हमार सनेश सहकर्मी,,
कैलाली:=धनगढी उपमहानगरपालिका–११ बेला गाउँमा रानाथारु होम स्टे महोत्सव हुने भएको छ ।
आदिवासी रानाथारु समुदायको हक अधिकारका लागि दबाब सिर्जना गर्न तथा कला, संस्कृतिको संरक्षण तथा प्रबर्द्धन गर्न फागुन ३ देखि ५ गतेसम्म महोत्सव आयोजना गर्न लागेको हो।
रानाथारु समुदायको इतिहासमा पहिलोपटक आयोजना हुन लागेको महोत्सवमा समुदायको विविध पक्षवारे जानकारी लिन सक्नुका साथै बसोवासको व्यवस्था पनि गरिएको राना कला एवं संस्कृति संरक्षण समाजका अध्यक्ष महावीर रानाले जनाए ।
‘महोत्सवमार्फत रानाथारु लोक कला, रिति संस्कृतिको संरक्षण गर्दै पुस्तान्तरण गर्ने उदेश्यलेसहित आयोजना गरिरहेका छौ’, अध्यक्ष रानाले भने– ‘रानाथारु जातिलाई आदिवासी जनजातिको सुचीमा अलगै सुचीकृत गराउनको लागि दवाव सिर्जना पनि गर्नेछौँ ।’
राज्यले हालसम्म यो जातिलाई थारु कलष्टरमा राखेको छ । तर यो जातिले छुट्टै भाषा, संस्कृति रहेको भन्दै अलग्गै सूचीकरणको माग गर्दै आएको छ ।
महोत्सवमा रानाथारु समुदायको ठनिया नाच, ढोलकी गीत, हन्ना, झिझि, सोङ रागनी, किरतन, होरी, आधुनिक डान्स, जादुलगायत प्रस्तुती रहने जनाइएको छ । त्यस्तै मनोरञ्जनका लागि पिङ तथा ‘सावनके डोला’ पनि राखिने भएको छ ।
रानाथारुको घरायसी प्रयोगका वस्तु, भेषभुषा, कृषि सामाग्री र परिकारको रुपमा मिसौला, कटरा, पपरा, फरा, पटौला, चेंचर, सिमही, घुँघरी, कुथुवा, भरुवाललगायतको व्यवस्था गरिएको अध्यक्ष रानाले जानकारी दिए ।थारु समुदायसँग मिल्दोजुल्दो संस्कार रहेको यो जातिको बसोबास कैलाली, कञ्चनपुर जिल्लामा रहँदै आएको छ ।
