हमार सनेश सहकर्मी/नविन चौधरी/कोल्हवी:=बाराको कोल्हवीमा चैत्र १५ गतेदेखि प्रथम कोल्हवी गोल्डकप हुने भएको छ । आयोजक जनशक्ति क्लब कोल्हवीले आज पत्रकार सम्मेलनको आयोजना गरी प्रथम गोल्डकपबारे जानकारी दिएको हो । पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष त्रियोगि प्रसाद राउत थारुले गोल्डकपको तयारी तिब्र रुपमा भईरहेको जानकारी दिनुभयो ।
‘हामीले चैत्र १५ गतेदेखि प्रथम कोल्हवी गर्देछौ, यसको तयारी धमाधम भईरहेको छ’ थारुले भन्नुभयो । करिव २८ लाखको लागतमा हुन लागेको गोल्डकपको लागी कोल्हवी नगरपालिकालेसमेत आर्थीक सहयोग गर्ने भएको छ । गोल्डकप सफल बनाउन नगरपालिकाले २० लाख सहयोगको घोषणा गरेको क्लबका अध्यक्ष थारुले जानकारी दिनुभयो ।गोल्डकपमा १० वटा टिमको सहभागीता रहने थारुले बताउनुभयो । गोल्डकपमा आयोजक जनशक्ति कल्ब कोल्हवीसहित नेपाल पुलिस भरतपुर, एफ्सी हेटौडा, निजगढ युवा कल्ब, बिरगंज युथ क्लब, नव जनजागृति युवा क्लब सिमरा, एफ्सी बैंखरी महोत्तरी, बिएफ्सी भरतपुर, लहान ११ र बारा ११ को सहभागीता रहनेछ ।
गोल्डकपको बिजेताले एक लाख पचास हजार तथा उप–बिजेताले ७५ हजार रुपैया नगद पाउने अध्यक्ष थारुले जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा कोल्हवी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेशम बहादुर सिंह, तमागढी साझेदारीका अध्यक्ष रबिन्द्र पनुहर, कोल्हवी उद्योग वाणिज्य संघका अध्यक्ष महेश कुमार साह, कोल्हवी नगरपालिकाका वडा नम्बर १ का अध्यक्ष विरेन्द्र प्रसाद चौधरी, वडा नम्बर ११ का अध्यक्ष नन्दकिशोर चौधरी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।कार्यक्रमको संचालन राजिव चौधरीले गर्नुभएको थियो भने आयोजकका उपाध्यक्ष नन्देश्वर चौधरीले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो ।



