सबै प्रदेश सरकारले विकास र रोजगारीको एजेन्डालाई महत्वपूर्ण एजेन्डाका रूपमा लिनुपर्ने बताए । राजनीतिक खिचातानीलाई त्यागेर उद्योगका लागि अनुकूल वातावरण बनाउन सबैले सहयोग गर्नुपर्ने उनको भनाइ थियो । उनले प्रदेश सरकारको नेतृत्व लगानीमैत्री वातावरण बनाएर लगानीकर्ता आकर्षित गर्न लाग्नुपर्ने सुझाव दिए ।
“मेरो बुवाले मलाई सानै उमेरमा यो उद्योग हेर्न पठाउनुभएको थियो,” महालक्ष्मी मैदा मिलको पुरानो भवनतर्फ देखाउँदै चौधरी भन्छन्, “म यही माथिल्लो तलामा बस्थेँ भने तल्लो तलामा उद्योगकै काम हुन्थे ।” आफू त्यसबेला निकै ओहोरदोहोर गरिरहने यस क्षेत्रमा त्यसबेला न अहिलेका जस्ता औद्योगिक करिडोर नै बनिसकेको थियो न मानव बस्ती नै । शून्यतामा बिलाइरहेको दुहवीलाई जीवन दिन पहिलो प्राण भरेका चौधरी पुराना दिनमा फर्किए– म पहिलेदेखि नै बसोबासमा अलि शौखिन थिएँ त्यसैले फर्निचरहरू काठमाडौंबाटै ल्याएको थिएँ । उनकै पहलमा बनेका उद्योगका ठूला भवन र अन्य संरचना अझै पनि यथावत छन् । उद्योगभित्रको सानदार अतिथि भवनमा अहिले भने उनी आउने क्रम पातलिइसकेको छ । पछिल्लोपटक झन्डै एक वर्षपछि मात्र पुगेको सम्झिँदै उनले भने– अब इन्डस्ट्रियल पार्क निर्माणका कारण आवतजावत अलि बाक्लै हुनसक्छ । 

आइतबार सीजी इन्डस्ट्रियल पार्कको शिलान्यास समारोहमा सहभागी भएर चौधरीको होस्टेमा हैैसे गर्न राजनीतिक नेतृत्व पनि चुकेनन् । उपप्रधानमन्त्री तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदार, अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, एमाले सचिव भीम आचार्य तथा पर्यटन राज्यमन्त्री सुमित्रा विश्वासले चौधरी ग्रामसँगै प्रदेश नं. १ मा आर्थिक विकासको सम्भावना उजागर हुने बताए । सुनसरीबाट राष्ट्रियस्तरमा प्रतिनिधित्व गर्ने यी नेताहरूले स्थानीयस्तरमा सिजी इन्डस्ट्रियल पार्कलाई कुनै पनि समस्या आउन नदिने प्रतिबद्धता पनि जनाए ।
             source :-karobar daily

           

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu